|

मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ संशोधनसँगै नेपालमा अंगदान गर्न केही सहज भएको छ। ऐन संशोधनसँगै अंग साटासाट गर्न मिल्ने र ‘ब्रेन डेथ’ भएकाको अंग समेत दान गर्ने बाटो खुलेको छ।

नेपालमा प्रत्यारोपण दर राम्रो रहे पनि ब्रेन डेथ भएकाको अंग दान गर्ने संख्या भने कम छ। किन यस्तो भइरहेको छ? ब्रेन डेथ भनेको के हो भन्ने विषयमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक तथा प्रयारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसँग थाहाखबरकर्मी सबिना खनालले गरेको कुराकानी :-

ब्रेन डेथ भनेको के हो? पछिल्लो समय नेपालमा ब्रेन डेन भएर अंग दान गर्नेहरूको अवस्था कस्तो छ?

मस्तिष्कको उपचार फेल भएमा अर्थात् मस्तिष्कले गर्ने सम्पूर्ण काम बन्द भई रिसिभ अनि रेस्पोन्स गर्न छाडेपछि पनि शरीरका अन्य अंगले केही समय काम गरिरहेका हुन्छन्। यसरी मस्तिष्कले काम नगरेको अवस्थामा पनि शरीरका केही अंगले काम गरिरहेको अवस्थालाई मस्तिष्कको मृत्यु अर्थात् ‘ब्रेन डेथ’ भनिन्छ।

विशेषगरी सडक दुर्घटना या मष्तिष्क पक्षघातका कारण ब्रेनडेथ हुन्छ। मष्तिष्कघात, उच्चरक्तचाप, मधुमेहका कारण पनि रगतको नसाहरू छुटेर मष्तिष्कघात हुनसक्छ। मष्तिष्कघातको उपचार सफल भएन भने बिरामीको ब्रेनडेथ हुन्छ। मष्तिष्क र मेरूदण्ड जोड्ने बीचको भागलाई ब्रेन स्टिम भनिन्छ, ब्रेन स्टिम डेथ नै ब्रेनडेथ हो।

मस्तिष्कको उपचार फेल भएमा अर्थात् मस्तिष्कले गर्ने सम्पूर्ण कार्य बन्द भई रिसिभ अनि रेस्पोन्स गर्न नसकेको अवस्थामा पनि शरीरका अन्य अंगले केही समय काम गरिरहेका हुन्छन्। यस्तो अवस्थामा ब्रेनडेथ भएको केही समयसम्म पनि दुईवटा मिर्गौला, दुई वटा फोक्सो, कलेजो, प्यानक्रियाज, सानो तथा ठूलो आन्द्राले काम गरिरहेको हुन्छ। यस्तो अवस्थामा जतिसक्दो चाँडै अंग झिक्न सकियो भने उतिनै राम्रो अंग निकाल्न सकिन्छ। अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ।

तर‚ हाम्रोमा ब्रेन डेथ भएका व्यक्तिको अंग झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्ने सम्बन्धमा नियमावली आएको पाँच वर्ष भइसकेको छ। यसबीचमा ब्रेनडेथ भएका तीनजना व्यक्तिको मात्रै अंग दान गरेको रेकर्ड छ। उक्त ब्रेनडेथ भएर दान गरेको अंगमध्ये मिर्गौला र कलेजो गरी ६ जनामा प्रत्यारोपण गर्न सफल भइएको छ।

ब्रेनडेथ भएकाहरूको अंग दान गर्ने कम हुनको कारण के होला?

एक जना मस्तिष्क मृत्यु भएको बिरामीले जीवन र मरणको दोसाँधमा रहेका सातजनासम्म मानिसलाई नयाँ जीवन दिन सक्छ। ब्रेनडेथ भएका व्यक्तिबाट समयमा नै अंग झिक्न सकियो भने मिर्गौला, फोक्सो,  कलेजो,  प्यान्क्रियाज, सानो आन्द्रा, आँखाको नानी तथा छाला दान गरी अर्को व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ।

तर‚ हाम्रोमा मृत्यु भएपछि अंग झिक्न हुँदैन भन्ने परम्परा रहेकाले पनि अंग दान गर्ने गरेको पाइएन। अझै धेरैमा ब्रेनडेथ भएपछि पनि बाँच्छ भनेर आफन्तहरूले लामो समयसम्म भेन्टिलेटरमै राखेर उपचार गरेको पाइन्छ। तर‚ ब्रेन डेथ भनेको मेडिकल्ली मानिसको मृत्यु भइसकेको हो।

अर्को कुरा हाम्रोमा अंग दान धेरै नहुनुको मुख्य कारण हाम्रो सामाजिक संस्कार पनि हो। धेरैमा मृत्यु भइसकेपछि अंग झिक्नु हुँदैन भन्ने हाम्रो सामाजिक मान्यता रहेछ। जसले गर्दा पनि हाम्रोमा अंग दान सोचे अनुरुप हुन सकेको छैन। चिकित्सकीय जनशक्तिमा पनि अंगदानबारे व्यावहारिक ज्ञानको कमी छ।

नेपालमा शरीरको अंग फेल भएर प्रत्यारोपण गर्नुपर्ने बिरामी कति छन्?

पछिल्लो समय नेपालमा मिर्गौलाका बिरामीहरू बढ्दै गएका छन्। सोहीअनुसार मिर्गौला फेल भएर प्रत्यारोपण गर्नुपर्ने बिरामी पनि बढ्दै छन्। मिर्गौला फेल भएर प्रत्यारोपणका लागि लामो समयसम्म कुरेर बस्नेहरू धेरै छन्। परिवारका आफन्तले अंग दिएर प्रत्यारोपण गर्न मिल्ने भए पनि सबै आफन्तको मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने पनि हुनसक्छ। जसले गर्दा नेपालमा अंग प्रत्यारोपणको आवश्यकता र आपूर्तिबीचको ठूलो खाडल देखिन्छ। जसको प्रमुख कारण अंगदाता नपाउनु नै हो।

त्यसैले हाम्रो देशमा ब्रेनडेथबाट हुने अंग दानको महत्त्व धेरै छ। विकसित मुलुकमा हुने कुल प्रत्यारोपणको ८० प्रतिशतभन्दा बढी अंग ब्रेनडेथ भएका व्यक्तिबाट प्राप्त हुन्छ। सडक दुर्घटना त्यहाँ पनि हुन्छ। तर‚ यहाँ त्यहाँको तुलनामा यहाँ अझ बढी हुन्छ। नेपालमा बर्सेनि दुर्घटना वा अन्य कुनै रोगका कारण दुई हजारभन्दा बढीको ब्रेनडेथ हुने गरेको पाइन्छ। नेपालमा एक वर्षमा करिब २५ सय जनाको सडक दुर्घटनामा परी मृत्यु हुन्छ भन्ने छ। त्यसमध्येमा १ हजारजनाको मस्तिष्क मृत्यु हुन्छ भन्ने हाम्रो अनुमान छ। एक हजार मस्तिष्क मृत्यु भएकोमध्ये २०० जनाको मात्रै मिर्गौला दान गरे ४०० जनाको मिर्गौला प्रत्यारोपण हुने थियो। २०० जनाको कलेजो प्रत्यारोपण हुन्थ्यो।

ब्रेथडेथ भएका व्यक्तिको दुई वटा मिर्गौला, दुई वटा फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्यानक्रियाज गरी आठ वटा अंग जीवित शरीरमा प्रत्यारोपण गर्न सकिन्छ। तर‚ नेपालमा हाल मिर्गौला र कलेजो मात्रै प्रयोग गर्न सकिने अवस्था छ। एक हजार ब्रेनडेथ भएका व्यक्तिको दुई हजारवटा मिर्गौला र एक हजार कलेजो गरी मिर्गौला र कलेजोका तीन हजार बिरामीको ज्यान जोगिने थियो। तर‚ कानुनले बाटो खोले पनि हामीले यसलाई व्यवहारमा लागू गर्न सकिरहेका छैनौँ।

नेपालमा आँखाको दान चाहिँ धेरै सफल भएको पाइन्छ। तर‚ अन्य अंग दान गर्ने अवस्था भने खासै राम्रो छैन।

अंग दान गर्न वा ब्रेन डेथ भएपछि अंग दान गर्न के गर्नु पर्छ?

हाम्रोमा मृत्युअघि नै सम्बन्धित व्यक्तिले आफ्नो अंगदानको घोषणा गरेको हुनुपर्छ। यस्तो अवस्थामा उक्त व्यक्तिको ब्रेन डेथ भएर मृत्यु भए अंग झिक्न मिल्छ। यदि पहिले अंग दान गरिएको छैन तर ब्रेन डेथ भयो भने उक्त व्यक्तिको आफन्तले बिरामीको ब्रेनडेथ भएपछि अंगदान गर्न मञ्जुरी दिएको हुनुपर्छ। यी दुईमध्ये एक अवस्थामा मात्रै ब्रेनडेथ भएका व्यक्तिको अंग प्रयोग गर्न सकिन्छ।

ऐनले ब्रेनडेथ भएका व्यक्तिको अंग लिने सम्बन्धमा समन्वय गर्न शहीद धर्मभक्त अस्पताललाई समन्वय इकाई तोकेको छ। कुनै अस्पतालमा उपचाररत बिरामीको ब्रेनडेथ भयो भने उक्त अस्पतालले समन्वय इकाईलाई यसबारे जानकारी गराउनु पर्छ। बिरामीको परिवारलाई परामर्श गर्ने, ब्रेनडेथ भएको व्यक्तिको अंग प्रयोग गर्न मिल्ने/नमिल्ने जाँच गर्ने काम बिरामी रहेको अस्पतालले नै गर्नु पर्छ।

उक्त अस्पताल अंग निकाल्न सक्षम छ भने सोही अस्पतालले पनि अंग निकाल्न सक्छ। प्रत्यारोपणको सुविधा भएको अस्पतालमा बिरामीको ब्रेनडेथ भएको छ भने त्यही अस्पतालमा अंगप्रत्यारोपण गर्न पनि मिल्छ। अर्को कुरा हामीले ब्रेन डेथ भएर अंग दान गर्ने बिरामीको परिवार र ब्रेनडेथ भएर मृत्यु भएपछि अंग झिक्न सघाउने अस्पताललाई पनि केही आर्थिक सहयोग दिने गरेका छौँ।

ब्रेन डेथ भएको व्यक्तिबाट झिकिएको अंग कस्तो बिरामीले पाउँछ?

ब्रेन डेथ भएर अंग दान गरेका बिरामीहरूको अंग कसले पाउने भन्ने कुरा कानुनले नै निर्धारण गरेको छ। जसमा पहिले त ब्रेनडेथ भएका व्यक्तिको अंग कोसँग म्याच हुन्छ त्यो मुख्य कुरा हो। त्यसपछि आफू उक्त अंग लिन तयार रहेको भनी बिरामीले उपचाररत अस्पतालमा मञ्जुरीनामा दिनु पर्दछ।

मञ्जुरीनामा दिएका व्यक्तिहरूमध्ये पनि सबैभन्दा बढी समय अंगको पर्खाइमा बसेको, डाइलाइसिस धेरै समयदेखि गरिरहेको, ब्रेनडेथ भएका व्यक्ति र लिने व्यक्तिको उमेर समान भएमा अंग लिने व्यक्ति र ब्रेनडेथ भएका व्यक्तिको अंगको म्याचिङ राम्रो भए‚ ब्रेनडेथ भएका व्यक्ति महिला वा पुरुष जो भए पनि महिला पहिलो प्राथमिकतामा पर्ने गरी नियमावलीमा प्राथमिकता निर्धारण गरिदिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.