सरकार भन्छ- प्रक्रिया अघि बढ्दैछ

|

काठमाडौं : कुनै समय नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक रहेको मलेसिया रोजगारीको ढोका यतिबेला बन्द छ। करिब २ वर्षदेखि कोरोना महामारीका कारण रोकिएसँगै नेपाली श्रमिक मलेसिया रोजगारीमा जान नपाएका हुन्।

कोरोना संक्रमण घट्दै गएसँगै विश्वमा विभिन्न मुलुकले नेपाली श्रमिक लिइरहेका छन् तर, मलेसियाले भने श्रमिक लिएको छैन। सन् २०१५ को तथ्यांक हेर्दा करिब ७ लाख नेपाली श्रमिक मलेसियामा काम गरिरहेका थिए। हाल सो संख्या १ लाखमा झरेको वैदेशिक रोजगार विभागको अनुमान छ। 

यस्तो छ  खोल्ने तयारी 

लामो समयदेखि रोकिएको मलेसिया रोजगारी नेपालीका लागि खोल्ने तयारी भएको छ। लामो समयपछि नेपाली कामदार मलेसिया पठाउने तयारी भएको  वैदेशिक रोजगार विभागले जनाएको छ। मलेसियाले गत जनवरीदेखि कोरोनाका कारण विदेशी कामदारलाई लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। 

मलेसियाले ३२ हजार विदेशी कामदार लिने निर्णय गरेसँगै नेपालमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। मलेसियास्थित नेपाली दूतावासले कामदारको मागपत्र प्रमाणीकरण गत साता शुरु भएको जनाएको छ। 

दूतावासले मलेसियाली रोजगारदाता कम्पनीबाट आएका मागपत्र प्रमाणीकरण शुरु गरेको गत साता नै सूचना जारी गरेर सम्बन्धित पक्षलाई जानकारी गराएको थियो। दूतावासले सुरक्षा गार्ड, उद्योग, कम्पनी र अन्य क्षेत्रमा कामदारको माग प्रमाणीकरण शुरु भएको जनाएको छ। 

पुरानै प्रक्रियाबाट पठाउने तयारी

मलेसियामा नेपाली कामदार पुरानै प्रक्रियाबाट पठाउने तयारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मलेसियासँग भएको श्रम सम्झौताअनुसार तत्काल पुरानै प्रक्रियाबाट कामदार पठाउने तयारी भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। सरकारले तत्काल अर्को संरचना तयार नगरेकाले २०७५ सालअघिकै प्रक्रियाबाट कामदार पठाइने भएको छ। 

रोजगारीका लागि मलेसिया जाने कामदारको श्रम अवधि २ वर्ष हुने छ। भिसा शुल्क, हवाई टिकट, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच, लेभीलगायत खर्च सम्बन्धित रोजगारदाताले नै बेहोर्ने गरी समझदारी भएको थियो। 

मलेसिया प्रवेश गर्न निश्चित स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ। मन्त्रालयका अनुसार मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने, कोभिड परीक्षण गरेको नेगेटिभ रिपोर्ट उड्नुभन्दा ४८ घण्टा अगाडि पेश गर्नुपर्ने छ।

३ वर्षमा ५५ हजार नेपाली गए मलेसिया

श्रम स्वीकृति बन्द भएको १५ महिनापछि २९ भदौ २०७६ मा मात्रै मलेसियामा जाने कामदारले श्रम स्वीकृति पाउन थालेका थिए। सो समयमा करिब ५५ हजार नेपाली मलेसिया पुगेका थिए। त्यसयता नेपाली श्रमिकका लागि मलेसियाको ढोका खुलेको छैन।

मलेसिया रोजगारीमा यस्ता थिए समस्या

कोभिड-१९ अगावै मलेसिया रोजगारीमा समस्या देखिएको थियो। त्यहाँ जाने श्रमिकबाट मेडिकल, भिसा सहजीकरण, भिएलएन, बायोमेट्रिक लगायतमा म्यानपावर व्यवसायीले बढी शुल्क असुलेको आवाज उठ्यो। सो समस्या समाधान गर्न तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम स्वीकृति रोकेका थिए। सरकारले २०७५ जेठ १२ मा श्रमिक पठाउन रोक लगायो। 

नेपाल र मलेसियाबीच समझदारी भयो। २०७५ कात्तिक ११ मा श्रमिकको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले बेहोर्ने मलेसिया सरकारसँग श्रम समझदारी भएको थियो। तर,मलेसियाले पुरानै प्रक्रियाबाट कामदार लैजान पहल गर्‍यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.