स्थानीय भन्छन् : जनप्रतिनिधिका व्यवहारले निराश बनायो

|

रुकुम (पूर्व) : संघीय लोकतन्त्रसहितको तीन तह सरकारको संरचना बनेपछि लुम्बिनी प्रदेशको एक मात्र हिमाली तथा नयाँ जिल्ला रुकुमपूर्वको जन्म भयो। विकास पूर्वाधारका अभाव र भौगोलिक विकटताकै बीचबाट अहिलेसम्म पनि यहाँका नागरिकको पीर–मर्का अथाह छ।

नियमित-भरपर्दो न सञ्चार, न यातायात, स्वास्थ्य, शिक्षा, विद्युत्, खानेपानी एवं प्रकारका अन्य विकास निर्माणको सही गतिमा छैन।

यी यस्ता विषयका लागि गृहजिल्लास्थित नागरिकका पीर–मर्का सुन्न र आगामी दिनमा आफूले लिन सक्ने पहलकदमीका लागि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीमगर रुकुमपूर्वको दुर्गम ठाउँका नागरिककै घर–आँगनमा पुगी उनीहरूको गुनासो, सल्लाह, सुझाव एवं प्रतिक्रिया लिने काम गरिराखेका छन्। 

एकसातादेखि सभामुख घर्ती मगरले गृह जिल्लाको पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकामा सडक, विद्युत्, सञ्चार, स्वास्थ्य लगायतका सेवा सुविधादेखि टाढा रहेको गाउँका नागरिकको गुनासो एवं प्रतिक्रिया लिइराखेका छन्।

जसमा जिल्लाबासीहरू एकातर्फ नागरिकका हिसाबले सभामुख स्वयं गाउँ-घरमा आएकोमा खुसी व्यक्त गरेका छन्, भने अर्कोतर्फ जुनसुकै पार्टीका नेताहरूले समस्याका भावनाअनुसार नभई विपरीत ढंगबाट काम गरिराखेको भन्दै दुःख पोखेका छन्।

जनताका निराशा र गुनासा

पार्टीको विधि र सिद्धान्त गतिहीन भइरहेको र जनप्रतिनिधिलाई पार्टी र जनताका कुरामा कुनै वास्ता नभएको सभामुख घर्ती मगरलाई सुनाएका छन्।

विगतमा गाउँ घरमा जनताका सवालमा दरिलो मुद्दा बोकेका नेताहरू कहाँ पुगे, जनता कहाँ अलपत्र परे भन्नेमा कुनै पनि नेतालाई  साँचो नभएको सिस्ने–२ नायगाडका खिमबहादुर घर्तीले बताए। अनि जनताका पीर–मर्का कसरी, कसले सम्बोधन गर्ने? भनेर उनले प्रश्नसमेत गरे। 

यसैगरी, अर्का स्थानीय सुरेन्द्र रोकाले पनि उस्तै खालको पीर–मर्का पोख्दै भने, ‘युवाहरूको समस्या उस्तै छ, अहिले मैले भोट किन दिएँछु भनी विदेश पलायन हुनबाहेक अरू केही उपाय छैन।’

निरन्तर रूपमा जनताका गुनासो लिने र त्यसअनुसारको सरकारले कार्यक्रम गरी रोजगारीको सिर्जना गर्नुपर्ने  रोकाको सुझाव छ। 

अरू नागरिकले पनि विभिन्न गुनासो पोखेका छन्। पार्टीका नेताहरू सबै पुँजीवादी यात्रामा छन् अनि कसरी  जनताको समाजवाद आउँछ, अहिलेका नेतृत्व वर्गमा सर्वोपरि आफूलाई मात्र ठानिराखेका छन्, हैकमवादी नेता एवं जनप्रतिनिधिका व्यवहारले गर्दा आमनागरिक निराश भइराखेको गुनासो सुनाए।

‘हात्ती बिग्रिएर बंगुर भएको हो कि, मुसा सप्रेर बंगुर भयो’ भने जस्तै अहिलेको जनता र नेतृत्वको अन्तरसम्बन्ध बुझिनसक्नु अवस्थामा आइएको सभामुख घर्ती मगरले बताए। पार्टी र जनप्रतिनिधि  बिग्रिएर या सप्रेर आजको अवस्था आएको हो भन्नेमा गम्भीर भएर पार्टीहरू लाग्नुपर्ने सभामुख घर्ती मगरको भनाइ रहेको छ।

‘अहिलेको कार्य दिशालाई सच्याएर जानुपर्ने छ’ घर्ती मगरले भने, ‘सरकार सञ्चालन गर्ने र पार्टी सञ्चालन गर्ने कार्यकर्ताको सम्मान सेवासुविधा हुनुपर्ने आवश्यक छ।’ विगतमा आफूलगायत

नेताहरूले पार्टी  निर्माण गर्दा धेरै चप्पल र झोला च्यातिएको स्मरण गर्दै सभामुख घर्ती मगरले भने, ‘त्यसको उपलब्धि अहिलेको सहज राजनीति गर्ने वातावरण सिर्जना आउनका साथै समावेसीकरण व्यवस्था आएको हो।’ घनीभूत  रूपमा पार्टी र सरकार बीचको अन्तर सम्बन्धमा छलफलबाट अगाडि बढ्नुपर्ने घर्ती मगरले बताए।

कार्यकर्ताको बार्गेनिङले पार्टी बिग्रिए

उपभोक्ता समितिमा रहेर योजनाको काम गर्ने पार्टीका कार्यकर्ताले कार्यालयका कर्मचारीसँग पैसाको बारगेनिङले पनि पार्टी बिग्रिरहेको सभामुख घर्ती मगरले दर्साए। उपभोक्ता समिति मार्फत योजनाका काम गर्ने कार्यकर्ताहरू सचेत भएर लाग्नु पर्ने उनले आग्रह गरे।

नागरिकका गुनासा एवं सल्लाह, सुझावलाई आगामी दिनका लागि पहल कदमी गरिदिने पनि घर्ती मगरले विश्वास व्यक्त गरेका छन्। सभामुख घर्तीमगर अझै केही दिन गृह जिल्लाकै विभिन्न गाउँमा पुग्ने कार्यक्रम रहेको सभामुखका स्वकीय सचिव ध्रुवविक्रम ओलीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.