|

म्याग्दी : बेनी नगरपालिका-२ मा पर्ने करिब ६ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोट पुग्नका लागि भकुण्डे र कन्थराजथानबाट दुईतर्फी पदमार्ग निर्माण गरिएको छ।

पदमार्ग,प्रवेशद्वार लगायतका पूर्वाधार निर्माण हुन थालेपछि ज्यामरुककोटस्थित खड्गभवानी परिसर सबैको आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ।

विगत दुई वर्षयता धमाधम विकासका पूर्वाधारहरू निर्माण भइरहेका छन्। बेनी नगरपालिका,गण्डकी प्रदेश सरकार र खड्गभवानी कोष व्यवस्थापन समितिको संयुक्त पहलमा पदमार्ग निर्माण, प्रवेशद्वार निर्माण, घेराबार, विभिन्न देवी-देवताका मन्दिर निर्माण ,टेलिकमको फोरजी टावर निर्माण लगायतका पूर्वाधारहरू निर्माण भएपछि पहिला सुनसान देखिने यो स्थल अहिले सबैलाई आकर्षित गर्न सफल भएको छ।

भकुण्डेदेखि खड्गभवानी कोत जोड्ने पक्की सिँढीसहितको २५० मिटर पदमार्ग निर्माण गरिएको हो। गण्डकी प्रदेशको उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३५३ वटा सिँडीसहितको पदमार्ग निर्माण भएपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल खड्ग भवानी कोत पुग्न सहज भएको छ।

आव २०७५-७६ मा मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत प्राप्त १४ लाख ९९ हजार ४८६ र उपभोक्ताको तीन लाख २१ हजार बराबरको श्रमदानमा उक्त पदमार्ग निर्माण भएको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापाले बताए।

पदमार्ग निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले दुई मिटर फराकिलो पदमार्गको १९० मिटर दुरीमा फलामको रेलिङ राखिएको जानकारी दिए। पदमार्ग निर्माण भएपछि उकालो बाटोमा सहज र सुरक्षित रुपमा हिँड्डुल गर्न सकिनुका साथै पर्यटकको समेत आवागमन बढ्ने स्थानीय हरि घिमिरेले विश्वास व्यक्त गरे।

त्यसैगरी, कन्थराज थानदेखि खड्गभवानी कोतसम्म जाने २ सय ४० मिटर पदमार्ग पनि निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक लगानीमा सो पदमार्ग निर्माण भएपछि अव दुईतिरबाट नै खड्गवानीकोतमा पुग्न सजिलो भएको खड्गभवानी गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए।

खड्ग भवानी कोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, चुरेन लगायतका १५ वटाभन्दा बढी हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढि गाउँहरू, सूर्योदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहित प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सकिन्छ।

ऐतिहासिक,सामारिक,पुरातात्विक,पर्यटकीय, जैविक र साँस्कृतिक महत्वले युक्त ज्यामरुककोटमा पदमार्ग,मन्दिर,विद्युत,संचार लगायतका पूर्वाधारहरू निर्माण भएपछि अहिले यो ऐतिहाँसिक स्थल सबैको नजरमा परेको छ।

सदरमुकाम बेनीबजारदेखि करीव ४ किलोमिटरको दूरीमा अवस्थित ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावनाहरू रहेका छन्।

यहाँबाट धवलागिरि,निलगिरि माछापुच्छ्रे,चुरेन,गुर्जा लगायतका नौ वटा हिमशृङखलाका साथै दर्जनौँ गाउँ, वनजंगल र नदीहरूको नागबेली दृश्य देख्न सकिन्छ भने धौलागिरी र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारकासाथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ।

त्यसका साथै यहाँ १५ औँ शताब्दीको धार्मिक र ऐतिहासिक स्थल खड्ग भवानी कोट, ऐतिहासिक राजकुवा, मल्लकालीन हातहतियारलगायत प्रशस्तै प्राकृतिक र ऐतिहासिक सम्पदाहरू रहेका स्थानीय अगुवा भीमबहादुर पौडेलले बताए।

अहिले यहाँ गण्डकी प्रदेश,बेनी नगरपालिका र वडा कार्यालयको पहलमा कन्थराजको थान र वडा कार्यालयदेखि दुवैतर्फबाट पक्की पदमार्ग निर्माण भएको र सापकोटा बन्धुहरूले आकर्षक दुर्गाभगवती मन्दिर निर्माण गरेका खड्गभवानी कोत पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले बताए।

ज्यामरुककोटको इतिहाँस विसं १५७२ सालदेखि शुरु हुन्छ। सोही सालमा ज्यामरुककोटका अन्तिम शासक भर्तिबम मल्ललाई आफ्नै सौतिला दाजु तत्कालीन मल्लाजी राजा डिम्बबम मल्लले आक्रमण गरेर ज्यामरुककोट कब्जा गर्न खोज्दा ‘दिए पनि खान्न, धपाए पनि जान्न, ज्यान गए जाला, ज्यामरुककोट छोड्दिन’ भनेर अड्डी लिएपछि ज्यामरुककोट हत्याउन दाजु डिम्बबमले भाइ भर्तिबमको हत्या गरेका थिए।

यहाँ रहेको (खड्गभवानी कोत) का दुर्लभ हातहतियार र अभिलेखहरूले यस ठाउँको ऐतिहासिक महत्वलाई स्पष्टसँग उजिल्याउँछ। यस कोतमा ५७४ वर्ष पहिलेका मल्ल र थापा राजाहरूका अभिलेख रहेका छन्।

ज्यामरुककोटमा विसं १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका थिए। विसं १५४५ को भदौ महिनामा थापाहरूको पुख्र्यौली थलो मानिएको ताकम डिम्बबमले कब्जा गरेपछि थापा राज्यको अन्त्य भएको थियो।

अहिले यहाँ पिकनिक खाने,दृश्यावलोकन गर्ने,पूजा पाठ गर्ने र ज्यामरुककोटको ऐतिहाँसिकताको खोज अनुसन्धान गर्ने व्यक्तिहरूको आगमन बढ्दै जान थालेको बेनी वडाअध्यक्ष थापाले बताए।

खड्ग भवानी कोतस्थललाई राजधानी बनाइ वि.सं १२४६ देखि १५४५ सम्म थापाहरू र त्यसपछि मल्ल राजाले ज्यामरुककोटमा राज्य गरेका थिए। यस कोतमा ५७४ वर्ष पुराना अभिलेख, हतियार र पुरातात्विक महत्वका सामग्री रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.