|

काठमाडौं : सामाखुसी चोकबाट एउटा मोटर बाटो टोखा, झोर, गुर्जे भञ्ज्याङ, थाना भञ्ज्याङ, हात्तीगौँडा, सुनखानी हुँदै चीनको सिमानासम्मै पुग्छ। छहरे बजारभन्दा दुई तीन डाँडा वर काफलडाँडामा सडक छेउ मै सुशीलराज पाण्डेको ‘चौतारी खाजा घर एण्ड होम स्टे’ छ।

सुशील आफूलाई अभिनेतासँगै किसान पनि भन्न रुचाउँछन्। खेतीपाती गर्नुभन्दा अगाडि धेरैवटा फिल्ममा अभिनय गरिसकेको भए पनि गाउँ पसेपछि, खेतबारीमा काम गर्न थालेपछि बल्ल अभिनयको आफ्नो परिभाषा बनेको उनको अनुभव छ।

अब फिल्मलाई पेशाको रुपमा नलिएर कलाको रुपमा मात्रै लिने उनी बताउँछन्। उनी भन्छन्, ‘व्यवसायका लागि त यो (चौतारी खाजा घर) खोलेको छु। फिल्मलाई पेशा बनाउँदा कला मर्दै जाने रहेछ।’

क्यामेराको रिलले डोर्‍याउँदै फिल्ममा

काठमाडौंमै जन्मिएर यहीँ हुर्किएका सुशीललाई क्यामेरासँग पहिलेदेखि नै प्रेम थियो। क्यामेराको आँखा (भ्युफाइन्डर)बाट देखिने दृश्यलाई रिलमा कैद गर्न उनलाई खुब मन पर्थ्यो। 

‘एक दिन रेडियोमा ओस्कार कलेजको विज्ञापन सुनेँ। त्यहाँ मलाई मनपर्ने फोटोग्राफी र भिडियोग्राफी पनि पढाइँदो रहेछ‚’ उनले त्यो बेलाको कुरा सुनाए, ‘त्यतिबेलै मलाई यही विषय पढ्न मन छ भनेर आमालाई भनेँ। आमाले बुझेर आइज भन्नुभयो। त्यसपछि म ओस्कार कलेज भर्ना भएँ।’

कलेजमा भर्ना भएपछि आफूभन्दा अघिल्लो ब्याचका दाइहरूको सल्लाहमा एक्टिङमा लागेको सुशीलले सुनाए। ‘म पहिलो ब्याचमा भर्ना हुँदा मीन भाम, निगम श्रेष्ठ दाइ दोस्रो ब्याचमा हुनुहुन्थ्यो। कलेजको प्राक्टिकलमा लागि फिल्म बनाउनुपर्ने हुन्थ्यो। फिल्म डिरेक्सन पढ्ने त धेरै थिए तर एक्टिङ पढ्ने एकदमै कम। प्राक्टिकलको लागि पनि एक्टर पाउन गाह्रो थियो। दाइहरूले तिमी फोटोजेनिक पनि छौ प्राक्टिकलमा हेल्प गर न त भन्नु भयो‚’ अभिनयमा लाग्नुको कारण उनले खुलाए‚ ‘मैले गरेँ। त्यसपछि सबैले फोटोग्राफी, भिडियोग्राफी छोड एक्टिङ नै गर भनेपछि त्यता सम्भावना छ भने पढिहेरौँ भनेर त्यही पढेँ। बिस्तारै त्यसैमा रस बस्न थाल्यो।’ 

सुशील दोस्रो ब्याचमा हुँदा निश्चल बस्नेत पहिलो ब्याचमा भर्ना भए। कलेज प्रोजेक्टकै क्रममा उनीहरूबीच चिनजान भयो। नजिक भए। एउटा सर्ट फिल्म बनाउने तयारीमा रहेका निश्चलले एउटा रोलमा सुशीललाई प्रस्ताव राखे। विभिन्न कारणले त्यो फिल्म बनेन बरु त्यही कथामा फिचर फिल्म बनेर लुट आयो। सर्ट फिल्ममा जुन पात्रमा सुशील फिट देखिएका थिए लुटमा पनि त्यही पात्रमा देखिए। 

सहरबाट गाउँतिर

सुशीलको पहिलो फिल्म नै सुपरहिट बन्यो। सबैबाट उत्साहजनक प्रतिक्रिया पनि पाए। उनलाई एकपछि अर्को काम आउन थाल्यो। उनले प्रस्ताव आएकाले काम गरे। तर सबै पहिलो जस्तो सबै सफल भएन।

‘मलाई स्क्रिप्टको सेन्स थिएन। दुई चार वटा फिल्म स्क्रिप्ट नराम्रो हुँदा पनि गरेँ। तिनै फिल्मको रिजल्ट पनि हो जसरी म निखारिन पाएको छु‚’ उनी भन्छन, ‘अहिले असफल हुन डराउनु हुँदैन भन्ने लाग्छ। जुन सिकाइ असफलताबाट पाइन्छ त्यो सफलताले दिँदैन भन्ने कुरा पछि बुझेँ।’

पहिलो फिल्मबाट जुन लोकप्रियता उनले पाए त्यसपछिका फिल्मले त्यो दिएन। आधा दर्जनभन्दा बढी फिल्म खेलिसकेपछि एउटा समय यस्तो आयो उनीसँग न काम थियो, न काठमाडौंमा बसेर खान पुग्ने पैसा। 

‘मेरो एउटा खराब बानी के छ भने, म आफूलाई जति नै अप्ठ्यारो परे पनि कसैलाई भन्दिनँ। मैले भन्ने भनेको आमालाई हो। तर, त्यतिबेला आमालाई भनेको भए मलाईभन्दा बढी गाह्रो आमालाई हुन्थ्यो। त्यसैले कसैलाई भनिनँ‚’ उनले भने, ‘म यहीँ जन्मेँ, जिन्दगीको २७ वर्ष यही सहरमा बिताएँ तर पहिलो पटक मलाई काठमाडौंदेखि पुग्यो भन्ने भयो।’

आफ्ना अप्ठ्यारा अरूलाई नभन्ने बानीले त्यो बेला सुशील नराम्रो अवस्थाबाट गुज्रिए। दुई साताभन्दा बढी भोकै बसे। त्यो बेला उनलाई लाग्यो चाहिएका बेला सहयोग गर्ने नभेटिएपछि लाखौं मानिस बस्ने सहर पनि सुनसान झै। यही रन्कोमा सहरमा जन्मी हुर्किएका सुशील गाउँ पसे।

‘हरेक मान्छेको जीवनमा उकाली ओराली आउँछ। आफूलाई चाहिएको बेलामा कोही नभएपछि लाखौँ मान्छे बस्ने सहर पनि सुनसान लाग्ने रहेछ‚’ आफ्नो जिन्दगीको सबैभन्दा अप्ठ्यारो समय सम्झँदै उनी भन्छन्, ‘न काम थियो, न दाम। काठमाडौंमा बस्ने अवस्था नै थिएन। त्यतिबेला म १७ दिनसम्म पानी मात्रै खाएर बसेँ। अब फिल्म नै गर्दिनँ भनेर म गाउँ पसेँ।’ 

कृषि गर्छु भनेर गाउँ पसेका उनलाई त्यहाँ पनि त्यति सजिलो भने थिएन। किनकि‚ गाउँमै जन्मेर खेतीपाती गर्दै हुर्केका युवाहरू सम्भावनाको खोजीमा सहर पसिरहेका बेला कहिल्यै कुटो‚ कोदालो, हलो नचलाएका सुशील कृषि गर्छु भनेर गाउँ छिरेका थिए। 

उनले कुटो, कोदालो, हलो सबै चलाए पनि, एउटा किसानले गर्नुपर्ने सबै थोक गर्छु नै भनेर लागे। तर, ठ्याक्कै सोचे जस्तो भइदिएन। खेतीपातीले मात्रै जीवन चलाउन गाह्रो हुने देखेपछि उनलाई कुखुरापालन गर्दा हुन्छ कि भन्ने लाग्यो। झण्डै ६ वर्ष उनले कुखुरापालन गरे।

सुरुसुरुमा राम्रै भए पनि अण्डाको भन्दा दानाको मूल्य बढी हुन थालेपछि भने त्यहाँबाट पनि नहुने रहेछ भन्ने लागेको सुशीलले बताए। जे सोचेर गाउँ पसेका थिए त्यो त भएन तर उनलाई गाउँले यस्तो कुरा दियो जसको खोजीमा उनी थिए। जुन कुरा उनले लाखौँ खर्च गरेर पनि सहरमा पाउन सक्थेनन्। अभिनय गर्दिनँ भनेर गाउँ पसेका सुशीललाई गाउँले अभिनय सिकायो। 

पर फाँटफाँटै बग्ने लिखु खोलाले बग्न सिकायो। हजारौँ वर्षदेखि जस्ताको त्यस्तै उभिएका पहाड, हरेक वर्ष पात फेर्ने रुख, अनि आफैंले लगाएका मौसमी तरकारीबाट पनि उनले केही न केही सिके। जुन अमूल्य थियो। 

‘असफलताले गर्दा पात्रसँग मात्र होइन‚ जीवनसँग पनि नजिक हुन सिकायो‚’ उनले आफूले भोगेका कुरा यसरी सुनाए, ‘गाउँमा बस्न थालेपछि मेरो कमजोरी के केमा रहेछ भन्ने थाहा हुँदै गयो। मैले पढेको कुरा के रहेछ भन्ने रिलेट गर्दै गएँ। हामीले पढ्ने पात्र बिउ हो भन्छौँ। त्यो बिउ हो भने त्यसलाई कसरी उमार्नुपर्छ? कसरी स्याहार्नुपर्छ? कसरी छाँट्नुपर्छ भन्ने कुरा कृषि गर्न थालेपछि बुझ्दै गएँ।’

गाउँमा वल्लो डाँडा पल्लो डाँडामा बस्ने मानिसबीचको निकटता देखेर सुशीलले काठमाडौंमा एउटै घरमा बस्नेहरूबीच दूरी सम्झिए। गाउँ बस्न थालेपछि उनी प्रकृतिसँग अझ नजिक भए। आफ्ना धेरै अनुत्तरित प्रश्नको उत्तर प्रकृतिबाटै पाए। जति अभिनयका कक्षाहरू उनले पढे आफैंभित्रबाट नआएसम्म त्यो सबै कुराको कुनै अर्थ छैन भन्ने पनि उनले बुझे। त्यसपछि आफ्नो लागि आफ्नै मेथड पत्ता लगाए। 

चिसो एष्ट्रे र विक्की भेजा

एक्टिङका धेरै क्लास लिइसकेर, आधा दर्जनभन्दा बढी फिल्म खेलिसक्दा उनले जति बुझेका थिए, एक्टिङलाई लिएर उनको बुझाइ फरक भइसकेको थियो। तर, आफ्नै मेथड प्रयोग गर्दा काम कस्तो निस्किन्छ भन्ने चाहिँ उनलाई थाहा थिएन।

त्यस्तैमा उनलाई चिसो एष्ट्रेमा विक्की भेजाको रोलका लागि अफर भयो। फिल्मको स्क्रिप्ट मन परेपछि उनले पनि गर्ने नै भन्ने सोचे। तर, फिल्मको छायांकन सुरु हुनुभन्दा चार दिनअघि फोन गरेर म यो फिल्म गर्न सक्दिनँ भने। 

‘क्यारेक्टर जति नजिकबाट भेटियो त्यति डर लाग्न थाल्यो। त्यो क्यारेक्टर र तिमीमा सिमिल्यारिटी नभएको बेला झन् गाह्रो हुँदो रहेछ‚’ उनी भन्छन्, ‘चिसो एष्ट्रेमा मैले गर्ने क्यारेक्टर विक्की भेजा थियो। जो एकदमै साइको छ। एकदमै एक्टिभ माइन्डेड। रियल लाइफमा त म त्यस्तो साइको छैन। त्यो जोनमा छिरेपछि ब्याक हुन गाह्रो हुनेवाला थियो। मुभि सकिएपछि त म एउटा सामान्य मान्छे हो। आमा बाबुको छोरा, एउटा श्रीमान, एउटा बाबु बनेर बस्नु छ नि त। यहाँ पनि त्यो क्यारेक्टर आयो भने त गाह्रो हुन्थ्यो।’

तर‚ टिममै रहेका प्रविन स्याङ्बोले उनलाई सम्झाए। ‘प्रोडक्सन टिममै रहेका साथी प्रविन स्याङ्बोले तिमीसँग ब्याक हुनका लागि यस्तो राम्रो लाइफ छ‚ जुन अरु एक्टरसँग छैन‚’ सुशीलले भने‚ ‘डर लागे पनि एक पटक आइदेउ न त। शुट सकिएपछि सिधै आफ्नो फार्म हाउस जाउ, कृषि गर, त्यहीँ सबै निकाल। एक न एक दिन त त्यसले छोड्छ। भने त्यसपछि बल्ल गएँ।’

फिल्मको छायांकन तीन चार महिनामा सकियो। तर‚ विक्की भेजा आफूबाट सजिलै निस्किन नमानेको सुशील बताउँछन्।

‘फिल्मको शुट सकिएको सात आठ महिनासम्म पनि मलाई विक्की भेजाको साइकोनेसले हानिराख्यो। त्यो बेलामा खेतबारी खनेँ, तरकारी गोडेँ, कुखुरालाई दाना हालेँ‚’ उनले भने‚ ‘यसअघि काम गर्दा क्यारेक्टरमा यतिसम्म डुबेको थिइनँ। ग्राफ बनाउँदा लास्टमा गएर हो कि हो कि सम्म पुग्थ्यो। तर‚ यही हो भन्ने भएको थिएन। चिसो एष्ट्रेमा पहिलो पटक मेरो क्यारेक्टर यही नै हो, योभन्दा दायाबाया तलमाथि कतै होइन भन्ने भयो।’

तर, एउटा फिल्म, फिल्ममा कलाकारले गरेको काम कलाकार आफैं अथवा फिल्मका निर्देशकले भन्दा पनि दर्शकले कसरी लिन्छन्, कत्तिको मन पराउँछन् भन्ने कुराले अर्थ राख्ने उनको भनाइ छ। त्यसैले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकको प्रतिक्रियालाई लिएर अलिअलि डर भने लागिरहेको सुशील बताउँछन्।

चौतारी खाजा घर

जीवन र अभिनयलाई लिएर उनको बुझाइ अझै फराकिलो भएको थियो। तर‚ यथार्थमा जीवन बाँच्नु पनि थियो। ‘चिसो एष्ट्रे सकिएपछि अष्ट्रेलिया जाने तयारीमा थिएँ‚’ उनले भने‚ ‘सबै कन्फर्म भएपछि भो नजाउँ अझै एउटा ट्राइ गरौँ भन्ने भयो अनि। यहीँ बस्ने निर्णय गरेँ।’ 

जसरी आफ्ना हरेक असफल फिल्मबाट उनले केही न केही सिके। त्यसलाई चिसो एष्ट्रेमा त्यसको प्रयोग गरे। त्यसरी नै फेल भएको कुखुरा फार्मबाट टिनको छाना, जाली, ढोकालगायतका सामान निकालेर आफैं चौतारी खाजा घर बनाउन कस्सिए। 

‘सबै पहिले नै युज भएका सामान राखेर यो बनाएको हो‚’ सुशीलले सुनाए‚ ‘छानो, डन्डी, झ्यालहरू कुखुरा फार्मबाट झिकेर यता हालेको हो। केही घरमा फालिएका सामान ल्याएर हालेको हो।’

एक वर्षअघि सानो टहरोबाट सुरु गरेको चौतारी खाजा घर अहिले २५, ३० जना बस्न मिल्ने बनेको छ। नयाँ छानोले चैतको हुरी देखेको छैन। लामो समयपछि चैत मै उनको फिल्म पनि आउँदैछ। त्यसैले चैत आफ्नो र चौतारी खाजा घर दुवैको लागि एउटा परीक्षा रहेको उनी मान्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.