|

धनकुटा : धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपको १६औँ संस्करणको तेस्रो दिनमा भएको खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लब सेमिफाइनल प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ। 

मंगलवार भएको खेलमा बुटवलको बुटवल लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै राष्ट्रिय जागृति क्लब सेमिफाइनल पुगेको हो। निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। 

निर्धारित समयमा खेलको पहिलो हाफको २५औँ मिनेटमा जागृतिका उमेश राईले गोल गर्दै टीमलाई अग्रता दिलाए पनि पहिलो हाफकै इन्जुरी समयमा बुटवलका विवेक थुलुङले गोल गर्दै खेल बराबरीमा पुर्‍याए। त्यसपछि खेलको दोस्रो हाफमा कुनै गोल नभएपछि खेल सीधै टाइब्रेकरमा धकेलिएको थियो। 

टाइब्रेकरमा राष्ट्रिय जागृतिका सुमित चौधरी, उमेश राई, असिम राई, प्रवेश दनुवार र मिलन राईको प्रहारले जाली चुमेपछि राष्ट्रिय जागृति क्लब विजयी बनेको थियो।

बुटवल लुम्बिनी फुटबल क्लबका तर्फबाट विवेक गुरुङ, एल्भिन राई, आयुष घलान र विदेशी खेलाडी करिम ओमोलोगा गोल गरे भने चन्दन दासको प्रहार गोलपोष्टको माथिबाट बाहिरिएको थियो।

अगाडिका खेलमा चारतारे युथ क्लब मोरङलाई हराउँदै विभागीय टीम एपीएफ क्लब काठमाडौँ र विभागीय टीम त्रिभुवन आर्मी क्लब काठमाडौँलाई हराउँदै बिर्तामोड युनाइटेड क्लब बिर्तामोड सेमिफाइनल पुगिसकेका छन्। 

प्रतियोगिताअन्तर्गत बुधवार आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान र सल्हेस युथ क्लब सिराहाबीच हुने आयोजकले जनाएको छ। 

बुधवारको खेलसँगै भीमनारायण गोल्डकपको १६औँ संस्करणका सेमिफाइनल पुग्ने चारवटै टोलीको पनि टुङ्गो लाग्नेछ। दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिता आगामी २९ गतेसम्म सञ्चालन हुनेछ। 

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। 

सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए।

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। 

तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.