फाराम भर्दा अनलाइन, विभागमा सधैं लाइन !

|

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा बुधबार मध्याह्न हातमा कागजपत्रको फाइल  बोक्नेहरूको घुइँचो थियो। कोरोना महामारीको जोखिम अझै रहेका बेला भएको त्यो घुइँचोमा उदयपुरका श्याम मोक्तान भेटिए। 

राहदानीका लागि बिहानै अनलाइन फाराम भरेका मोक्तान दिउँसो १ बजेसम्म लाइनमा नै बसिरहेका थिए। गत मंसिरमा वैदेशिक रोजगारी (कतार) बाट फर्केका उनी फेरि विदेश जाने तयारीमा छन्। तर‚ राहदानीको म्याद सकिनै लागेकाले नवीकरण गर्न विभाग आएको उनले बताए। नवीकरणका लागि यति लामो समयसम्म लाइन बस्नु पर्दा अनलाइन सेवा सरकारको प्रचारबाजी मात्र रहेछ भन्ने लागेको मोक्तानले बताए।

केही समयअघि राहदानी विभाग लैनचौरमा थियो। त्यहाँ मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउनेहरू रातिदेखि नै लाइन बस्न बाध्य थिए। सरकारले गत मंसिर १ देखि विद्युतीय पासपोर्ट (ई-पासपोर्ट) दिन सुरु गर्‍यो। अनलाइनबाटै फाराम भर्ने भनिएकाले विभागमा घुइँचो लाग्ने अवस्था अन्त्य हुने विश्वास लिइएको थियो। तर‚ ई-पासपोर्ट वितरण सुरु भएको तीन महिना पुग्नै लाग्दा पनि अवस्था उस्तै छ। सेवा प्रवाह सधैंको जस्तो अस्तव्यस्त छ। 

राहदानी बनाउनका लागि फाराम अनलाइन भरे पनि नवीकरण, राजस्व तिर्न भौतिक उपस्थिति हुनुपर्ने बाध्यता छ। जसका लागि ‍लाइन बस्नुपर्छ। त्यसले घुइँचो हुने गरेको छ।

‘ई-पासपोर्ट अनलाइनबाट नै लिन सकिने हल्ला गरेको थियो। तर, अवस्था उस्तै रहेछ‚’ मोक्तानले भने‚ ‘सरकारले लाइनको अन्त्य होइन‚ लाइन बसाउन अनलाइन सुरु गरेको रहेछ!’

विभागमै भेटिएका धनुषाका रामेश्वर यादवले पनि राहदानीका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको बताए। वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा रहेका उनले राष्ट्रिय परिचयपत्रको फाराम भर्नु र राहदानी बनाउन निकै समय लागेको बताए।

 पहिले नै फाराम भरेर ई–पासपोर्टका मिति पाएका सेवाग्राहीहरू पासपोर्ट बनाउनका लागि लाइनमा बसेका हुन्छन्। बिहानैदेखि वा लामो समय लाइन बसेपछि पालो आउने र भित्र गएर पहिले नै भरिएको फारामको आधारमा पासपोर्ट पाउने थप प्रक्रिया पूरा गरी केही दिनमा मात्र पासपोर्ट पाइने सेवाग्राहीहरूले बताए।

विभागको प्रष्टीकरण : कोरोनाका कारण बन्द भएकाले भीड भयो 

राहदानी विभागका अधिकारीहरूले पछिल्लो समय राहदानी बनाउनेको घुइँचो बढेको स्वीकार गरेका छन्। कोरोना भाइरसको नयाँ भेरियन्टले विभागका प्रायः कर्मचारी संक्रमित भएकाले राहदानी वितरण बन्द गरिएको र अहिले पहिला नै अनलाइन फाराम भरेका सेवाग्राही आएकाले भीडभाड बढेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए।

महानिर्देशक अर्यालका अनुसार पछिल्लो समय ३८ वटा जिल्ला प्रशासन कार्यालय तथा तोकिएका इलाका प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट जारी गर्न थालिएको छ। हालसम्म ४० हजार ई-पासपोर्ट वितरण भइसकेको छ।

सरकारले मंसिर १ गतेदेखि ई-पासपोर्ट वितरण गर्न सुरू गरेको हो। त्यसअघि लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरिएको थियो। एमआरपी ११ वर्षपछि विस्थापन गर्दै ई-पासपोर्ट प्रयोगमा ल्याएको हो। एमआरपीको तुलनामा ई-पासपोर्ट विश्वसनीय र सुरक्षित भएको विभागको दावी छ।

ई-पासपोर्ट बनाउँदा एमआरपी बनाउँदा  उतिनै शुल्क लाग्ने विभागले जनाएको छ। विभागको वेबसाइटमा नयाँ पासपोर्ट बनाउन वा पुरानो नवीकरण कति दिनभित्र गर्ने हो त्यहीअनुसार शुल्क तोकिएको छ। तीन दिनमा राहदानी लिनका लागि १० हजार रूपैयाँ शुल्क तोकिएको छ। त्यस्तै‚ २ दिनमा राहदानी लिनका लागि १२ हजार र एक दिनमा राहदानी लिनका लागि १५ हजार रूपैयाँ लाग्ने विभागले जनाएको छ।

फाराम भर्न व्यापारीकै भर

त्रिपुरेश्वरस्थित राहदानी विभाग वरिपरि ‘यहाँ अनलाइन फाराम भरिन्छ’, ‘यहाँ राहदानीसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध छ’ जस्ता बोर्ड जताततै देख्न सकिन्छ। राहदानी बनाउन आउने सेवाग्राहीले २०० देखि ३०० रूपैयाँसम्म तिरेर फाराम भर्ने गरेका छन्।

बुधवार विभागमा पुगेका २५ वर्षीय अशोक तामाङले ३०० रूपैयाँ तिरेर फाराम भरेको बताए। उनले भने, ‘आफैंले गर्दा कता के हुने हो ३०० तिर्दा यहाँ भरिदिने रहेछ।’ 

विभागको वेबसाइटबाट नै अनलाइन फाराम भर्ने व्यवस्था भए पनि राहदानी बनाउन विभाग आउने अधिकांशले व्यापारीको सहयोगमा फाराम भर्ने गरेका छन्।

कसरी भर्ने अनलाइन फाराम

राहदानी बनाउनका लागि निवेदन दिँदा अनिवार्य रुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ। छिटो बुकिङ गर्नेको पालो पहिले आउँछ। विभागको वेबसाइटमा गएर लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नुपर्छ। एमआरपी हुनेहरूले नवीकरण र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ भन्ने अप्सन छानेर फाराम भर्नुपर्ने छ।

ठाउँ छनोट गर्दा राहदानी विभाग वा जिल्ला प्रशासन वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिँदा आफूले नागरिकता लिएको वा बसाइँसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिनेछ।

यस्तै‚ राष्ट्रिय परिचयपत्र एक्टिभेट भए नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हट लाइन नम्बरमा फोन गरेर वा भाइबर तथा ह्वास्ट एपमा मेसेज पठाएर यकिन गरिसकेपछि मात्र लाइभ इनरोलमेन्टका लागि आउन विभागले आग्रह गरेको छ। यस्तै‚ एक वर्ष वा सोभन्दा बढी पुरानो राहदानीको म्याद हुनेको हकमा विद्युतीय राहदानी जारी नहुने विभागले जनाएको छ।

ई-पासपोर्ट के हो?

एमआरपीको अतिरिक्त ई-पासपोर्टमा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ। चिपमा औंठा छाप, तस्बिरलगायतका व्यक्तिगत विवरण हुन्छन्। यी विवरण राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन। 

यो हालसम्म संसारमा विभिन्न मुलुकमा जारी भएको अत्याधुनिक राहदानीमध्येमा पर्ने विभागको दाबी छ। साधारण राहदानीको रङ चकलेटी खैरो हुन्छ। साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी छन्। अहिले विभागले कूटनीतिक,  विशेष,  सर्भिस,  अस्थायी,  साधारण (३४ र ६६ पृष्ठ) र सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका राहदानी जारी गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.