दूतावास भन्छ : २४४ नेपाली सुरक्षित छन्

|

काठमाडौं : केही दिनयता रुस–युक्रेन युद्धबीच चलेको युद्धको मारमा नेपाली पनि पर्न थालेका छन्। छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकले आफ्ना नागरिकको उद्धार गरिरहेका छन्।

सरकारले युक्रेनमा रहेका नेपालीको उद्धारमा चासो देखाएको बताए पनि  यकिन विवरण नभएकोले त्यहाँका नेपाली समस्यामा परेका हुन्। 

यता, नेपाल सरकारसँग भने युक्रेनमा कति नेपाली छन् भन्ने यकिन तथ्यांकसमेत छैन। उद्धारका लागि कुनै सरकारले कदम चालेको छैन।

यतिबेलासम्म नेपाली सुरक्षित रहेको खबर आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। जर्मनस्थित नेपाली दूतावासमार्फत जानकारी लिइरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले  जानकारी दिइन्। उद्धारका विषयमा छलफल भइरहेको उनको भनाइ छ।   

सो क्षेत्रको अवस्था डरलाग्दो छ। युक्रेनमा रहेका नेपाली हंगेरी, स्लोभाकिया, पोल्याण्ड, रोमानिया लगायतका देश पुगेका छन्। पोल्याण्ड, हंगेरी, रोमानियास्लोभाकिया लगायतका नजिकैका देशहरूमा रहेका नेपाली समुदायसँग समन्वय गरी युक्रेनमा भएका नेपालीहरूको उद्धारको काम भइरहेको जर्मनी स्थित नेपाली दूतावासले जनाएको छ। 

दूतावास भन्छ : २४४ नेपाली सुरक्षित

रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रूपमा आफ्नो गन्तव्यमा पुगेका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ। 

एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डमा ६०, स्लोभाकियारोमानियामा १२- १२, हङ्गेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको छ। सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपालीहरु दोस्रो मुलुक जान रोकिएका छन्। 

उनीहरुले आज साँझसम्म सीमा पार गर्न सक्ने अनुमान गरिएको छ। गैरआवासीय नेपाली सङ्घ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन्।

उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो। 

बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको छ। उच्चस्तरीय समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले सङ्घका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारका लागि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ परिचालित भएको बताए।

के छ सरकारको तयारी?
सरकारले युक्रेनमा रहेका नेपालीहरूका बारेमा विभिन्न देशका कूटनीतिक नियोगमार्फत बुझिरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले थाहाखबरलाई जानकारी दिइन्। 

युक्रेनमा रहेका नेपालीहरू युद्धका कारण समस्यामा परेका छन्।  कसरी र कुन माध्यमबाट उद्धार गर्ने भनेर जर्मनीस्थित नेपाली दूतावाससँग घण्टा–घण्टामा छलफल भइरहेको छ। उनले भनिन्, नेपालीलाई बोर्डरबाट बाहिर सुरक्षित स्थानमा सारिएको छ। नेपाल नै ल्याउने तयारी भएको छैन।’ 

दूतावाससँगै छलफल गरी अवस्थाबारे जानकारी लिइरहेको मन्त्रालयले जनाएको छ।

वि सं २०७५ यता २ सय ३१ जनाले  युक्रेन जानका  लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।  विभागका अनुसार २०७५ र २०७६ मा ८ जना, २०७६/७७ मा २४ जना, २०७७/७८ मा ७ महिलासहित ५३ जना युक्रेनमा रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले जानकारी दिए। 

चालु आर्थिक वर्षको साउनमा चार महिलासहित २२ जना, भदौमा दुई महिलासहित २५ जना, असोजमा एक महिलासहित २५ जना, कात्तिकमा एक महिलासहित ११ जना, मङ्सिरमा पाँच महिलासहित २४ जना, पुस महिनामा दुई महिलासहित २७ जना र माघ महिनामा पाँच जनाले श्रम स्वीकृति लिएको ​विभागले जनाएको छ।

छिमेकी देश भारतले भने विद्यार्थी लगायत विभिन्न पेशामा संलग्न करिब ५० हजार आफ्ना नागरिकलाई  आवश्यकता अनुसार उद्धारको काम थालिसकेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.