नन्दलाल भन्छन्, 'बस्ने वास छैन, कहाँ जाऊँ'
नन्दलाल भन्छन्, 'बस्ने वास छैन, कहाँ जाऊँ'
दैलेख : जिल्लाको नारायण नगरपालिका–६ वादी बस्तीकी सिन्की गाजलुका पति नन्दलाल वादीले १३ वर्षअघि ट्र्याक्टर दुर्घटनामा हात गुमाए। हात गुमाउनुको पीडासँगै परिवारको गर्जो कसरी टार्ने भन्ने पिरमा रहेको नन्दलालको परिवारले त्यसपछिका दिनमा झनै ठूलो वज्रपात बेहोर्नु पर्यो।
८ वर्षअघि बर्सात्सँगै आएको पहिरोले सिन्की गाजलुको घर भत्कियो। घरमाथिबाट आएको पहिरोमा पुरिएर उनकी बुहारी र दुई नाबालक नाति/नतिनाको मृत्यु भयो। प्राकृतिक विपत्तिसँगै सिन्की गाजलुको परिवार भत्केको घर र पहिरोमा मृत्यु भएका आफन्तको काजक्रियापछि विरक्तिएर मुगलान पस्यो।
करिब ४ वर्ष काला पहाड अर्थात (भारत) मा मजदुरी गरेर उनीहरूको परिवार फेरि फर्किएर उही भत्केको घरमा वास बसेको छ। अहिले उनीहरूलाई कहाँ बस्ने भन्ने चिन्ताले पिरोल्ने गरेको छ। अरूकोमा काम गर्दै परिवार पाल्नुपर्ने बाध्यतामा रहेका उनीहरूको न बस्ने वास छ न खाने गाँस नै।
‘पुरानो घर मर्मत गरेर बसौँ भने भिरालो ठाउँमा भएकाले बर्सात्पछि आउने पहिरोको त्रास छ, अन्यत्र जाऊँ जाने ठाउँ छैन, अरूकोमा काम गरेर परिवार पालौँ एक हातले कसरी मजदुरी गर्नु? स्थानीय सरकार आएपछि गरिबको दैनिकी फेरिने आशा थियो गाउँका सरकार पनि गरिबका लागि हैन रहेछन्,’ नन्दलालले भने, ‘चुनावमा समाजवाद ल्याउने नारा लगाउने नेताहरू अहिले समाजमै आउँदैनन्।’
अहिले उनको ६ जनाको परिवार छिमेकीको सहारामा बसेको छ। घर बनाउन स्थानीय सरकारले पाता र केही ढुङ्गा व्यवस्थापन गरिदिए आउने प्राकृतिक विपत्ति सामना गर्दै पुरानै ठाउँमा घर बनाउने योजना नन्दलालको छ। उनी भन्छन्, ‘आफूसँग केही छैन। सरकारले हेर्देन। सहयोग गर्छौँ भनेर आशा देखाएकाहरूबाट आजसम्म कुनै सहयोग पाएको छैन।'
२०७४ सालको स्थानीय तहको चुनावताका आफू निर्वाचित भए यहाँका भूमिहीनलाई भू–स्वामित्व दिलाउने भन्दै जितेका स्थानीय सरकारका प्रतिनिधिले लगाएका चुनावी नारा घोषणापत्रमै सीमित भए भन्छन् उनी। ऊ वेला बस्तीमा आएर आफूले जिते जग्गा दिने वाचा गरेका नेताहरूले आफ्नो वाचा पूरा गर्नु परको कुरा हो वासविहीन भएर सडकमा हुँदा अहिलेसम्म कसैले पनि वास्ता नगरेको उनले बताए। ‘ऊवेला जग्गा दिलाउने आस देखाएका नेताहरूले चुनाव जितेर सरकारमा छन्। आफूहरूले स्थानीय सरकारका प्रतिनिधिहरूलाई वेला–वेला आफ्ना समस्याबारे घचघच्याए पनि गरिबको गुनासो सुनुवाइ भएको छैन,’ नन्दलालले भने।
नारायण नगरपालिका–६ गणेशचोक पछाडिपट्टी भिरालो ठाउँमा रहेको नमुना वादी बस्तीमा करिब ६० घर छन्। तत्कालीन द्वन्द्वकालमा राज्य र माओवादी दुवै पक्षबाट असुरक्षित रहेको भन्दै जिल्लाका विभिन्न ठाउँबाट आएर बसोबास गरिरहेका उनीहरूको आम्दानीको कुनै स्रोत छैन। अरूकहाँ काम गर्दै बालबच्चा पढाउनेदेखि परिवारको गर्जो टार्ने उनीहरूको दैनिकी हो।
भूमिहीन भएर करिब १८ वर्षदेखि यहाँ बस्दै आएका उनीहरूलाई वेला–वेला जग्गा उपलब्ध गराउने वाचा गर्दै आएका राजनीतिक दलका नेताहरूले झुटो आश्वासन दिने गरेको भन्दै उनीहरू आफू सधैँ अन्यायमा परेको बताउँछन्। नन्दलाल भन्छन्, ‘ऊवेला गरिबका समस्या समाधान गर्ने भनेर पैसा दिएर चुनाव जितेका नेताहरूले आजसम्म कुनै वास्ता गरेनन्। फेरि चुनाव आउँदै छ भन्ने सुनेका छौँ आउने चुनावमा पनि तिनै दलका नेताले समाजवादको सपना देखाउलान् बरु ओडार र सडक पेटीमा बस्न परोस्, झुट्टा र गरिब भुलाउने नेताका पछि लाग्दैनौँ।’
'भूमिहीनले छिटै जग्गा पाउँछन्'
राष्ट्रिय भूमि आयोग दैलेखका अध्यक्ष नयाँराम थापाले यहाँका भूमिहीन नागरिकले छिटै जग्गा पाउने दाबी गरेका छन्। स्थानीय सरकारको वडादेखि जति छिटो विवरण आयोगको जिल्ला समितिमा प्राप्त हुन्छ त्यहीअनुसार छिटो भू–स्वामीत्वविहीन नागरिकले जग्गा पाउने उनले बताए। उनले अघिल्लो आयोगले जिल्लाका ३ स्थानीय तहलाई सूचना जारी गर्न लगाएर केही निवेदन वडाबाट गाउँपालिका तथा नगरपालिकामा आएका र हालसम्म अन्य स्थानीय तहले सूचना जारी नगरेको बताए।
स्थानीय तहको ३५ दिने सूचनापछि वडाबाट संकलित भूमिहीनका निवेदन गाउँपालिका तथा नगरपालिकामा आउने र तिनको अध्ययनपछि स्थानीय तहले फेरि सातदिने दाबीविरोधको सूचना निकाल्ने उनले बताए। यसमा थप अध्ययनपछि राष्ट्रिय भूमि आयोगको जिल्ला समितिमा आएका निवेदनको अध्ययन गरि भूमिहीनलाई छिटो जग्गा उपलब्ध गराउन आफूहरू लाग्ने अध्यक्ष थापाले थाहाखबरलाई बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।