‘सरकारले पूर्वाधार र कर्मचारी दिएमात्र लागु हुन्छ’

|

काठमाडौं : यातायात व्यवस्था विभागले २०७८ साउन ११ गते ‘सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ जारी गर्‍याे।

विभागका अनुसार गत भदौबाट देशभर यो कार्यविधि लागु गर्न सबै प्रदेशका कार्यालयलाई निर्देशन दिए पनि पाँच महिना पुग्दा पनि देशभर अझै कार्यान्वयनमा आउन सकेको छैन। 

यातायात व्यवस्था कार्यालय चाबहिल (लाइसेन्स)का सूचना अधिकारी रोहित पोखरेलले अझै बागमती प्रदेशमा नयाँ कार्यविधि लागु नगरेको बताए।

उनका अनुसार यातायात व्यवस्था कार्यालय कोशी (लाइसेन्स), इटहरी र उदयपुरमा लागु भएको जानकारी प्राप्त भएको र अरू कहीँ पनि कार्यान्वयन भएको छैन।

 प्रदेशले कार्यान्वयन किन गरेनन् ?

कार्यालय चाबहिल (लाइसेन्स)का सूचना अधिकारी पोखरेलले प्रदेशबाट नभई विभागले सिधै कार्यान्वयन गर्न आदेश दिएको भन्दै प्रदेशले नमानेको बताए।

उनले भने, ‘यातायात व्यवस्था सेवा कार्यालय बागमती प्रदेश,हेटौंडाले पो हामीलाई कार्यान्वयन गर्न भन्नुपर्ने हो तर विभाग आफैंले कार्यान्वयन गर्न भन्यो। यसो गर्दा प्रदेशको नीतिगत अधिकार खोसिएको भन्दै पदाधिकारीले मानेनन्।’

बागमती प्रदेशले कार्यान्वयन गर्न भनेपछि मात्र लागु हुने उनको भनाइ छ। 

‘सरकारले पूर्वाधार र कर्मचारी दिएमात्र लागु हुन्छ’

यातायात व्यवस्था सेवा कार्यालय बागमती प्रदेशका सूचना अधिकारी राजु अर्याल सरकारले आवश्यक पूर्वाधार र दक्ष जनशक्ति दिएमात्र कार्यविधि लागु गर्न सकिने बताए।

‘विभागले त कार्यान्वयन गर्नु भन्यो। यसका लागि हामीकहाँ स्रोत साधन छैन,अहिले दैनिक २०० जनालाई सेवा दिएका छौँ भने यो कार्यविधिअनुसार त ५० जनाले मात्र लिन पाउँछन्,जसले सेवाग्राही नै मारमा पर्छन्’‚उनले भने।

​यो कार्यविधिले सेवाग्राहीलाई सकस पार्ने भन्दै तत्काल नयाँ कार्यविधि कार्यन्वयन गर्न नसकिने र पुरानै व्यवस्थाअनुसार सेवा दिइने उनले प्रष्ट्याए।  

के भन्छ विभाग ?

विभागका प्रवक्ता डा. लोकनाथ भुसाल विभागको काम निर्देशन दिने रहेको र त्यसैअनुसार आफूहरूका तर्फबाट नयाँ कार्यविधि कार्यान्वयन गर्न भनेको बताए। 

उनले भने, ‘विभागले कार्यविधि सबै प्रदेशमा लागु गर्न भनिसकेका छौँ,कुनै प्रदेश कार्यालयले लागु गरिसकेका छन्। केही प्रदेश कार्यालयले भने प्राविधिक कर्मचारी नहुँदा नगरेको भन्ने आएको छ। यसको व्यवस्था सरकारले गर्ने हो।’

विस्तारै अन्य प्रदेश कार्यालयमा पनि कार्यविधि कार्यान्वयनमा आउने उनको भनाइ छ। 

यो कार्यविधिमा पहिला जस्तो सामान्य गल्तीमा फेल नहुने व्यवस्था छ। सवारी अनुमतिपत्रको लिखित परीक्षाका लागि विभागले पाँच सयवटा वस्तुगत बहुउत्तर प्रश्नको संग्रह प्रकाशन गरेको छ। त्यही भित्रबाट मात्रै प्रश्न सोधिने व्यवस्था कार्यविधिमा गरिएको छ।

जसमा प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटेर पूर्णाङ्क १०० रहने गरी चार/चार अंकका जम्मा २५ वटा वस्तुगत बहुउत्तर प्रश्नहरू सोधिने छन्।

लिखित र प्रयोगात्मक परीक्षामा लिखित परीक्षाको समय ३० मिनेट हुने छ भने लिखित परीक्षामा न्यूनतम ६० अंक प्राप्त गरेमा उत्तीर्ण हुने व्यवस्था छ।

प्रयोगात्मक परीक्षणका चरणमा घुमाउरो आठ परीक्षण, साँघुरो फलेक, घुम्ती परीक्षण, ट्राफिक संकेत परीक्षण, स्पीड ब्रेकर परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको परीक्षण हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.