|

कञ्चनपुर : कोरोना महामारीबाट किशोर किशोरीलाई जोगाउन कञ्चनपुरमा विद्यालयमै खोप लगाउन शुरु गरिएको छ। 

खोप कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर १२ वर्षदेखि १७ वर्ष (२०६१ साल मङ्सिरदेखि २०६६ साल मङ्सिरमा जन्मेका) उमेर समूहका किशोर किशोरीलाई कोरोनाविरुद्ध मोडर्ना खोप लगाउन थालिएको हो।

खोप लगाउन थालिएको २ दिनमै १६ हजार किशोर किशोरीलाई कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाइसकेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले बताए।

‘किशोर किशोरीलाई मोर्डनाको कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन ६० हजार ३ सय ३३ मात्रा उपलब्ध गराइएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीलाई विद्यालयमै खटाएर किशोर किशोरीलाई खोप लगाइरहेका छौं।’

खोपका लागि जिल्लाका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप उपलब्ध गराईएको उनले बताए।

गत वर्ष गरिएको सर्वेक्षणअनुसार १२ वर्षदेखि १७ वर्षसम्मका किशोर किशोरीको संख्या ६५ हजार ५ सय रहेको उनले बताए। 

‘गत वर्षको तुलनामा खोप लगाउने उमेर समूहका किशोर किशोरीको संख्यामा केही वृद्धि भएको अनुमान गरेका छौं। अपुग खोप मागका आधारमा तुरुन्तै उपलव्ध गराउने व्यवस्थासमेत गरिएको छ,’ उनले भने।

खोप कार्यक्रम प्रभावकारी बनाउन अनुगमनसमेत भइरहेको उनको भनाइ छ।

विद्यालयमा खोप लगाउनबाट छुटेका किशोर किशोरीलाई नजिकैको स्वास्थ्य चौकी वा स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्थासमेत मिलाइएको छ।

विद्यालयमा अध्ययनरतबाहेक किशोर किशोरीको हकमा स्वास्थ्य संस्थामा जन्म दर्ताको प्रमाणपत्रका आधारमा खोप लगाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.