'अनुदान भन्दै सधैँ झोला बोकेर हिँडे गाई-बाख्रा भोकले मर्छन्'
'अनुदान भन्दै सधैँ झोला बोकेर हिँडे गाई-बाख्रा भोकले मर्छन्'
दाङ : रुकुमका प्रकाश जिएम र दाङ तुलसीपुरका शिवराज ढकाल र निर्मल खरेलले तुलसीपुर उपमहानगरपालिका ३ सिस्नेरीमा करिब डेढ करोडको लागतमा विगत ३ वर्षदेखि उन्नत जातको गाई फर्म सञ्चालन गर्दै आएका छन्।
करिब ४ वर्ष ओमनमा वैदेशिक रोजगारीका सिलसिलामा उनीहरू सँगै बसेका थिए।
ओमनबाट नै उनीहरूले सल्लाह गरी अब आफ्नो ठाउँमा केही गर्नुपर्छ, भनेर नै ९ वटा गाईबाट नेप्लिज गाई फर्म सञ्चालन गरेका थिए। फर्म सञ्चालन गरेको वर्ष कोरोना महामारीले गर्दा लकडाउन हुँदा धेरै मार खेपेको सञ्चालक जिएमले बताए।
५० वटा गाई, दैनिक ३०० लिटर दूध
उनले भने, 'सुरुको वर्ष लकडाउन हुँदा दूध बिक्री नहुँदा धेरै घाटा भयो। दोस्रो वर्ष पनि लकडाउनले गर्दा अझ धेरै नोक्सानी खेप्नुपर्यो। दोस्रो लकडाउनको समयमा गाईको बिमा सकिएको थियो। अनि बिरामी भएर ४ वटा गाई मरेर लाखौँ क्षति भयो। एउटा गाई ९० हजारदेखि एक लाख ४५ हजार मूल्य परेका थिए।’
उनीहरूको फर्ममा अहिले उन्नत जातका ठूला ३४ वटा र अन्य बाच्छीहरू गरी ५० वटा गाईहरू रहेका छन्।
अहिले करिब दैनिक ३ सय लिटर दूध उत्पादन हुँदै आएको उनले बताए। उनका अनुसार उत्पादन भएको दूध बजारमा ५१ रुपैयाँ लिटरमा बिक्री हुँदै आएको छ। अहिले मासिक साढे ३ लाख आम्दानी गर्दै आएको भएयता पनि त्यसको आधा खर्च गाईको लागि हुने गरेको उनको भनाइ छ। त्यस्तै बाँकी बचेको पनि काम गर्ने व्यक्तिलाई, जग्गाको भाडा र बैंकको किस्ता तिर्दा नै सकिने गरेको उनको भनाइ छ।
गाई फर्मको नाममा करिब ८ कठ्ठा जमिन रहेको र अन्य करिब ५ बिगाहा एक कठ्ठाको २५ सय वार्षिक तिर्ने गरी भाडामा लिएर विभिन्न किसिमको घाँस खेती गर्दै आएको उनले बताए। उनले भने, ‘अहिले दैनिक ३ सय लिटर उत्पादन हुने गर्दछ। गाई फर्म खोलामा रहेको छ। यहाँबाट बजारमा दूध बिक्री गर्नको लागि हामीलाई समस्या उतिकै रहेको छ। बाटो कच्ची रहेको छ। पानी परेमा दूध लैजान धेरै समस्या हुन्छ।’
कतैबाट सहयोग नपाएको गुनासो
त्यस्तै उनले किसानहरूलाई विभिन्न अनुदान दिँदै आएको भए तापनि आफूहरूले कतैबाट सहयोग नपाएको गुनासो गरे। ‘हामीले विभिन्न ठाउँमा सहयोगको लागि पहल गर्यौँ। तर, अहिलेसम्म पाएका छैनौँ,’ उनले भने, ‘अनुदान दिने ठाउँमा जाँदा साना फर्महरूको लागि मात्र थोरै रकम छ, भन्नुहुन्छ। फेरि हामीलाई सानो अनुदानको पनि काम छैन्।’
यसैगरी, उनले आफूहरूले करोडौँको लगानी गरेर दूध उत्पादन गरेको भए तापनि दूधको मूल्य भनेजस्तो नपाउँदा समस्या रहेको भन्दै आफूहरूले आफ्नै डेरी उद्योग सञ्चालन गर्ने योजना बनाए पनि आर्थिक समस्या रहेको सुनाए।
उनले पहिलो लकडाउनको एक लिटर पनि दूध बिक्री नभएको र दोस्रो लकडाउनका ४५ रुपैयाँ लिटरमा बिक्री गरेको बताउँदै आफूहरूले डेरी सञ्चालन गर्न सके त्यसरी समस्या नहुने बताए।
सरकारको अनुदानमा पहुँचै पुग्दैन
त्यस्तै, तुलसीपुर ३ पातुखोला नजिकै मनबहादुर केसीले पनि १ करोडको लगानीमा उन्नत जातका बाख्रा व्यवसायिक रुपमा पाल्दै आएका छन्।
गोतामे बाख्रा फर्म दर्ता गरी उनले चार वर्षदेखि सुरु गरेको व्यवसायमा अहिले ११५ वटा साना ठूला बोयर जातका बाख्राहरू रहेको उनले बताए।
उनले भने,‘ हामीले ५० लाखको लगानीमा यो बाख्रापालन व्यवसाय गरेका हौँ। अहिलेसम्म लगानी गर्दा करिब एक करोड पुग्यो, होला। अहिलेसम्म हामीले कतैबाट सहयोग पाएका पनि छैनौँ। माग्न गएका पनि छैनौँ।’ सरकारले त अनुदान दिएको हुन्छ। तर, त्यो हाम्रो पहुँचमा हुँदैन्। अनुदानको लागि झोला बोकेर हिँड्न सकिँदैन उता जाने हो, भने पनि यहाँ बाख्राले घाँस खान पाउँदैन।’
अहिले आफ्नो फर्ममा ८७ प्रतिशत सम्मका बोयर जातका बाख्राहरू रहेको उनको भनाइ छ। उनका अनुसार अहिले बिक्री गर्न तयार भएका ३० वटा रहेका छन्। ५० प्रतिशतका जिउँदोलाई प्रतिकिलो १२ सय, ७५ प्रतिशतलाई १५ सय र ८७ प्रतिशतलाई २ हजार रुपैयाँ किलोमा बिक्री गर्ने गरेको उनले बताए।
त्यस्तै, गत वर्ष करिब २५ लाख बराबरको बिक्री गरेको भन्दै अहिले बाख्रामा माग धेरै हुने गर्दा पुर्याउनै नसकेको उनको भनाइ छ।
त्यस्तै, केसीले बाख्रासँगै उन्नत जातका गाई पनि पाल्दै आएका छन्। उनले दैनिक करिब एक सय लिटर दूध उत्पादन गर्दै आएको बताए। त्यस्तै, उनले आफूले उत्पादन गरेको दूध डेरीमा बिक्री गर्दै आएको भन्दै आफूहरूले सही मूल्य नपाएको गुनासो गरे।
राज्यले वास्तविक किसान नचिन्दा दु:ख लाग्छ
उनले भने, ‘हामी जस्ता किसानले लाखौँ, करोडौँ खर्च गरेर कृषि व्यवसाय गरेका हुन्छौँ। तर, हामीले राम्रो मूल्य कहिँले पाउँदैनौँ। किसानलाई काम गर्न समस्या छ। तर, राज्य वास्तविक किसानलाई हेर्दैन। राज्यबाट सहयोग पाउनको लागि पहुँचको हुनुपर्छ।’
त्यस्तै, राप्ती गाउँपालिका ४ मौरीघाटमा शंकर गौतमले पनि सुरभी दुग्ध उत्पादन तथा कृषि विकास प्रालि करिब ९ वर्षदेखि सञ्चालन गर्दै आएका छन्। प्रालिमा अहिले सानो, ठूलो गरी ७० वटा उन्नत जातको गाईहरू रहेको उनले बताए।
अहिलेसम्म करिब ४ करोड लगानी भएको र करिब ८ बिघा जमिन भाडामा लिएर शुरु गरेको समेत उनले बताए।
४ करोड लगानीमध्ये २ करोड बैंकबाट ऋण लिएको समेत उनले बताए। त्यस्तै, उनले शुरुमा प्रतिदिन ३ सय लिटर दूध उत्पादन हुने र बजारमा बिक्री नहुँदा धेरै समस्या भोगेको भन्दै उनले पछि डेरी उद्योग नै सञ्चालन गरेपछि सहज भएको बताए।
अहिले दैनिक १५० लिटर दूध उत्पादन भइरहेको र यसलाई अब करिब ६ सय लिटर बढाउने योजना रहेको र स्थानीय किसानहरुले उत्पादन गरेको गरी करिब ६ लिटर दुध खरिद गरी बिक्री वितरण गर्ने गरेको उनले सुनाए।
त्यस्तै, उनले अहिलेसम्म आफूहरूले कुनै पनि निकायबाट अनुदान नलिएको भन्दै राज्यले दिने अनुदान किसानमुखी नहुँदा समस्या भएको बताए। उनले भने, ‘अहिले सरकारले अनुदान दिनको लागि सूचना प्रकाशन गरेको छ। ६ हजार लिटर दूध दैनिक उत्पादन गर्नेको लागि दिने भएको छ। दाङ मात्र नभई साबिक राप्तीका ५ जिल्लामा कसैले पनि ६ हजार लिटर दूध उत्पादन गर्ने किसान छैन। त्यसैले यस्ता अनुदान किसानमुखी हुँदैन, र किसानले पाउँदैन्।’
त्यस्तै, उनले उन्नत जातको गाईसँगै बोयर जातको बाख्रापालन पनि शुरु गरेको भन्दै उनले अहिले ७० वटा साना, ठूला बोयर जातका बाख्रा रहेका छन्।
त्यस्तै, आफ्नो प्रालिका प्रत्यक्ष रुपमा १६ जनालाई रोजगारी दिएको र अन्य सीजनको समयमा वार्षिक रुपमा ३ सय जना जति व्यक्तिलाई रोजगारी दिँदै आएको समेत बताए।
त्यस्तै, उनले राज्यले किसानहरूलाई माथि उठाउनको लागि अनुदानमा भन्दा पनि विना झन्झट सहुलियतमा बैंकबाट ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताए।
त्यस्तै, बजारीकरणको लागि प्रशासनबाट बिना झन्झट राज्यले आफ्नो लक्ष्यसम्म जान दिने व्यवस्था गर्नुसमेत उनले सुझाव दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।