|

दाङ : तुलसीपुर उपमहानगरपालिका-१९ स्यालापानीकी आइती विकको घर खरले छाएको छ। उपमहानगरपालिकाले खरको विस्थापित गरी जस्तापाता दिने भनेकाले पटकपटक निवेदन दिइसकेकी छन्। तर‚ अझै पाएकी छैनन्। अहिले त उनको आशा पनि मरेको छ।

‘वडाले फोहोर साल जस्तापाता दिन्छ भनेकाले हामीले दुई तीन पटक निवेदन दिएका थियौँ‚’ आइतीले भनिन्‚ ‘तर, अहिलेसम्म पाएनौँ। अब पाइएला जस्तो लाग्दैन।’

स्यालापानीका करिब १५ घरमा खरको छानो छ। जस्तापाताका लागि उनीहरू उपमहानगरपालिका र वडा कार्यालयमा पटकपटक धाए। तर‚ जस्तापाता नभएको भन्दै खाली हात पठाएको उनीहरूको गुनासो रहेको छ।

स्थानीय गीता रावतले वडा कार्यालयले एक/दुई घरलाई जस्तापाता दिए पनि आफूहरूले अहिलेसम्म नपाएको गुनासो गरिन्।

‘जनप्रतिनिधिहरूले तपाईँहरूको खरको छाना हटाएर जस्तापाताको छाना बनाइ दिन्छौं भन्नुभयो,‘ उनले भनिन्, ‘त्यो सुन्दा दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने हामीले जस्तापाताको छाना पाउने भएपछि धेरै खुशी भयौं। त्यसका लागि वडा तथा उपमहानगरमा गयौँ। तर, अहिलेसम्म पाएनौँ।’

गीताका अनुसार अहिले जनप्रतिनिधिहरू जस्तापाता दिने कुरामा आफ्नो हात नभई प्रदेश सरकारको हात रहेको भन्दै टार्ने गरेका छन्। भोट माग्दा घरघरमा नमस्कार गरेर माग्ने जितिसकेपछि जनतालाई बेवास्ता गर्ने गरेको उनको गुनासो छ।

‘पहिलो पनि हामीले पार्टी नहेरी राम्रो व्यक्ति हेरेर भोट दिएका थियौँ। तर, उनीहरूले अहिलेसम्म हाम्रो कुरा सुनेनन्‚’ उनले भनिन्‚ ‘भोट माग्दा घरमा आएर नमस्कार गर्नेहरू अहिले हामीले उल्टै नमस्कार गर्दा हामीलाई चिन्नु हुन्न।’

सोही ठाउँकी जयकला रावत पनि जस्तापाताका लागि पटकपटक वडा र उपमहानगर कार्यालय धाउँदा समेत नपाएको बताइन्। ‘मैले पनि धेरै पटक जस्तापाताका लागि धाएँ। तर, अहिलेसम्म पाइनँ‚’ उनले भनिन्‚ ‘पहिला वडामा फाराम भरें। त्यहाँबाट पनि पाइएन। उपमहानगर कार्यालयमा फाराम भर्न पठाइयो। त्यहाँबाट पनि पाइएन।’

उनले आफूहरूलाई धेरै पटक आश्वासन मात्र दिएको गुनासो गरिन्। ‘पहुँच हुनेले जस्तापाता पाए‚’ जयकलाले भनिन्‚ ‘हाम्रो पहुँच नहुँदा हामीले नपाएको जस्ता लाग्छ।’

त्यस्तै‚ उनले अहिले वडा तथा उपमहानगरपालिका कार्यालयले आफूहरूलाई आफ्नै लगानीमा जस्तापाता लगाउन आग्रह गरेको र त्यो जस्तापाता लगाएको फोटोसहित कागजपत्र पेश गरे पैसा दिने भनेर भन्दै आएको समेत बताइन्।

‘५० हजार रूपैयाँसम्मको घरमा आफ्नै लगानीमा जस्तापाता लगाउनु भन्ने गरेको छ। हामीसँग ५० हजार भएको भए किन हामी उपमहानगरसँग सहयोग माग्न जान्थ्यौँ होला‚’ जयकालले भनिन्‚ ‘हामीहरुको आर्थिक अवस्था कमजोर भएका कारणले त खरको छाना लगाएका हौं। अरुलाई पहिला जस्तापाता दिने, तर हामीले लगाएपछि मात्र भुक्तानी दिने यो कस्तो काम हो!’

दाङका सबै स्थानीय तहले आफ्नो ठाउँलाई खरको छानामुक्त बनाउने अभियान चलाएका छन्। तर, अहिलेसम्म कुनै स्थानीय तह खरको छानामुक्त भएका छैनन्।

घोराही उपमहानगरपालिकाका नागरिकले पनि जस्तापाता नपाएको गुनासो गरेका छन्। जस्तापाताको लागि पहल गरे पनि अहिलेसम्म नपाएको  घोराही-११ का कालु कामीले बताए।

जस्तापाताकf लागि वडा कार्यालयमा निवदेन दिएको लामो समय हुँदा पनि नपाएको उनले गुनासो गरे। उनले आफ्नो गाउँमा दुई/चार घरले मात्र आफ्नो लगानीमा जस्तापाता ल्याएर लगाएको बताउँदै करिब २२ घरमा खरको छानो रहेको बताए।

तुलसीपुरमा हालसम्म एक हजार ५३५ घर खरको छानोमुक्त भएका छन्। उपमहानरले गरेको सुरक्षित आवास कार्यक्रमअन्तर्गत ७१९ घर र केन्द्र सरकारबाट आएको सुरक्षित नागरिक आवस कार्यक्रम अन्तर्गत ८१६ वटा घर खरको छानो मुक्त भएको उपमहानगरले जनाएको छ।

तुलसीपुर-१९ मा पनि करिब डेढ सय घरमा जस्तापाता लगाएको भए पनि अझै १०० भन्दा बढी घरमा खरको छाना रहेको वडाध्यक्ष रामबहादुर योगीले बताए। उनले आर्थिक अभावले खरको छानामुक्त अभियान पूरा गर्न नसकेको बताए।

पहिला वडा तथा उपमहानगर कार्यालयले जस्तापाता दिएको भए पनि अहिले प्रदेश सरकारबाट नै बजेट आउने भएको र बजेट नआउँदा समस्या भएको वडाध्यक्ष योगीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.