ध्वजेडाँडा, लुम्फाजुङ‚ पाटीगाउँ र थामडाँडामा खानेपानीको चरम समस्या

|

धनकुटा : साँगुरीगढी गाउँपालिका-५ ध्वजेडाँडाका दुर्गाबहादुर तामाङ प्रत्येक बर्खामा परेको पानी आफूसँग भएका ड्रम, घैंटो र बोतलमा भरेर राख्छन्। यस्तै‚ डाँडाबजारको सिमानामा रहेका मोरङको केराबारी गाउँपालिका-१ थामडाँडाकी पवित्रा राईको पनि आँगनभरि पानी भरिएका प्लाष्टिकका बोतल छन्।

साँगुरीगढी-५ को ध्वजेडाँडा, लुम्फाजुङ र केराबारी-१ पाटीगाउँको थामडाँडाका गरी ३५ घर परिवारले यसरी नै बर्खाको पानी जम्मा गरी हिउँदमा संकट टार्दै आएका छन्। यी गाउँका धेरैजसो स्थानीयको यस्तै बाध्यता छ। हिउँदमा पानीको संकट टार्न बर्षातदेखि नै ड्रम, घैंटो र बोतलमा पानी भरेर राख्नु परेको हो।

ध्वजेडाँडा, लुम्फाजुङ र पाटीगाउँको थामडाँडाका बासिन्दाले १० वर्षदेखि खानेपानीको चरम समस्या भोग्दै आएका छन्। पानीको ठूलो मुहान नहुँदा यहाँका ३५ घरधुरीलाई खानेपानीको जोहो गर्न बर्खामा आकाशेपानीको भर पर्नु परेको छ।

साँगुरीगढी–५ डाँडाबजारकी मिनाकुमारी तामाङले हिउँद लाग्यो कि खानेपानीको हाहाकार सुरु हुने गरेको बताइन्। २०४६ सालबाट सञ्चालित कुहिरोबाट पानी संकलन गर्ने परियोजना बन्द भएपछि र नजिकैका पानीका स–साना मुहान सुकेकाले यस गाउँका स्थानीयले खानेपानीको सास्ती भोग्दै आएका छन्। लामो समयसम्म बर्खामा पानी नपर्दा वा हिउँदलाई पानी जम्मा गरेर नराख्दा एकतर्फी पाँच घण्टा हिँडेर पानी लिन जानुपर्ने बाध्यता स्थानीयलाई छ।

‘पानी अभावको कारणले अड्कलेर खानुपर्छ,’ मिनाकुमारीले भनिन्, ‘खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा छन्।’

डाँडामा बस्ती भएकाले दुई दशकदेखि खानेपानी समस्या झेल्दै आएको पाटीगाउँकी कमला राईले गुनासो गरिन्। वर्षायामबाहेक अन्य समयमा खानेपानीको जोहो गर्न सास्ती भोग्दै आएको उनको भनाइ छ।

‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौं। अन्य समय सधैं पानीको पिरलो हुन्छ‚’ कमलाले भनिन्‚ ‘मंसिर लाग्नेबित्तिकै पानीको हाहाकार हुने गरेको छ। पानी नहुँदा पशुपालन गर्न पनि समस्या छ।’ पानीको समस्याका कारण बालबालिकाको पढाइ पनि प्रभावित बनेको मिनाकुमारीले बताइन्।

निर्वाचनको समयमा पुग्ने नेताहरूले खानेपानीको समस्या तत्काल पूरा गर्छौं भन्ने गरे पनि जितेपछि फर्केर नआउने गरेको स्थानीयको गुनासो छ। जनप्रतिनिधि आएपछि समस्या समाधान होला भन्ने आशा गरे पनि हालसम्म मौखिक रुपमा २०७५ सालयता हरेक महिना जसो कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ। खानेपानी समस्याकै कारण ध्वजेडाँडा, लुम्फाजुङ‚ पाटीगाउँ, थामडाँडाका बसाइँ सर्ने अवस्थामा पुगेको स्थानीयहरू बताउँछन्।

साँगुरीगढी–५ का वडाअध्यक्ष पलकबहादुर बस्नेतले डाँडामा बस्ती भएकाले सानोतिनो बजेटले योजना सञ्चालन गर्न समस्या भएको बताउँछन्। ‘स्थानीय तहको बजेटले लिफ्ट खानेपानी सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘प्रदेश र संघीय सरकारलाई यहाँको समस्या पटकपटक अवगत गराए पनि बेवास्ता भइरहेको छ।’

साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याक्खाले बजेट अभावका कारण उक्त गाउँमा खानेपानीको योजना सञ्चालन गर्न नसकिएको बताए। उनका अनुसार ध्वजेडाँडामा खानेपानी पुर्‍याउन कम्तीमा पाँच करोड रुपैयाँको लिफ्ट खानेपानी योजना सञ्चालन गर्न आवश्यक छ।

‘खानेपानी योजना सञ्चालनका लागि पटकपटक सर्भे गरियो, माथिल्ला तहका सरकारमा पटकपटक अनुरोध गरियो,’ उनले भने, ‘अब त यो समस्या समाधान हाम्रो काबुमै छैन।’

संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ। सो हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुनेछ भनी उल्लेख गरिएको छ। तर, ध्वजेडाँडा, लुम्फाजुङ‚ पाटीगाउँ र थामडाँडाका स्थानीयले मौलिक हकमा उल्लेख गरे झैँ आफ्नो अधिकार उपभोग गर्न पाएका छैनन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.