|

काठमाडौं : गत आइतबार बिहान ललितपुर महानगरपालिका-२७ स्थित मन्दिरबाट बालकुमारीको मूर्ति हरायो। स्थानीयले शनिबार बेलुका आरती गरेर ढोका लगाएर गएको मन्दिरमा बिहान नित्य पूजाका लागि जाँदा ढोकाको ताल्चा फुटाएको देखे।

३ सय वर्ष  पुरानो सो मूर्ति चोरी भएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी दिए। चोरले ४/४ वटा ताल्चा काटेर मन्दिरभित्र प्रवेश गरी मूर्ति चोरेको प्रहरीले बताएको छ।

शनिबार राति १२ बजेदेखि ४ बजेभित्र मूर्ति चोरी भएको हुनसक्ने देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए।

चोरिएको सो मूर्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ। मूर्ति खोजीका लागि प्रहरी नायव निरीक्षक दीपक भारतीको संयोजकत्वमा अनुसन्धान टोली गठन गरिएको छ तर, सो मूर्ति फेला परेको छैन।

पुरातत्व विभागले पनि सो मूर्ति खोजीका लागि जिल्ला प्रशासन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयलाई पत्राचार गरेको छ। मूर्ति हराएको जानकारी पाउनासाथ पत्राचार गरिएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए। 

पछिल्लो समय उपत्यकामा मूर्ति हराउने क्रम निरन्तर बढ्दो छ। गत साउनमा  काठमाडौंको इचंगुनारायणबाट ४ मूर्ति हराए।​ सिसिटिभीको निगरानीमा रहेको मन्दिरबाट कृष्ण र राधाका २/२ वटा  मूर्ति हराएका थिए। मन्दिरका  पुजारीले तुरुन्तै प्रहरीमा उजुरी दर्ता गरे।  

गत वर्ष फागुन पहिलो साता साँखुको साल्खा महादेवस्थानको नामले चिनिने मन्दिरबाट ज्योतिर्लिङ्गेश्वर महादेवको मूर्ति चोरी भयो। मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाटै सो मूर्ति चोरिएको थियो। एक वर्ष बितिसक्दा पनि हराएको सो मूर्ति फेला पर्न सकेको छैन।

सुनको जलप लगाएको मूर्ति ४ सय वर्ष पुरानो भएको इतिहासविद्हरू बताउँछन्। चारमुखे मूर्ति करिब अढाइ फिटको थियो।

स्थानीयका अनुसार उक्त मूर्ति राजोपाध्यायको घरमा नै राखिएको थियो। माधव नारायणको मेला लागेकै बेला सो मूर्ति चोरिएको थियो।

२०७६ जेठ २९ मा चाँगुनारायणका पुजारीको निवासबाटै पूजाका भाँडासेटसमेत हराएका थिए। प्रहरी सुरक्षा घेरा भित्रबाट हराएको सो मूर्ति हालसम्म फेला पर्न सकेका छैन। चाँगुनारायण मन्दिर सुरक्षा घेराभित्रै छ। सशस्त्र प्रहरी समेतको घेराबाट अष्ट नारायण मूर्ति हराएको थियो। पाटन मंगलबजार छेउबाट दुई वर्षअघि गणेशको मूर्ति चोरी भयो। प्रहरी चौकी नजिकैबाट चोरी भएका मूर्ति अझै फेला परेका छैनन्। 

यसरी पछिल्लो समय नेपालबाट हराएका ऐतिहासिक मूर्ति हरु देश भित्र भेटिन छोडेको  पुरातत्व विभागले जनाएको छ। मूर्ति चोरी हुने श्रृङ्खला दिन दिन नै बढ्दै गएको छ।  यसरी नेपालबाट हराएका अधिकांश मूर्ति हरु  देश बाहिर फेला पर्ने गरेको पुरातत्व विभागका पुर्व महानिर्देशक कोश आचार्य बताउँछन्।  पछिल्लो समय युरोप अमेरिका लगायतका देशमा  नेपालबाट हराएको मूर्ति भेटिन थालेका छन्। 

मूर्ति चोरीपछि सम्बन्धित निकायमा नगण्य उजुरी पर्ने गरेका छन्। तीन वर्षको तथ्यांक हेर्दा उजुरी एकदमै कम देखिन्छ । आर्थिक वर्ष २०७३/७४ मा ४ वटामात्र उजुरी परेका थिए । २०७५/७६ मा २ वटा उजुरी परको छ। २०७७/७८ मा ४ वटा र ०७८/७९ मा ५ वटा उजुरी दर्ता भएको प्रवक्ता  कुँवरले बताए। 

त्यस्तै गरी ०७७/७८ मा १८ वटा सामाग्री र ०७८/७९ मा १४ वटा सामाग्री प्रहरी बरामद गरेको विभागले जनाएको छ। एकै पटक हराएको मूर्तिसँगै अन्य सामाग्री अर्थात सामान पनि हराउने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.