|

सरकारले चैत २५ देखि बैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्ष उमेर समूहकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ। नेपालमा अभियानकै रुपमा यो खोप लगाउन लागिएको पहिलोपटक हो। अभियानमा उक्त उमेर समूहका ९५ प्रतिशतलाई खोप लगाउने सरकारको लक्ष्य छ।

यो खोप अभियानकै रूपमा किन लगाउनु पर्‍यो? खोपको प्रभावकारिता कस्तो छ? लगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालसँग थाहाखबरकर्मी सविना खनालले गरेको कुराकानी:-

अभियानै रूपमा टाइफाइडविरुद्धको खोप लगाउन किन आवश्यक पर्‍यो?

विश्व स्वास्थ्य संगठनले सन् २०१२ मा पनि राष्ट्रिय सल्लाहकार समितिले पनि झाडापखाला, टाइफाइड, रोटा भाइरस, हैजाविरूद्धको खोपलाई नियमित खोपमा समावेश गर्दै लैजान सिफारिस गरेको थियो। यस्तै‚ सन् २०१७ मा टाइफाइड संक्रमण भइरहने देशहरूलाई टाइफाइडविरुद्धको खोपलाई नियमित खोपमा समावेश गर्न सिफारिस गरेको थियो।

विश्व स्वास्थ्य संगठनले एक लाख जनसंख्यामा १०० भन्दा बढीलाई कुनै पनि रोगको संक्रमण दर छ भने त्यो संक्रमणको उच्च जोखिम रहेको भन्छ। नेपालमा पाँच वर्षको तथ्यांक हेर्ने हो भने हरेक वर्ष चार लाख ५० हजारलाई टाइफाइड हुने गरेको पाइन्छ।

पछिल्लो तीन वर्षको तथ्यांकमा पानी र खानेकुराबाट हुने रोगहरूमध्ये टाइफाइड तेस्रो रहेको र बिरामी भएर अस्पताल भर्ना हुने चौथो कारण टाइफाइड नै रहेको देखाएको छ। तीमध्ये १५ वर्षभन्दा कम उमेरकामा ११ गुणा टाइफाइड रहेको छ।

नेपालमा टाइफाइड हुनेमध्ये धेरै १५ वर्षभन्दा कम उमेरका पाइएकाले उनीहरू नै धेरै जोखिममा छन् भनी अभियानकै रुपमा खोप लगाउने निर्णय गरेका हौँ। खोप लगाउँदा उक्त उमेर समूहलाई टाइफाइडको जोखिम रोक्न सक्ने हाम्रो बुझाइ छ।

यो कस्तो खालको खोप हो?

यो नयाँ प्रविधिबाट बनेको टाइफाइडविरुद्धको खोप हो। यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिइसकेको छ। अन्य प्रकारको खोप थप मात्रा दिनुपर्ने भए पनि यो खोप एक मात्रा मात्रै लगाए पुग्ने अध्ययनले देखाएको छ। यो खोपको प्रभावकारिता ९६ प्रतिशत रहेको छ। हाम्रोमा पहिलो पटक लगाउन लागिए पनि संसारका धेरै देशमा यसअघि नै लगाइसकिएको छ।

कस्ता बालबालिकाले यो खोप लगाउन हुँदैन?

सबैले लगाउन मिल्छ। सामान्य अवस्थाका बालबालिकाहरूले लगाउन मिल्छ। यद्यपि‚ गम्भीर प्रकारको एलर्जी भएकाले भने लगाउनु हुँदैन। यस्तैउच्च ज्वरो आइरहेको छ भने पनि यो खोप नलगाउन सल्लाह दिन्छौँ। एड्स भएकाहरूले पनि यो खोप लगाउन हुँदैन।

यदि खोप लगाउँदा असर देखियो भने हरेक स्थानीय तहमा उपचारका लागि व्यवस्था गर्न भनेका छौं। तर‚ हालसम्म खोपको गम्भीर असर देखिएको छैन।

अभियानअन्तर्गत कति जनालाई खोप लगाइँदै?

हामीले १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख जनालाई यो खोप लगाउने लक्ष्य लिएको छौँ। अर्थात् लक्षित समूहका ९५ प्रतिशतलाई खोप लगाउने लक्ष्य छ। अभियानकै रुपमा करिब एक महिना खोप लगाउन लागिएको हो।

अभियान सकिएको एक महिनापछि बालबालिकाले हाल लगाउँदै आइएको नियमित खोपहरूमा नै समावेश गर्छौँ। हाल बालबालिकाले नियमित खोपमा विभिन्न संक्रमणविरुद्धका १२ वटा खोप लगाउँदै आएका छन्।

१५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका सबै विद्यालय जाँदैनन्। विद्यालय नजानेहरूलाई कसरी खोप दिइन्छ?

सबै खोपको मुख्य केन्द्र विद्यालयलाई बनाएका छौँ। तर‚ १५ महिनादेखि ४ वर्षसम्मकालाई अभियानको अन्तिमतिर नजिकैको स्वास्थ्य संस्थामा लगाउने तयारी छ।

अभियानकै रुपमा लगाउने भएपछि धेरै खोप आवश्यक पर्छ। कहाँबाट कति खोप आउँदै छ?

७५ लाखजनालाई लगाउन ८० लाख डोज खोप अनुदानमा आउँछ। त्यो गावीमार्फत आउने हो। हालसम्म ५ लाख ४० हजार भाइल खोप आइसकेको छ। एक भाइलमा ५ डोज खोप रहेको छ। आउने क्रम जारी छ। आइसकेका खोप प्रदेशहरूमा पठाइरहेका छौँ।

भर्खरै कोरोनाविरुद्धको खोप लगाएकाले यो खोप लगाउन मिल्छ?

कोरोनाविरुद्धको खोप लगाएका बालबालिकाहरूले पनि यो खोप लगाउन हुन्छ। बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएको दुई साताभन्दा बढी भइसकेको अवस्था छ। त्यसैले अभिभावकहरूले आफ्ना बालबालिकालाई ढुक्कसँग टाइफाइडविद्धको खोप लगाउन अनुरोध गर्छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.