|

पर्वत : वर्षासँगैको हिमपातका कारण जम्मा भएको हिउँले दैनिकी कष्टकर बनाएको छ। कहीँ खाद्यबाली सखाप भयो त कतै सडक बिग्रिएको अवस्था छ।

हिमाल पारीको जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आठ दिनसम्म सडक अवरुद्ध भएपछि बजेट छुट्याई एक्स्काभेटर लगाएर करिब ५० किलोमिटर क्षेत्रको हिउँ पन्छाइएको थियो।

तर त्यही हिमपात साहसिक खेल र पर्यटनका लागि पनि उपयुक्त हुन्छ। बाक्लो गरी जम्मा भएको हिउँ नपग्लिएपछि मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा स्की च्याम्पियनसिप आयोजना गरिएको छ।

गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार नेपाल स्की एसोसिएसनले क्रस कन्ट्री स्की च्याम्पियनसिप आयोजना गरेको हो। यही फागुन ३ गतेदेखि सुरु गर्ने गरी चौथो राष्ट्रिय च्याम्पियनसिप आयोजना गरिएको हो।

‘यसको मुख्य काम भनेको स्की एसोसिएसनको हो। हामी गाउँपालिकाले त केही सहकार्य मात्र गरेको हो, हाम्रो ठाउँको प्रमोट हुन्छ तर स्कीका लागि अहिले तालिम पनि चलिरहेको छ’, गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘मंगलबारदेखि टुर्नामेन्ट हुँदै छ। हामीले स्थानीयलाई विशेष प्राथमिकता दिए पनि यहाँका मान्छे खासै आएका छैनन्। काठमाडौँ सहित बाहिरबाट आएका छन्।’

च्याम्पियनसिपमा १६-१७ वर्ष वा आसपासको उमेर समूहका खेलाडीलाई बढी प्राथमिकतामा राखिएको र क्रस कन्ट्री खेल भएका कारण यहाँबाट राम्रो गरेकाहरू विभिन्न देशमा गएर खेल्ने र सिक्ने मौका पाउने उनको भनाइ छ।

च्याम्पियनसिपमा पुरस्कारको रूपमा नगद पुरस्कारभन्दा पनि प्रमाणपत्र र अन्य देशमा गएर खेल्न पाउने अवसर महत्त्वपूर्ण हुने अध्यक्ष गुरुङ बताउँछन्। उक्त च्याम्पियनसिप वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा रहेको रानीपौवा पाखोमा हुनेछ।

हिउँ परेपछि उपयुक्त वातावरण मिले मात्रै च्याम्पियनसिप आयोजना गरिने भएकाले हरेक वर्ष नियमित रूपमा च्याम्पियनसिप हुन्छ भन्ने छैन। दुई वर्षअघि मुस्ताङमा तेस्रो च्याम्पियनसिप आयोजना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.