|

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलको टोली आइतबार बिहानै पर्वत सदरमुकाम कुश्मा बजारबाट पोखरातर्फ लाग्याे। सादा पोशाकमा रहेका उनले आफ्नो टोलीलाई पनि सादा पाेशाकमा नै तयार पारे।

पर्वत प्रहरीको टोली बिहान १० बजे पोखराको पृथ्वीचोकमा पुग्यो। काठमाडौंबाट बुद्ध एयरको फ्लाइट नम्बर ६०५ मा तुलाराम नाम्जाली मगर आउँदै गरेको सूचना पाएपछि प्रहरीले उक्त दिन पोखरा विमानस्थलमा झर्न लागेका यात्रुहरूका नामावली निकाल्याे।

पौडेलसहितको एउटा टोली पोखरा विमानस्थलको यात्रु आगमन कक्षमा पुगेर प्रतिक्षामा बस्यो। ११ बजेको समयमा आफूले खोजी गरिरहेका व्यक्तिको हुलिया पहिचान गर्दै प्रहरीले सुर्खेतको चौकुने गाउँपालिका–५ स्थायी घर भई हाल पोखरामा बस्दै आएका ३२ वर्षीय मगरलाई नियन्त्रणमा लियो।  

लिखत कसुर सम्बन्धी अभियोगमा प्रहरीको खोजीमा परेका तुलारामको साथमा रहेका कागजातको बारेमा प्रहरीले खोजी गरे पनि साथबाट कुनै प्रमाण फेला पारेन।

उनको कसुर र हुन सक्ने कारबाहीको बारेमा मनोवैज्ञानिक रूपमा सम्झाइबुझाइ गरेपछि अभियुक्त तुलारामले आफूहरूले गर्दै आएको कीर्ते कामको बारेमा बताए।

सोही आधारमा प्रहरीको टोली पोखरा महानगरपालिका–१७ राष्ट्र बैङ्क चोकमा पुग्यो, जहाँ ‘भुपू सैनिक अनलाइन सेवा’ नाम गरेको पसल थियो। प्रहरी टोलीले सोही पसलमा छिरेर छापा मार्दा प्रहरीकै छापलगायत विभिन्न नक्कली कागजातहरू फेला पार्‍याे। 

त्यहाँ राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको भनिएको एसइई प्रमाणपत्र ५७ थान, मदरल्याण्ड सेकेन्डरी स्कुल पोखराको चारित्रिक प्रमाणपत्र एक थान, नेपाल प्रहरीले प्रदान गर्ने जस्तै नक्कली चारित्रिक प्रमाणपत्र एक थान, दुई थान मोबाइल, दुई थान मनिटर, एक थान किबोर्ड, एक थान प्रिन्टर, ६ ओटा एटिएम कार्ड, प्रहरी प्रधान कार्यालयको स्ट्याम्प प्याड एक थान, जिल्ला प्रशासन कार्यालय कास्कीको स्ट्याम्प प्याड एक थान, जिल्ला प्रहरी कार्यालय लमजुङको स्ट्याम्प प्याड  प्रहरीले फेला पार्‍याे।

सोही क्रममा पर्वतको महाशीला गाउँपालिका–२ भोक्सिङ घर भई हाल पोखरामा बस्दै आएका ३८ वर्षीय रिमबहादुर हमाल पनि पसलबाट पक्राउ परे।

सवा लाखको डिल 

गिरोहले एक हजारदेखि एक लाख ३० हजार सम्म रुपैयाँ लिएर उमेर घटाएर पहिले लिएको बाहेक नागरिकताको प्रमाणपत्र दोस्रो पटक पनि निकाल्न सघाउने गरेको पुष्टि भइसकेको थियो।

आफू नै ग्राहक बनेर आरोपीको सम्पर्कमा पुगेपछि दोषीलाई पक्राउ गर्न सहज हुने अनुमानसहित प्रहरी निरीक्षक पौडेलले आफूलाई भर्ती हुनको लागि पुन: नागरिकताको आवश्यकता रहेको बताउँदै तुलारामलाई फोन गरे।

आफू भारतीय सेनामा पटक–पटक प्रयास गर्दा पनि असफल भएको र अबको विकल्प अर्को नागरिकताको प्रमाणपत्र लिने र त्यसमा उमेर घटाएर भर्ती हुन जाने बताए।

त्यसका लागि एक लाख २५ हजार रुपैयाँ तिर्न तयार रहेको पाैडेलले सुनाए। नक्कली शैक्षिक प्रमाणपत्र तयार पारेपछि नयाँ नागरिकताको प्रमाणपत्र निकालेर पैसा असुल्न माहिर तुलारामले आफ्नो सम्पर्कमा आएको व्यक्ति प्रहरी होला भनेर अनुमान नै गर्न सकेनन्।

पाैडेलले आफू कामको सिलसिलामा काठमाडाैं रहेको प्रमाणपत्र तयार पार्नको लागि पोखरा आउने बताएपछि त्यही क्रमलाई पछ्याउँदै पर्वत प्रहरीको टोली पोखरा पुग्यो। उनी जहाजमार्फत पोखरा आउन लागेको खबर पाएपछि प्रहरीको टोली सादा पाेशाकमै विमानस्थलको निगरानीमा लागेको थियो।

‘म आफै ग्राहक बनेर उसलाई फोन गरेको थिएँ। म धेरै पटक प्रयास गर्दा पनि इन्डियन आर्मीमा भर्ती हुन सकिन, अब नागरिकतामा नै उमेर घटाएर फेरि निकाल्नुपर्ने भयो भनेर कुरा गरेको थिएँ,’ पौडेलले भने, ‘उनले मलाई ग्राहकमै रूपमा लिए, प्रहरी हो भन्ने त शंका नै रहेन। उनीहरूले काम गर्ने अफिससम्म जान पनि तुलारामले नै सघाए।’

यसरी सफल भयाे भण्डाफोर

कुश्मा नगरपालिका–११ पकुवा घर भएका २५ वर्षीय आशिष केसी जिल्ला प्रशासन कार्यालय पर्वतमा गत फागुन ६ गते ई-पासपोर्ट निकाल्न गए। उनको वास्तविक नाम आशिष भए पनि सागर केसीको नामबाट दोस्रो नागरिकताको प्रमाण पत्र निकालेको आधारमा नयाँ ई-पासपोर्ट बनाउन उनी त्यहाँ पुगेका हुन्।

राहदानीको लागि ‘फिगंर प्रिन्ट’ लिने क्रममा उक्त ‘फिगंर प्रिन्ट’ पहिले नै दर्ता भएको देखिएपछि उनी शंकाकाे घेरामा परे। प्रशासनले तत्कालै गरेको अनुसन्धानबाट केसीले उमेर घटाएर बनाएको दोस्रो नागरिकताका आरामा राहदानी बनाउन लागेको खुल्यो।

‘केसीले २०७१ वैशाख २७ मा जन्म मिति २०५३ साल चैत ८ गते राखेर नागरिकताको प्रमाणपत्र लिएको र दोस्रो पटक २०७४ फागुन २८ मा २०५६ मंसिर १ गतेको जन्म मिति राखेर नागरिकता लिएको भेटियो’, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले भने, ‘थर उही कायम गर्ने नाम मात्रै फेर्ने, थर मिल्ने खालको अरू कोहीको पनि डकुमेन्ट वा नमुना फेला पारेमा सोही डकुमेन्ट बनाउने काम यिनीहरूले गरेको देखियो।’

जिल्ला प्रशासन कार्यालय पर्वत स्रोतका अनुसार ई-पासपोर्टको लागि आशिषको नाम दर्ता गराउँदा विद्युतीय माध्यमबाट उनको नागरिकताको प्रमाणपत्र र राहदानी दुई ओटा रहेको भन्ने सूचना आयो। सोही आधारमा प्रशासनले आशिषलाई प्रहरीको जिम्मा लगाएकाे हाे।

नक्कली प्रमाणपत्र बनाएर भर्ती भए नेपाली

अहिलेसम्म झन्डै दुई सयको हाराहारीमा त्यस्ता नक्कली प्रमाणपत्रहरू बनाएको र तीमध्येका ७०-८० जना भर्ती पनि भइसकेको अभियुक्तले प्रहरीलाई बयान दिएकाे छ।  

पर्वतका रिमबहादुर नेपाली सेनामा सेवा निवृत्त हुन् भने तुलाराम पोखरा र सुर्खेतमा रहेका भर्ती प्रशिक्षण केन्द्रहरूमा बसेर प्रशिक्षकको रूपमा काम गरिरहेको पाइएको छ।

भर्ती हुनका लागि पटक-पटक असफल भएका युवाहरूलाई अन्तिम विकल्पको रूपमा कागजात कीर्ते गर्ने उपाय बताएर सोही अनुसारको रकम सङ्कलन गर्ने गरेको प्रहरीकाे अनुसन्धानबाट खुलेको छ।

उनीहरूबाट बरामद भएका कागजातका आधारमा करिब चार वर्षदेखि कीर्ते धन्दा गरिरहेको हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.