जग्गा कुम्ल्याएपछि गाउँमा देखिनै छाडे बिचौलिया नाइके हुमागाईं

|

विजय नेपाल

सिन्धुपाल्चोक : केही समय जग्गा धितो राख्न मन्जुरीनामा दिएबापत पैसा पनि पाइने र जग्गा पनि फिर्ता पाइने प्रलोभनमा पर्दा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७ का धेरै घरपरिवार जग्गा विहीन भएका छन्। 

तत्काल केही रकम पनि दिने र जग्गा पनि आफ्नै भइरहने भन्दै दलालले फकाएपछि क्षणिक प्रलोभनमा पारेर लाखौँको जग्गा भूमाफियाको कब्जामा परेको हो। भूमाफियाले जग्गा कब्जा परेपछि समस्यामा परेको छन् चौतारा साँगाचोकगढी नगरपालिका ७ नेपानेका आइतराम तामाङ। 

उनका पाँच जना छोरा छन्। पाँच छोराका पाँच श्रीमती र ११ नातीनातीनीसहित तीन वटा घरमा बसीरहेका उनको घर भुकम्पले भत्किएपनि टहरो बनाएर जसोतसो बस्दै आएका थिए। ठेगाना नखुलेका राजकुमार हुमागाईं नामको व्यक्ति आएर डेड लाख रुपैंया पैसा दिन्छु, घर बनाउनुस् र हामीलाई लालपुर्जा दिनुस् भनेपछि उनी पुर्जा दिन तयार भए। 

६ महिनामा जग्गा फिर्ता पाउने र डेड लाख आफ्नै हुने प्रलोभनमा उनले जिल्ला अदालत काठमाडौंमा गएर मन्जुरीनामामा ल्याप्चे लगाइदिए। बाँकी पैसा पछि दिन्छु भनेपछि उनी ७० हजार लिएर घर फर्किए। त्यसपछि न उनले बाकी पैसा पाए, न ६ वर्ष बित्दा समेत जग्गा नै फिर्ता पाएका छन्। घरसहित ४ रोपनी ७ आना जग्गा भूमाफियाले कब्जा गर्दा उनी अहिले जग्गा विहीन बनेका छन्।
 
कर्णबहादुर भारती र पदमकुमारी भारती श्रीमान् श्रीमती हुन्। २०६८ सालमै उनै हुमागाईं पटकपटक भारतीको घरमा आएर कुखुरा काट्ने र वियर खाने गरेर उनीहरुलाई फकाए। हरेक पटक घरमा आएर फकाउने गरेपछि उनीहरु आ-आफ्नो नाममा भएको जग्गा हुमागाईले दिन राजी भए। 

४ रोपनी जग्गा बापत ८० हजार रुपैंया कर्णबहादुरले पाए भने २ रोपनी जग्गाको ५० हजार उनकी श्रीमती पदमकुमारीले पाइन्। घर जग्गा सबै रोक्का भएपछि भारती दम्पती अहिले न्यायको खोजीमा भौतारिरहेका छन्। सरकारी मूल्याङ्कनमा पनि सो जग्गाको मुल्य प्रतिरोपनी १६ लाख रहेको छ। 

ईश्वरी अधिकारी नाताले कृष्णप्रसाद अधिकारीका दाजु हुन्। दाजुले आफ्नै जग्गा पनि धरौटीको लागि धितो राख्न हुमागाईले बुझाएर पैसा लिएको उनलाई थाहा थियो। दाजुकै सल्लाहमा कृष्णप्रसादले पनि आफ्नो सबै १२ रोपनी जग्गा २ लाख रुपैंया लिएर हेटौंडा र बबरमहलमा पुगेर मञ्जुरीनामा दिए। केही पैसाको लोभमा पर्दा आफ्नो जग्गा हडप्न कुन दिन को आइपुग्छ भन्ने चिन्ता उनीलाई छ। 

कागजपत्र लिएर कोही टुप्लुक्क आइपुगेका आफ्नै घरजग्गा सबै छाडेर खाली हात हिँड्नुबाहेक दोस्रो विकल्प उनीसँग छैन। उनीजस्तै उनका दाजुभाईहरुको पनि धेरैको जग्गा यसरी बन्धक बनेको छ। केही दाजुभाइ त घर छाडेर अन्यत्रै गइसकेको खानीगाउँकै गोविन्द उपाध्याय अधिकारी बताउँछन्।

खानीगाउँकै जितबहादुर घलेले त परिवारमा सल्लाह नै नगरी ३ रोपनी जग्गा रोक्का गरिदिए। परिवारलाई थाहै नदिइ तीन/चार दिन लगाएर हेटौंडा र पुल्चोकमा पुगेर मन्जुरीमाना दिएको बताउने जितबहादुर १ लाख रुपैंया लिएर घर आएपछि श्रीमतीलाई दिँदा श्रीमती सुन्तलीमाया घलेले रकमै आगोमा फालिदिइन्। एउटा नोट जलेर बाँकी रकम ईश्वरी अधिकारीलाई नै फिर्ता गरिदिएका उनीसँग न पैसा नै छ, न त जग्गा नै। 

साविक सानोसिरुवारी गाविसको वडा नं. ४ र ५ मा मात्रै बीसौं जनाको जग्गा यसरी रोक्का रहेको छ। उनै ईश्वरीले घर सल्लाह नगर्नु भनेपछि जितबहादुर लुसुक्क हेटौंडा पुगेका थिए। 

२०६८ सालदेखि स्थानीय इन्द्रप्रसाद दुलाल, ईश्वरी अधिकारी, भरत न्यौपानेलगायत विभिन्न व्यक्तिमार्फत राजकुमार हुमागाईले सो क्षेत्रमा जग्गा कारोबार गर्न थालेका हुन्। करिब २०७५ सालसम्म गाँउ आउने गरेका हुमागाईं त्यसपछि यता देखिएका छैनन्। हुमागाईं हराएपछि भने स्थानीयहरु अत्तालिएका हुन्। 

२०७१ सालमा ६ महिनामा फिर्ता आउँछ भनेर २ लाख ५० हजार रुपैंया लिएर २२ रोपनी जग्गा मन्जुरीनामा दिएका नारायणबहादुर थापा मगरसँग अब २ रोपनी जग्गा मात्रै आफ्नो नाममा बाँकी छ। इन्द्रप्रसाद दुलालमार्फत हुमागाईलाई जग्गा दिएका थापामगरलाई दुलालले छिट्टै जग्गा फिर्ता आउँछ भनेको पनि लामो समय भइसक्यो। तर, उनले जग्गा पाउने आश नै मारिसके। 

सुरु सुरुमा केही बाँझो रहेको पाखो बारी धितो राखेर तोकिएकै समयमा फिर्ता समेत गराएपछि स्थानीयहरु जग्गा दिन हौसिएका हुन्। अहिले सम्पर्कमा आएका र नआएका समेत गरी सोही क्षेत्रमा मात्रै पचास जनाभन्दा धेरैको ३०० रोपनीभन्दा धेरै जग्गा धितो राखिएको आकलन छ। 

जग्गाका स्थानीय विचौलियाहरु अझैपनि यही पेशामा सक्रिय छन्। बेलैमा होसियार नहुने हो भने अझै धेरै सोझा साझा जनताको जग्गा भूमाफियाको कब्जामा पर्ने निश्चित छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.