|

काठमाडौं : बुधबार मध्याह्नमा त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा निकै भीड देखियो। अनलाइन भरेको फारम बुझाउने, राहदानी लिने, बायोमेट्रिक गर्नेको भीड थियो।  

सोही भीडमा धादिङ घर भएका सुमन आचार्य भेटिए। छोराको राहदानी लिनका लागि उनी राति ३ बजे नै विभागको कार्यालय आएका हुन्। दिनको २ बज्दासम्म राहदानी हात नपरेको उनको गुनासो गरे। लामो लाइन बस्नुपर्ने डरले राति नै आएँ तर अहिलेसम्म पालो आएको छैन। उनले भने, ‘राहदानी विभागमा धेरैे भीड हुन्छ भन्ने सुनेको थिएँ। छिटो गर्नका लागि रातिदेखि आउँदा पनि पालो आएको छैन।’   

आचार्यले राहदानी बनाउनका लागि गत १ फागुनमा अनलाइन फारम भरेर विभागमा बुझाएका थिए। सो फारममा १ महिना अर्थात् २ चैतमा  पासपोर्ट लिनका लागि बोलाइएको थियो। हातमा भएको फाइल देखाउँदै उनले भने, ‘आज पनि पासपोर्ट लिन सकिने हो कि होइन‚ थाहा छैन।’ 

नेपालीलाई रोजगारीका लागि देशमा अवसर छैन। वैदेशिक रोजगारीमा जान्छु भन्दा पनि सहज वातावरण छैन। उनले भने, ‘गाउँमा बसेर खान पुग्ने अवस्था छैन। देशमा अरू रोजगारीको राम्रो विकल्प छैन। छोरालाई  विदेश पठाउने सोच बनाएको पासपोर्ट बन्नै एक महिना लाग्यो।’

१ मंसिरदेखि सरकारले मेसिन रिडेबल पासपोर्ट विस्थापित गरेर ई पासपोर्ट अर्थात विद्युतीय राहदानी सुरु गरेको थियो। त्यतिखेर विद्युतीय राहदानीको निकै चार्चा भएको थियो। राहदानी बनाउनका लागि घण्टौ लाइन बस्नुपर्ने समस्याबाट छुटकारा पाउने अपेक्षा समेत गरेका थिए तर विद्युतीय राहदानीले जनताको समस्या समाधान गर्नुको सट्टा उल्टै सास्ती दिएको छ। 

पासपोर्टका लागि ११ घण्टा विभाग कुर्नुपर्‍यो

सल्यान घर भएका पूर्णबहादुर खड्काले राहदानी  लिनका लागि  राहदानी विभागको परिसरमा वास बस्नुपरेको बताए। राहदानी विभागमा भीड हुने सुनेकाले राति २ बजेदेखि बसेको उनले बताए। एक महिना अगाडि फारम बुझाएर आज पासपोर्ट लिन आएको उनको भनाइ छ। 

फारम बुझाउन आउँदा बिहानैदेखि लाइन बस्दा पनि १ दिनपछि मात्र  पालो आएको थियो। उनले भने, ‘अहिले पनि त्यस्तै होला भन्ने डरले विभागको परिसरमा नै वास बसेका हौँ।’ उनी विभागमा आउँदा लाइन लागिसकेको थियो।  बीचबीचमा आफ्नो मान्छे घुसाउँछन् दिनको १ बज्दा पनि पाले आएको छैन।  

एमआरपीभन्दा विद्युतीयमा सास्ती

सुर्खेत घर भएका रामबहादुर लिम्बु राहदानी बनाउनका लागि काठमाडौँ आएको दुई दिन भयो। विभागमा पहिलोपटक आएका लिम्बुले भीडभाड देखेर समयमा राहदानी पाउने आशा मारिसकेका छन्। यतिका धेरै भीडभाड छ। कहिले तलको कोठा–कहिले माथि कोठा पठाउने गर्छन्। उनी भन्छन्,’ कहिले कागजपत्रमा नम्बर मिलेन भन्छन्। फेरि तपाईंको मोबाइलमा नम्बर आउने भनेर भन्छन्‚ खोइ केही बुझ्न सकिएको छैन।’

यसअघि दाइको मेसिन रिडेबल पासपोर्ट बनाउनका लागि उनी काठमाडौँ आएका थिए। त्यतिवेला यति धेरै सास्ती भोग्नु नपरेको उनको भनाइ छ। लिम्बुले भने, ‘विद्युतीय राहदानी बन्छ भन्दा सहजै हुने आस गरेका थियौँ। यसले त अझै समस्या पो थपिदियो।’ 

कार्यालयभित्रका प्रहरीले घरी यता घरी उता दपेट्छन्। लाइनमा बसेका प्रहरीले लट्ठी देखाएर तर्साउँछन्। गेटदेखि प्रहरीको सामना गर्नु परेको उनको भनाइ छ। यति काम लागि जिल्लाबाट पनि हुन्थ्यो। परिसरमा बसेका उनले भने, ‘राहदानीभन्दा पनि अहिले प्रहरीको हप्की खाइएको छ। एमआरपी बनाउँदा यति धेरै दुःख पाएको थिइनँ।’

फोटो खिच्न अझै बाँकी रहेकाले आजै पालो नपाइने उनको भनाइ छ। साँझसम्म पालो नपाएमा अझै कति दिनसम्म विभागमा धाइरहनुपर्ने थाहा नभएको उनले बताए।

लाइनको समस्या समस्या ज्यूँका त्यूँ 

राहदानी बनाउनका लागि दिनभर लाइनमा बिताउनु नौलो विषय होइन। वर्षौदेखि मेसिन रिडेबल पासपोर्ट बनाउँदा दिनभर लाइन बस्नुपर्ने समस्या थियो। राहदानीलाई सहज विश्वासिलो बनाउने भन्दै १ मंसिरबाट सरकारले विद्युतीय राहदानी शुरु गर्‍यो। विद्युतीय राहदानीले वर्षौंदेखिको सो समस्या समाधान गर्ने अपेक्षा गरेका नागरिक यतिवेला निरास बन्न थालेका छन्। अनलाइनबाट राहदानीका लागि फारम भरे पनि लाइनको सास्ती भने हट्न सकेको छैन।  

लाइनका लागि अनलाइन

राहदानी विभागमा लाइन बस्नका लागि अनलाइन भर्नुपरेको अवस्था छ। राहदानी बनाउनका लागि सरकारले अनलाइन फारम अनिवार्य गरेको छ। अनलाइन फारम भरेर सेवाग्राहीले सहजै राहदानी प्राप्त गर्न सक्दैनन्। 

सो फारम भर्दा राहदानी लिन आउने मिति समय तोकेको हुन्छ। अनलाइन फारम भरेको विभागमा ती कागज बुझाउनुपर्ने हुन्छ। पासपोर्ट लिनु अगाडि बायोमेट्रिक, रसिद तिर्न (पैसा तिर्न) र पासपोर्ट लिनका लागि लाइनमै बस्नुपर्ने हुन्छ।


विभाग भन्छ, सेवाग्राहीको चाप छ 

पछिल्लो समय राहदानी विभागमा सेवाग्राहीको भीड बढेको विभागका निर्देशक शरदराज आरनले स्वीकार गरेका छन्। कोरोनाको संक्रमणदर घट्दै गएसँगै विभागमा भीड बढेको आरनको भनाइ छ। विभागले दैनिक २ हजारभन्दा बढी राहदानी वितरण गर्दै आएको छ। 

राहदानी लिन आउने सेवाग्राहीले समय बुक गरेर आउनुपर्ने विभागका निर्देशक आरन बताउँछन्। समयमा बुक नगरीकन आजै पासपोर्ट चाहियो भनेर सेवाग्राही आउने गरेकाले भीडभाड बढेको उनको भनाइ छ।

पछिल्लो समय सेवाग्राहीलाई मिति लिएको समयमा आउन भनिएको छ। उनले भने, ‘४ बजेको समय लिएकाहरू बिहान १० बजे आउने गर्दा समस्या भएको हो। एउटा समूहमा करिब तीन सय सेवाग्राही हुने गरेका छन्।’

विभागले २२ वटा काउण्टरबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए। एउटा पासपोर्टको आवेदनलाई लाइभ इनरोलमेन्ट गर्न ५ मिनेट लाग्ने गरेको छ। राहदानी दिने र आवेदन लिने गरी कुल ४५ सय सेवाग्राहीले सेवा लिइरहेका छन् ।

आवेदन दिएको दुई दिनमा सेवाग्राहीले राहदानी पाउने गरेका छन्। कुनै वेला सेवाग्राहीको भेरिफिकेशन गर्नुपरेमा नमिलेमा चार–पाँच दिन लाग्ने गरेको उनले जानकारी दिए।

विद्युतीय पासपोर्ट जारी गरेको चार महिनामा एक लाख पासपोर्ट जारी गरिसकेको छ। विभागले मङ्सिर १ गतेबाट विद्युतीय राहदानी वितरण शुरु गरेको थियो। कर्मचारी अभावले सेवाग्राहीलाई छिटो सेवा दिन नसकिएको उनको भनाइ छ। कर्मचारी पर्याप्त भएमा दुई सिफ्ट काम गरेर भए पनि छिटोछरितो सेवा प्रदान गरिने उनले प्रस्ट पारे। हाल ५८ जिल्लाबाट विद्युतीय राहदानी शुरु भएको छ। 

सबै तस्वीर : शिला तिम्सिना 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.