|

काठमाडौं :  पत्रकार वसन्त बस्नेतको नयाँ उपन्यास ‘महाभारा’ लोकार्पण गरिएको छ।

काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरिन्।

लोकार्पणसँगै उपेन्द्र सुब्बाले उपन्यासमाथि टिप्पणी गरे। युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको उनको भनाइ छ।

‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल) हो,’ उनले भने।  

लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारुले संवादसमेत गरिन्।

थारुले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर संवाद गरेकी थिइन्।

नेपाली भाषालाई लिम्बू लबजको व्याकरणमा मिलाएर लेखिनु नै यो उपन्यासको सबल पक्ष रहेको थारुले बताइन्।

‘नेपालका विभिन्न क्षेत्रमा विभिन्न किसिम लबजमा नेपाली बोलिन्छ। त्यसलाई साहित्यमा ल्याउने काम जटिल नै छ,’ उनले भनिन्, ‘तर वसन्तजीले पूर्वेली लिम्बू लबजलाई नेपालीमा जसरी उतार्नुभएको छ, त्यो अति मीठो छ। यही नै यसको सशक्त पक्ष हो।’

तत्कालीन युद्धरत पक्ष माओवादी र नेपाली सेना थिए। दुवैका बीचमा सर्वसाधारण पिल्सिएका थिए।

पुस्तकमा लेखकले द्वन्द्वको चित्रण गर्दा दुवै पक्षबीच ‘ब्यालेन्स’ मिलाएको पनि थारुको भनाइ छ।

कोरोना महामारीले भएको लकडाउनमा आफूले समय पाएको र त्यही बेला उपन्यास लेखनलाई गति दिएको लेखक बस्नेतले बताए।

‘लकडाउनले धेरैलाई कवि बनायो, मलाई उपन्यासकार,’ उनले भने, ‘एउटा कथानक धेरै अघिदेखि हृदयमा गुम्फिइरहेको थियो, जुनसुकै बेला ल्यापटपमा तप्किन तयार। पहिलो मस्यौदा लेख्दा म नेपाल म्यागजिन सम्पादन गर्दै थिएँ। अग्रज आख्यानकार नारायण वाग्लेलाई एकसरो देखाएर सुझाव लिने बेलासम्म पत्रिकाको नेतृत्वबाट बाहिरिइसकेको थिएँ। मसँग उपन्यासका लागि सोच्ने पर्याप्त समय भइदियो। फुर्सदमा व्यस्त बन्न पाएँ। त्यसैले यो किताब तयार हुन सक्यो।’

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो।

डुक्पा उटपट्याङ गरिबस्छ। पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ। पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ।

त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर 'ड्राइभरी' गर्न मधेस झर्छ। नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ।

उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ।

एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ।

मधुर पूर्वेली लबज र सशक्त संवादको मीठो सम्मिश्रण हो,​फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तक  'महाभारा'।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.