धनकुटा : जिल्लाको धनकुटा नगरपालिका, सहिदभूमि गाउँपालिका, पाख्रीवास नगरपालिका र चौबीसे गाउँपालिकामा अहिले सुन्तलाले पहेँलपुर भएको छ।
बोटभरी लटरम्म सुन्तला छन्। किसानलाई सुन्तला टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ। व्यापारी गाडी लिएर बगानमै पुग्छन्। व्यापारीलाई किसानले पहिल्यै क्रेटमा सुन्तला हालेर तयारी अवस्थामा राखिदिन्छन्। यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो।
धनकुटा नगरपालिका–३ सिप्तिङका कृषक जलन राईका अनुसार गाउँमा एकजना किसानले वार्षिक एक लाखदेखि २५ लाख रुपैयाँसम्मको सुन्तला बेच्छन्।
यहाँ उत्पादन भएका सुन्तला सुनसरी, मोरङ, झापासहित काठमाडौँसम्म पुग्ने गरेको छ। धेरै व्यापारी र ग्राहकको रोजाइमा सहिदभूमिको सुन्तला पर्ने गरेको छ।
सहिदभूमिको खोकुमा उत्पादित सुन्तला एसियाकै गुलियो सुन्तला भन्ने गरेका कारण पनि यहाँको सुन्तला रोजाइमा पर्ने गरेको हो।
धनकुटा नगरपालिका–३ का कुषक राई पनि आफ्नो बारीमा उत्पादन भएको सुन्तला बेच्ने तरखरमा छन्। २२ वर्षीय राई केही वर्षयता आमाबुवाले गर्दै आएको सुन्तला खेती स्याहार्दै हरेक वर्ष उत्पादन भएको सुन्तला बेच्दै आएका छन्।
करिब २५ रोपनी क्षेत्रफलमा लगाएको सुन्तलाबाट उनको परिवारले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्दै आएको छ। आम्दानी र उत्पादन राम्रो भएकै कारण उनका साथीहरू विदेशिने क्रम बढिरहँदा उनी भने सुन्तला खेतीमै रमाएका छन्। अरू खेतीभन्दा सुन्तला खेती गर्न सहज हुने उनको भनाइ छ।
धनकुटा नगरपालिका–३ मा रहेका ५ सय ५ घरपरिवारमध्ये करिब ७५ प्रतिशत घरपरिवार सुन्तला खेतीमा संलग्न छन्। उनीहरूमध्ये धेरैको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो।
मंसिर १५ देखि माघ अन्तिमसम्म यो गाउँका किसान सुन्तला टिपेर बेच्न व्यस्त हुन्छन्। बोटबाट सुन्तला टिपेर खुला ठाउँमा ल्याउने, ठूला–साना (ग्रेडिङ) छुट्याएर क्रेटमा राख्ने गरिन्छ। क्रेटमा राखेको सुन्तला जोख्दै व्यापारीलाई दिइन्छ।
यस्तै सहिदभूमि गाउँपालिका–२ का किसान धनीराम राई पनि सुन्तला बेच्न व्यस्त छन्। व्यापारीलाई बगान देखाउने र दाम मोलमोलाइ गर्दै उनको दिन बित्ने गरेको छ। ‘यहाँको सुन्तला गुलियो र रसिलो छ भन्दै व्यापारी बगानमै लिन आउँछन्’, अर्का सुन्तला कृषक धनीरामले भने, ‘माग धान्नै मुस्किल छ।’
रोगको समस्या
सुन्तला बेच्न व्यस्त किसान बजार, बिचौलिया, रोगबाट वर्षेनि समस्यामा पर्ने गरेका छन्। कहिले उपयुक्त मूल्य नपाउने त कहिले बजार नपाउने त कहिले रोगले बगानै सखाप बनाइदिँदा कृषक समस्यामा पर्ने गरेका हुन्।
उपचारका लागि सम्बन्धित निकायले चासो नदिने गरेको धनकुटा नगरपालिका–३ का कृषक रेशकुमार राईले गुनासो गरे। सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो ९० रुपैयाँदेखि १२० रुपैयाँसम्म छ।
कृषि ज्ञानकेन्द्र धनकुटाको तथ्याङ्कअनुसार जिल्लामा करिब ६ सय हेक्टर क्षेत्रफलबाट वार्षिक ५ हजार मेट्रिक टनभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ तर धनकुटामा सुन्तलाको उत्पादन भने वर्षेनि घट्दै छ।
बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन्।
‘पाँच/छ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेँलो हुने, भित्रभित्रै कीरा पर्ने र बोट सुक्ने समस्या छ। यसको उपचार गर्नै सकिएन’, सहिदभूमि गाउँपालिका–५ का किसान अनन्तर राईले भने।
प्राविधिकले समेत समस्या पहिचान गर्न नसकेको उनले बताए।
गत वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका राईले आफ्नो बगैँचामा यो वर्ष १० हजार पनि आम्दानी नहुने बताए। जरामा रातो कमिला लागेपछि बोट मर्ने गरेको उनको भनाइ छ।
सुन्तलाको बगान नै मासिन लागेपछि राईले नयाँ बगान नलगाउने बताए। सुन्तलाकै नामले परिचित सहिदभूमिको खोकुमा सुन्तला बगान मासिन थालेको छ।
वर्षेनि एक करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी हुने खोकुमा यो वर्ष सुन्तलाको बोटै नरहने अवस्था आएको किसान बताउँछन्। बोट सुक्ने रोगले किसानलाई चिन्तित बनाएको छ।
कृषि ज्ञानकेन्द्र धनकुटाले यो वर्षको सुन्तलाको उत्पादनसम्बन्धी तथ्यांक संकलन भइनसकेको जनाएको छ। केन्द्रकी प्रमुख फूलमाया तामाङले फल झर्ने र बोट सुक्नेजस्ता रोगले सुन्तलाको उत्पादन वर्षेनि घट्दो रहेको बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।