|

धनकुटा : चुरे पहाडको फेदीमा रहेको तुँखाको याक्खा गाउँ सुक्खा पहिले चिराचिरा परेर बग्न थालेको छ। गाउँमा एक फुटदेखि एक मिटरसम्मका सयौं मिटर लामो जमिन फाटेका धर्सा देखिन थालेका छन्। पहिरोले पुराना, बनाउँदै गरेका घरका आँगन र सिकुवाहरु चिराचिरा परेका छन्।

पोलमा टाँगिएका बिजुलीका तारहरू झुल्न थालेका छन्। बाटो, बारीका डिलहरु भासिएर त्यहाँ लगाइएका सुन्तला, अलैंची बारीहरु तलतिर सर्न थालेका छन्। खेतीपातीका लागि जोत्दै गरेका खेतबारीहरु आधा काम गरेर स्थानीयले त्यसै छाडेका छन्। हिउँद याममा खोल्सामा सफा पानीको ठाउँमा लेदोसहितको धमिलो पानी बग्न थालेको छ। जसका कारण साँगुरीगढी गाउँपालिका-५ तुँखा गाउँका ७० भन्दा बढी घरपरिवार त्रासैत्रासमा बस्न बाध्य छन।

मोरङ र धनकुटाको सिमानामा अवस्थित भेडेटार‚ राजारानी चुरे खण्डको डाँडाबजारबाट दुई किलोमिटर दक्षिण-पूर्वमा रहेको धनकुटाको यो गाउँ गत असोज ६ गतेको वर्षापछि सामान्य चर्किएको थियो।

२०७४ सालदेखि हिउँद याममा अचानक ठाउँठाउँमा लेदोसहितको पानीको फुटेको देख्दै आएकाले असोजमा परेको मुसलधारे पानीले पनि केही जमिनहरु चर्किंदा गाउँलेहरुले यसलाई सामान्य रुपमा लिएका थिए।

तर, एक सातादेखि भने अचानक ठूलो आवाजसहित जताततै जमिन चिरा पर्न थालेपछि तुँखा गाउँमा त्रासको वातावरण सिर्जना भएको गंगाप्रसाद याक्खाले बताए।

‘राति अचानक आवाज आयो’, उनले भने, ‘एकछिन त के भएको हो थाहा भएन तर, पछि राम्ररी घुमेर हेरेको घरको आँगनमा चिरा परेको रहेछ।’ घर, आँगन र खेतबारीहरु चिरा पर्न थालेपछि गाउँलेहरु रातभरी राम्ररी सुत्न नसकिरहेको उनको भनाइ छ।

२०७४ सालदेखि हिउँदका समयमा पटक–पटक गाउँमा हरेक वर्ष धमिलो सेतो पानीको मुहान निस्किएर सामान्य जमिन फाटे पनि यो पटक भने बस्ने अवस्था नभएको स्थानीय विष्णुप्रसाद याक्खाले बताए। उनले भने‚ ‘घर आँगन चिरा परेपछि कतिपय गाउँलेहरु आफन्त र घर भाडा लिएर बस्न थालेका छन्।’

याक्खा जातिको बाहुल्यता रहेको यस गाउँमा अहिले खेतीपाती लाउने कि नलाउने भन्नेमा स्थानीयहरू अन्योल भएका छन्।

यस गाउँबाहेक अन्यत्र कतै जमिन नभएकाले पहिरोले बग्दै गरेको जमिन र घरमा बाध्यताले बस्नु परेको लाले टोलकी ५९ वर्षीया धनकुमारी याक्खाले गुनासो गरिन।

‘दिउँसै कतिबेला बगाउने हो थाहा छैन’, उनले भनिन्, ‘कति बस्नु राति जागो? निन्द्रा लागेपछि मर्न डरै हुन्न रैछ।’

आफूहरुसँग स्रोतसाधनको कमी भएकाले जोखिम हुँदा पनि स्थान्तरणका लागि केही गर्न नसकेको वडा अध्यक्ष पलकबहादुर बस्नेत बताउँछन्। यहाँका मानिसको बसाइँ जाने ठाउँ नभएको र यहीं बसेर गरिखान र बालीनाली लाउने अवस्थासमेत नभएको उनले बताए।

‘समस्या समाधान गर्नका लागि यो सूचना कन्द्रीय सरकारसम्म पुर्‍याइदिनु पर्‍यो’, उनले आग्रह गर्दै भने। पहिरोका कारण तुँखा गाउँका ७० घरभन्दा बढी घरको ५०० बिघाभन्दा बढी खेतीयोग्य जमिन पहिरोको चपेटामा अध्यक्ष बस्नेतले जानकारी दिए। राज्यले तत्काल भू–गर्भविद् पठाएर यस ठाउँको परीक्षण गरेर आफूहरुको उद्धार गरिनुपर्ने गाउँलेहरुको माग छ।

सरकारले बाढीपहिरोजस्ता मनसुनजन्य विपत्तिका कारण भत्किएका निजी आवास निर्माणका लागि अनुदान नदिएपछि तुँखाका जस्ता पीडितहरूले राहत पाउन सकेका छैनन्। जसका कारण उनीहरुको दिनचर्या त्रासैत्रासमा बित्ने गरेको छ। निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम सिफारिस भएका धनकुटाका बाढीपहिरो प्रभावितहरूले राहत नपाएका हुन्। बाढीपहिरोमा भत्किएका निजी आवास समयमा नै नबन्दा सर्वसाधारणलाई सास्ती बढ्नुका साथै बर्सेनि निर्माणको दायित्व बढ्दै जाँदा समस्या जटिल बन्दै गएको छ।

निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ अनुसार बाढीपहिरोमा परेका निजी आवास मर्मत तथा निर्माण गर्न कुल लागतमध्ये स्थानीय तहको हकमा महानगरपालिका र उपमहानगरपालिले २० प्रतिशत, नगरपालिकाले १५ र गाउँपालिकाले १० प्रतिशत तथा प्रदेश सरकारले ३० प्रतिशत र बाँकी संघीय सरकारले व्यहोर्ने प्रावधान छ। तर, प्रदेश सरकारबाट आउनुपर्ने ३० प्रतिशत अनुदान नआउँदा निजी आवास निर्माणमा समस्या भएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले बताए। लाभग्राहीले अनुदान सम्झौता गरेको दुई वर्षमा पुनर्निर्माण सक्नुपर्ने व्यवस्था कार्यविधिमा छ।

धनकुटामा निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि संघीय सरकारबाट पहिलो किस्तामा १३ लाख ९८ हजार ७५० रुपैयाँ र दोस्रो किस्तामा १ करोड ४८ लाख ६८ हजार ७५० रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिमा प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.