२८ किलोमिटर सडकखण्डको अहिलेसम्म जम्मा ७ प्रतिशत मात्र काम सकियो

|

दाङ : दुई लेनको तुलसीपुर–घोराही सडकखण्ड सडक चार लेनको बन्ने भएपछि यस क्षेत्रका बासिन्दा निकै खुशी भएका थिए। तर, करिब ३ वर्ष बितिसक्दा पनि चार लेन बन्नुको साटो भएकै सडक पनि बिग्रिएपछि  सर्वसाधारणले निकै सास्ती भोग्दै आएका छन्।

साँघुरो सडकमा गाडीको चाप बढिरहँदा चार लेन सडक निर्माण हुने कुराले धेरै खुशी भएको तुलसीपुर-१७ दुधरासका सागर अधिकारीले बताए। तर, उनले  निर्माण हुन लागेको ३ वर्ष हुँदा पनि सडकको अवस्था झन् बिग्रीएको भन्दै अहिले दुःखपूर्वक असुरक्षित यात्रा गर्नु परिरहेको बताए। 

उनले भने, ‘दुई लेनको सडक राम्रो हुँदा हामी घोराही आधा घन्टामा पुग्थ्यौँ। तुलसीपुर १५–२० मिनेटमा पुग्थ्यौँ। तर, अहिले चार लेन सडक निर्माण गर्ने भनेर सडक भत्कँदा घन्टौँ लाग्ने गरेको छ। सडकका कारण घोराही–तुलसीपुरबाट घरमा आउँदा पनि घरबाट ३/४ पटक फोन आउँछ। सडकका कारण घरपरिवारसमेत चिन्ता मान्ने गर्दछन्।’

उनले चार लेन सडकका कारण असुरक्षित यात्रा गर्नु परेको र परिवार पनि तनावमा हुने गरेको बताए। सडकका कारण समय मात्र नभइ मानसिक, शारीरिक र वातावरणमा समेत असर पुगेको उनको भनाइ छ। उनले नेताहरू संरक्षण गर्दा देशमा विकास निर्माणमा समस्या भइरहेको पनि आरोप लगाए।

तुलसीपुर-१७ कै स्थानीय डिल्ली अधिकारीले पनि तुलसीपुर–घोराही–लमही सडकखण्डले घोराही र तुलसीपुर उपमहानगरलाई जोड्ने सडक भएयता पनि समयमै नबन्दा धेरै नागरिकले अकालमै ज्यान गुमाएको र सास्ती भोग्दै आएको बताए। उनले भने, ‘यो महत्वपूर्ण शहरी सडक हो। यो सडक चार लेनको बन्ने सुनेर धेरै खुशी लागेको छ। तर करिब ३ वर्षसम्म पनि काम नहुँदा र भएको सडक पनि बिग्रिँदा अहिले दाङवासी मात्र नभई यस  सडकबाट बाहिर जाने विभिन्न पहाडी जिल्लाका बासिन्दालेसमेत सास्ती भोग्दै आएका छन्।’

उनले सडक निर्माण चार लेन भने पनि विभिन्न ठाउँका पुरानै दुई लेन र केही ठाउँमा चार लेन निर्माण गर्दा चार लेन भनाइ मात्र भएको पनि गुनासो गरे। सडक निर्माणका नाममा भएको सडकसमेत बिगारेर अहिले धुलो, धुँवासँगै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको आक्रोश उनले पोखे।

‘यो सडकले दुई उपमहानगर जोडेको छ,‘ उनले भने, ‘तर यहाँका जनप्रतिनिधिले यसतर्फ ध्यान दिएनन्। राजनीतिक प्रभावका कारण निर्माणमा ढिलाई भएको हो। राजनीतिक आडमा समय थप्दै जाँदा अहिलेसम्म सडक निर्माण भएन। अब त झन पेटी ठेकेदारसमेत पक्राउ परेका छन्। जसले गर्दा अब यो सडक बन्नेमा अन्योल बढेको छ।’

उनले राज्यले समयमै काम गर्न नसक्ने कम्पनीलाई कारबाही गर्नसमेत माग गरे। उनले भने, ‘अहिले यो कम्पनीले काम गर्न सकेन भनेर राज्यले अर्को कम्पनीलाई जिम्मा दिन्छ। पटक पटक ठेक्का दिँदा यसको लागत बढ्छ। काम गर्न नसक्ने कम्पनीलाई सरकारले कारबाही गर्नु पर्छ।’

पेटी ठेक्कामा दिँदा  समस्या

घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब २८ किलोमिटर सडक निर्माण ०७५ पुस १३ गते थालिएको थियो। मुम्बईको भारतीय कम्पनी तथ्य इन्जिनियरिङले १ करोड २१ लाख ८२ हजार अमेरिकी डलरमा निर्माणको जिम्मा लिएको थियो। तथ्यले श्रेष्ठ कन्ट्रक्सनलाई निर्माणको जिम्मा दियो। श्रेष्ठले पनि अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटीमा निर्माणको जिम्मा दियो। जसले गर्दा अहिले निर्माण अलपत्र परेको हो।

३ वर्ष हुँदा पनि सडक निर्माण अघि बढ्न नसकेपछि भारतीय निर्माण कम्पनीले अष्टभैरवका अनुप पाण्डेसँग केही समयअघि मात्र सम्झौता तोडेको थियो। तथ्यले पाण्डेलाई दिएको पेटी ठेक्का रद्द गरेको भन्दै गत मंसिर १० गते घोराहीमा सडक निर्माणको शुभारम्भ गर्दै कम्पनीका प्रमुख प्रविन ब्रह्मदेवले पेटी ठेक्काबाट काम अघि बढ्न नसकेपछि सडक निर्माणको काम स्वंय गर्ने बताएका थिए।

स्थानीय ठेकदारले सडक निर्माण नगरेर आफ्नो कम्पनीको बदनाम गरेको भन्दै सडक निर्माण आफैँले गर्ने भनेर सबैसामु प्रतिबद्धतासमेत उनले जनाए। तर तथ्यले फेरि  विभिन्न ३ कम्पनीलाई पेटी ठेक्का दिए पनि उनीहरूले पनि अहिलेसम्म काम गरेनन्। कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै पछिल्लो समय थपिएको स्तरोन्नतिको म्याद सन् २०२२ मे २१ सम्म मात्रै हो। सन् २०१९ जुलाईबाट कार्य प्रारम्भ गरी मे २०२० मा सडक निर्माण सक्ने गरी चार लेनको सम्झौता भएको थियो।

सम्झौता रद्द गर्नुपर्छ  ः मेयर  चौधरी

निर्माण कम्पनीले तोकिएको समयमा पनि काम नगर्दा यहाँका नागरिकहरूले दुःख पाएको भन्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले यो सम्झौता रद्द गर्नुपर्ने बताए। उनले काम गर्नेलाई अवसर दिनु पर्ने भए पनि ३ वर्षसम्म हुँदा करिब ७ प्रतिशत मात्र काम गर्नेलाई कारबाही हुनुपर्ने माग पनि गरे। उनले भने, ‘दिएको समयभित्र काम नगर्ने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्थ्यो तर अहिले ढिलै भएपनि त्यो कारबाहीको प्रक्रिया अगाडि बढेको छ।’

उनले जनप्रतिनिधिको हिसाबले चार लेन सडक निर्माणमा धेरै सहयोग गरेको भन्दै यो सडक बनाउनेभन्दा बिगार्ने मात्र काम हुँदा नागरिकले दुःख पाएको पनि बताए। उनले अहिलेका निर्माण कम्पनीबाट काम हुन नसक्ने भन्दै यो ठेक्का नयाँ ढंगले अगाडि बढाउनु पर्ने सुझाव दिए।

उनले खरिद ऐनसम्बन्धी अहिलेको कानुन संशोधन गर्नुपर्ने बताए। उनले भने, ‘राजनीतिक दलले के गरे के गरेनन् भन्दा पनि नियम प्रक्रियाअन्तर्गत गलत गर्नेलाई तुरुन्त कारबाही गर्नुपर्छ। तर खरिद ऐनले काम गर्ने म्याद हुँदासम्म काम गर्ने दिने भन्छ। म्याद गुजारी सक्दा पनि निर्माण कम्पनी कानुनी रुपले माथि हुन्छ। त्यसैले यस्तो खालको कानुन संशोधन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।’

यो ठेकेदारबाट सडक निर्माण हुँदैन : प्रजिअ रेग्मी

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्माणको जिम्मा लिएको निर्माण कम्पनीबाट सडक निर्माण हुन नसक्ने निष्कर्षमा आफूहरू पुगेको बताए। उनका अनुसार अब निर्माण कम्पनीसँग करिब डेढ महिना जति समय बाँकी रहेको छ। चार लेन सडक निर्माण गर्ने आयोजना पनि यो निर्माण कम्पनीबाट काम नहुने निष्कर्षमा पुगेर सोमबार १५ दिन सूचना निकालेर काम गर्ने आधार पेश गर्न आग्रह गरेकोसमेत उनले बताए।

‘अहिलेको काम हेर्दा अहिले जिम्मा लिएका निर्माण कम्पनीबाट काम सम्पन्न हुने लक्षण देखिएको छैन,‘ उनले भने, ‘तथ्यले श्रेष्ठ कन्ट्रक्सनलाई जिम्मा दिएको रहेछ। श्रेष्ठले फेरि अष्टभैरव निर्माण कम्पनीलाई दिएको रहेछ। अहिलेसम्म सडकको ७ प्रतिशत भौतिक काम र १२ प्रतिशत मात्र खर्च भएको छ।’ अबको १५ दिनपछि मात्र सम्झौता रद्द हुने वा यही निर्माण व्यवसायीबाट काम हुने भन्नेबारे थाहा हुने पनि उनको भनाइ थियो।

निर्माण व्यवसायी पक्राउ

घोराही-तुलसीपुर चार लेन सडक विस्तारका क्रममा ठगी गरेको भनि बैंकिङ कसुरमा मुद्दा खेपेका निर्माण व्यवसायी अनुप पाण्डेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत तुलसीपुरले प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले म्याद थपका लागि व्यवसायी पाण्डेलाई आइतबार उच्च अदालत तुलसीपुरमा उपस्थित गराएको थियो। काठमाडौंमा शनिबार पक्राउ परेका पाण्डेलाई दाङ ल्याएर म्याद थप गरिएको हो।

पाण्डेमाथि बैकिङ कसुर मुद्दामा १ करोड ८ लाख ५७ हजार रूपैयाँ बराबरको जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। साथै उनीमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले पनि विभिन्न व्यक्तिले व्यवसायीहरूले पैसा नदिएको भन्दै ४ करोडभन्दा बढी रकम असुलीका लागि निवेदन दिएका छन् भने जिल्ला प्रशासन कार्यालयमा पनि साढे ४ करोड भन्दा रकम नपाएको भन्दै निवेदन आएका प्रजिअ रेग्मीले बताए। 

सडकका  कारण २२ जनाको मृत्यु

निर्माणाधीन चार लेन सडकका कारण जिल्लामा भएका अनेकौं दुर्घटनामा २२ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनामा परेका धेरैजनाको अंगभंग भएको छ र कैयौं घाइते भएका छन्। तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको बबईसम्म सडक विस्तारको नाममा सडक खनेर भत्काउँदा सडक जोखिमपूर्ण बनेको हो। यसबाट दुर्घटनाको जोखिम बढेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.