'वास्तविक विपन्न पहिचान गरेर  सहयोग गरेकोमा खुसी छौँ'

|

सोलुखुम्बु : सगरमाथाको जिल्ला सोलुखुम्बु, हाँसिरहेको कयौँ हिमालको काखमा बसेका नागरिकको भित्री दुःख र पीडा अनेकौँ छन्। जिल्ला बाहिरकालाई लाग्न सक्छ पर्यटकीय जिल्लाका सबै नागरिक हरेक कोणबाट सम्पन्न छन्। तर, वास्तविकता अलिक फरक छ।

सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी शारदा भुजेलको साना–साना छोराछोरी, सबै परिवारको सहारा पति गाउँका युवकको कुटाइबाट अहिले ओछ्यानमा छन्।

'कुटपिटबाट घाइते भएपछि अस्पतालमा उपचार गराउँदा अहिलेसम्म १० लाख बढी खर्च भइसक्यो।' शारदाले गहबाट आँसु झार्दै भनिन्, 'घरबारी पनि बेचिसक्यो, एकदुईवटा भएको वस्तुभाउ पनि सबै बेचेँ, घरमा केही छैन, साना–साना केटाकेटी, कमाउने मान्छे नै थलामा परेपछि, बिहान ल्यायो बेलुका के खाने? बेलुका ल्यायो बिहान के खाने भन्ने चिन्ताले सताइरहन्छ।' 

पतिको उपचारका लागि घरबारीदेखि वस्तुभाउसमेत बेचेकी शारदा भुजेल उदाहरण पात्र मात्रै हुन्। उनी जस्ता थुप्रैको दैनिकी यसैगरी चलिरहेको छ।

३० केजी चामल र कम्बल वितरण

सोही समस्यालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय अन्‍तर्गतको विपत व्यवस्थापन समितिले सोलुखुम्बु जिल्लामै पहिलोपटक तिङ्लामा न्यानो कपडा  र खाद्यन्न वितरण गरेको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका–११ तिङलाका चिसोबाट प्रभावित २५ घर विपन्न परिवारलाई आइतबार एक-एकवटा फाइबरको कम्बल र ३०-३० केजी चामल सहयोग गरिएको हो।

प्रशासन कार्यालयको सहयोगले गर्दा दिनभरि ज्यालामजदुरी गरि बिहान बेलुका चुलो बाल्नेहरुको लागि निकै ठुलो राहत मिलेको छत्रबहादुर भुजेलले बताए। घरमा काम गर्ने जनशक्ति नभएको र अन्यत्र गएर काम गर्ने समेत सामथ्र्य नभएको बेला यस्ता सहयोग अतुलनीय हुने उनको भनाइ छ।

३० केजी चामल र फाइबरको कम्बल पाएपछि खुसी हुँदै स्थानीवासी हिरा विश्वकर्माले चामल किन्ने पैसा बचत भएको भन्दै उक्त रकमले छोराछोरीको पढाइमा खर्च गर्ने बताए।

गृहमन्त्री बालकृष्ण खाँण र गृह सचिवको समेतको योजनाअनुसार विपद कोषबाट खर्च हुनेगरी चिसोबाट प्रभावित गरिब तथा विपन्न परिवारलाई सहयोग गर्ने कार्यक्रम राखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए।

अति विपन्न भएकै कारण चिसोबाट पीडित भएको  पहिचान गरी अन्य स्थानमा समेत उक्त कार्यक्रम गरिने उनको भनाइ छ।

वास्तविक विपन्नले सहयोग पाएकोमा खुसी

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको यो निर्णयले तिङ्लाका विपन्न परिवारलाई केही समय खाद्यान्नको लागि ढुक्क भएको छ भने रात कटाउनको लागि कम्बल सारथि बन्ने भएको छ। सहयोग प्राप्त गरेपछि खुसी हुँदै तिङ्लाका दुर्गाबहादुर बस्नेतले आयोजकलाई धन्यवाद दिँदै केही हदसम्म दैनिकीमा सहजता मिल्ने बताए।

चिसो रात कटाउन मुस्किल परिरहेका बेला न्यायो कम्बलले परिवारमा समेत खुसी छाउने उनको विश्वास छ।

'श्रीमतीको मृत्यु भएको र आफ्नोसमेत रोजगारी गुमेपछि सान–साना दुईजना छोराछोरी र बुढी आमासमेत पाल्नको लागि मुस्किल परिरहेको छ' बस्नेतले भने, 'अरू केही संस्थाहरू आएर बेला बेलामा आफ्नो मान्छे हेर्दै राहत दिने गरेको भए पनि प्रशासनले वास्तविक विपन्न पहिचान गरेर सहयोग गरेको छ, यसमा हामी सबै खुसी छौँ।'

हरेक नागरिकको ज्युज्यानको रक्षा गर्ने राज्यको दायित्व हो। चिसोबाट होस् या विभिन्न विपद्बाट नागरिकलाई सुरक्षित राख्ने कार्यमा राज्य आफ्नो दायित्वबाट पन्छन नमिल्ने प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीको भनाई छ। जसको लागि हरेक जिल्लामा विपद व्यवस्थापन समिति नै गठन गरिएको छ। गृहमन्त्रीले समेत प्रत्यक्ष फोन सम्पर्क गरी चिसो प्रभावित विपन्न परिवारको लागि जिल्लामा गर्ने कामबारे जानकारी लिएको उनको भनाइ छ। 

तिङ्लाका जस्तै अति विपन्न नागरिकको पहिचान गरी विपद कोषबाट अन्य क्षेत्रका मानिसलाई सहयोग गर्ने प्रजिअ शाहीको भनाइ छ। अहिले वास्तविक विपन्न नागरिकको पहिचान गर्ने काम भइरहेको शाहीले बताए।

सोलुखुम्बु हिमाली जिल्ला भएकाले माथिल्लो क्षेत्रको तापक्रम माइनससम्म हुने र चिसोका कारण विपन्न परिवारको दैनिकीसमेत कष्टकर बन्ने कुरालाई मध्यनजर राखेर काम गरिएको उनको भनाइ छ। हरेकलाई राज्यको नागरिक भएको आभाष दिलाउने काम कर्मचारीको भएकाले सोहीअनुसार काम गर्नुपर्ने उनको धारणा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.