|

काठमाडौं : सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल सञ्चालनमा आएसँगै स्थानीयवासीका साथै खुम्बु क्षेत्रमा आउने विदेशी पर्यटकका लागि सहज भएको छ।

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरुले बताएका छन्। सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामग्रीको ढुवानीदेखि धुम्न आउने पर्यटकका लागि राम्रो भएको स्थानीयहरु बताउँछन्।

सोलुखुम्बुको निर्वाचत क्षेत्र नम्बर १ (ख) का प्रदेश सांसद बद्रीकुमार राजभण्डारीले पुल सञ्चालनमा आएसँगै खुम्बु क्षेत्रका स्थानीयले उपभोग गर्ने वस्तु पनि सस्तो भएको बताए। सांसद भण्डारीले मोटरेबल पुल बनेपछि खुम्बुमा एक सिलिण्डर खाना पकाउने ग्याँसको मूल्य २३ सयबाट घटेर १९ सयमा आएको बताए। यस्तै, ७०० रुपैयाँ पर्ने एक क्यारेट अण्डा अहिले ३०० रुपैयाँमा आउने थालेको उनको भनाइ छ।

मोटरेबल पुल निर्माण भएसँगै खुम्बु क्षेत्रका स्थानीय जनताले दैनिक उपभोग्य वस्तुदेखि लिएर लत्ता कपडा समेत सस्तो भएको भन्दै हवाई उडान प्रभावित भएर लुक्ला विमान स्थलमा भिड गरेर बस्नुपर्ने पर्यटकको बाध्यताको अन्त्य भएका सांसद राजभण्डारी बताउँछन्।

त्यस्तै, खुम्बु गाउँपालिकाका स्थानीय बासिन्दाहरुले पनि पुल निर्माण भएर मोटरबाटो सञ्चालनमा आएकोमा खुसी छन्। खुम्बुका स्थानीय गौरव राईले पुल निर्माणले खुम्बुका स्थानीयबासीलाई मात्रै नभएर विश्वबाट सगरमाथा आउने पर्यटकका लागि राम्रो भएको बताए। उनले सोलुखुम्बु हिमाली जिल्ला भएको र मौसम परिर्वतन भइरहने भएकाले कतै आवतजावत गर्न हवाई उडानमार्फत गर्नुपर्ने अवस्था रहेको तर आर्थिक अवस्था कमजोर रहेका नागरिकलाई समस्या पर्ने गरेको थियो। अहिले पुल निर्माण भएपछि सजिलो भएको उनको भनाइ छ।

खुम्बुमा सडक सञ्चालन नहुँदा यस क्षेत्रको अवस्था एकदमै कठिन रहेको तर पुल निर्माण भएर सञ्चालनमा आएसँगै खुम्बुमा उत्पादन भएका कृषिजन्य वस्तु अन्य स्थानमा लगेर बेच्न सक्ने अवस्था आएको स्थानीयबासीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.