|

काठमाडौं : जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको काम ५८ प्रतिशत पूरा भएको छ।

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले ३ हजार ८०५ मिटर लम्बाइ भएको मुख्य सुरुङमध्ये २ हजार ८६५ मिटर खनिएको जानकारी दिए। आयोजनाको निर्माण २०८० असोजभित्र सम्पन्न गर्ने लक्ष्यसाथ धमाधम काम भइरहेको उनले बताए।

‘सतही विद्युत् गृह खन्ने कार्य सम्पन्न भई संरचनाहरूको कंक्रिटिङ सुरु भएको छ‚’ गौतमले भने‚ ‘इलेक्ट्रोमेकानिकल उपकरण र पार्ट्सहरुको जडान गर्दै पहिलो चरणको कंक्रिटिङ आउँदो जेठसम्म सक्ने लक्ष्यकासाथ काम भइरहेको छ।’

कोरोना महामारीक कारण बन्द भएका चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा समयमै काम पूरा गर्न समस्या भएको उनको भनाइ छ।

‘ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामाग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको थिएन,’ गौतमले भने‚ ‘केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरणहरु ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासबाट अब छिट्टै भन्सार नाकाबाट छुट्ने जानकारी पाएका छौं।’

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २०७४ माघ २९ मा ठेक्का सम्झौता भएको थियो। ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा सञ्चालन गर्ने छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रायाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन। माथिल्लो त्रिशूली ३ एको विद्युत् गृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ।

उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द«टार–त्रिशूली ३ वीहब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ।

सेयरबापतको बाँकी रकम छिट्टै संकलन

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निष्कासन गरेको सेयर बापतको बाँकी रकम छिट्टै संकलन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता सेयर निष्कासन गरी प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो।

जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.