|

दाङ  :  दाङमा ४ लाख बढी मतदाता  रहेका छन्। प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका अनुसार जिल्लामा ४ लाख ९ हजार ९०० मतदाता रहेका छन्।

२०७९ वैशाख ३० गतेसम्म १८ वर्ष पूरा भएको मतदाताहरूको अन्तिम मतदाता नामावली प्रकाशन  गर्दै  कार्यालयले जानकारी दिएको हो। कार्यालयका अनुसार  जिल्लामा सबैभन्दा बढी महिला मतदाताहरू रहेका छन्।

जसमा २ लाख ९ हजार ९९ जना महिला र २ लाख ७ हजार ९९ जना पुरुष रहेको छन्। त्यस्तै जिल्लामा २ जना तेस्रोलिंगी पनि मतदाता रहेका छन्। जिल्लाका  १० स्थानीय  तह मध्य सबैभन्दा घोराही उपमहानगरपालिकामा मतदाता बढी रहेको कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले बताए।

उनका अनुसार घोराहीमा ५८ हजार ७०६ जना महिला र ५४ हजार २१२ जना पुरुष गरी १ लाख १२ हजार ९२७ मतदाता रहेको छन्।

त्यस्तै, सबैभन्दा कमी राजपुर गाउँपालिकामा रहेका छन्। जसमा ८ हजार ४०७ जना पुरुष र ७ हजार ३१६ महिला गरी १५ हजार ७२३ जना मतदाताहरू रहेका छन्। त्यस्तै, बबई गाउँपालिकामा १० हजार ९६२ जना  पुरुष, ११ हजार १८२ जना महिला गरी २२ हजार १४४ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

यसैगरी, राप्ती गाउँपालिकामा १५ हजार ६२ जना पुरुष, १६ हजार ४६१ जना महिला गरी ३२ हजार ३२३ जना मतदाता रहेका छन्। त्यस्तै, लमही नगरपालिकामा १७ हजार ५३ जना पुरुष र १७ हजार ३२९ जना महिला गरी ३४ हजार ३८२ मतदाता रहेका छन्।

त्यस्तै, शान्तिनगर गाउँपालिकामा १० हजार २१३ जना पुरुष र १० हजार ६५०  जना  महिला गरी २० हजार ८६३ मतदाता रहेका छन्, जसमा २ हजार ६८९ मतदाता नयाँ थपिएको निर्वाचन कार्यालयले जनाएको छ।

त्यसैगरी, गढवा गाउँपालिकामा १५ हजार १९० जना पुरुष र १४ हजार ६११ जना महिला गरी २९ हजार ८०२ जना मतदाता रहेका छन्, भने एक जना तेस्रोलिंगी पनि रहेका छन्।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिकामा ५२ हजार १३३ जना पुरुष र ५ हजार ७०६ जना महिला गरी १  लाख ७ हजार ६७७ जना मतदाता रहेका छन्, भने तुलसीपुरमा पनि एक जना तेस्रो लिंगी मतदाता छन्।  त्यस्तै बंगलाचुली गाउँपालिकामा ७ हजार ८५९ जना पुरुष र ८ हजार ९४ जना महिला गरी १५ हजार ९५३ जना मतदाता रहेका छन्।

त्यस्तै दंगीशरण गाउँपालिकामा पनि ८ हजार ९९ जना पुरुष र ९ हजार २०७ जना गरी १ हजार १०६ जना मतदाता रहेका छन्।

त्यस्तै, राप्ती गाउँपालिकामा १५ हजार ८६२ जना पुरुष र १६ हजार ४६१ जना महिला गरी  ३२ हजार ३२३ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।  जिल्लामा २०७४ सालको निर्वाचनमा ३ लाख ३८ हजार  ९५३ जना मतदाता रहेका थिए।  निर्वाचन कार्यालयका अनुसार जिल्लामा १५३ वटा मतदान स्थल रहेकाछन्, भने ४६१ वटा मतदान केन्द्र रहेका छन्। जसमध्ये सबैभन्दा बढी मतदानस्थल घोराही उपमहानगरमा रहेका छन्। घोराहीमा ४०, गढवामा १०, तुलसीपुरमा ३३, दंगीशरणमा, बंगलाचुलीमा ११, बबईमा ११, राजपुरमा, राप्तीमा १०, लमहीमा १३ र शान्तिनगरमा ९ वटा मतदानस्थल रहेका छन्।

त्यस्तै मतदान केन्द्र पनि घोराहीमा धेरै रहेका छन्। घोराहीमा, १२६, गढवामा ३३, तुलसीपुरमा ११९,दंगीशरणमा २१, बंगलाचुलीमा १८, बबईमा २६, राजपुरमा १८, राप्तीमा ३५, लमहीमा ४० र शान्तिनगरमा २५ केन्द्र रहेका छन्।

०७४ का उम्मेदवार अझै बुझाएनन् खर्च

निर्वाचन आयोगले दलका उम्मेदवारहरूले निश्चित चुनाव खर्च तोकेको भएता पनि जिल्लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीबाट उम्मेदवार बनेका ७१० जनाले अहिलेसम्म आफ्नो चुनावी खर्च नबुझाएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण प्रसाद भण्डारीले बताए।

संघ, प्रदेश र राष्ट्रिय सभाका उम्मेदवारहरूले निर्धारित समयमा चुनावी खर्च बुझाउने भए तापनि स्थानीय तहकाले नबुझाएको उनको भनाइ छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरूबाट २३ सय ८२ जना उम्मेदवारहरू रहेकोमा १६ सय ७२ जनाले मात्र आफ्नो चुनावी खर्च बुझाएको उनले बताए।

‘ निर्वाचन आयोग ऐनको दफा २५ अनुसार निर्वाचन खर्च आयोगले तोक्छ,‘ उनले भने,‘ आयोगले तोकेको कार्यालयमा विजयी भएका वा पराजित भएका उम्मेदवारहरूले निर्वाचन खर्च पेश गर्नुपर्छ। तर, अहिलेसम्म ७ सय बढिले बुझाउनु भएको छैन। आफ्नो खर्च बुझाउनु पर्ने कानुनी दायित्व उम्मेदवारहरूलाई हुन्छ। तर, नबुझाए के गर्ने? भन्ने कुरा कानुनमा स्पष्ट नहुँदा पनि यस्तो हुनसक्छ।’

०७४ को चुनावी नतिजामा कहाँ को बलियो?

जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा एमाले विजयी भएको थियो। जसमा तुलसीपुर उपमहानगरपालिका,  घोराही उपमहानगर,  गढवा गाउँपालिका, बबई गाउँपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिका प्रमुखमा एमाले विजयी भएको थियो, भने उपप्रमुखमा कांग्रेसबाट विजयी भएका थिए।

त्यस्तै, नेपाली कांग्रेसले ३ स्थानीय तहमा विजयी भएको थियो। जसमा राजपुर गाउँपालिक, शान्तिनगर र राप्ती गाउँपालिका रहेका थिए। यसैगरी, माओवादी केन्द्र बंगलाचुली गाउँपालिकामा मात्र  विजयी भएको थियो।

तुलसीपुर नगरपालिकामा  नेकपा एमालेले २२ हजार ८५७ मत प्राप्त गरेको थियो। त्यस्तै कांग्रेस १८ हजार ९०३ र  माओवादी केन्द्रले  ८ हजार ६९३ मत प्राप्त गरेको थियो।

त्यस्तै गढवा गाउँपालिकामा नेकपा एमाले ३ हजार ६७७, माओवादी केन्द्रले ३ हजार ३०४ र  काँग्रेस ३ हजार ३१ मत प्राप्त गरेका थिए। त्यस्तै घोराही उपमहानगरपालिकामा एमालेले २२ हजार ३०,  कांग्रेसले १७ हजार ४८४ र  माओवादीले १२ हजार ८२ मत प्राप्त गरेका थिए।

त्यस्तै,  दंगीशरण गाउँपालिकामा एमालेले (३ हजार १६१, कांग्रेसले (२ हजार ८४१, माओवादीले २ हजार ४८५ मत प्राप्त गरेका थिए। बंगालचुली गाउँपालिकामा माओवादीले ३ हजार ३५२, कांग्रेले २ हजार ५१५, एमालेले १ हजार ६३४ मत प्राप्त गरेका थिए।

बबई नगरपालिकामा एमाले ४ हजार २७१, काँग्रेसले ३ हजार ९५९, माओवादीले २ हजार ५४३ मत प्राप्त गरेका थिए।

यस्तै राजापुर गाउँपालिकामा  काँग्रेसले २ हजार ३९५, माओवादीले १ हजार ८५८, एमालेले १ हजार ७८१ म्त प्राप्त गरेका थिए। राप्ति गाउँपालिकामा काँग्रेसले ४ हजार ७९७ , माओवादीले ३ हजार ९४२, एमालेले ३ हजार ५५७ मत प्राप्त गरेका थिए। लमही नगरपालिकामा एमालेले ५ हजार १५२, कांग्रेसले ५ हजार ६९, माओवादीले ४ हजार ८१ मत प्राप्त गरेका थिए।  शान्तिनगर नगरपालिकामा कांग्रेसले ३ हजार ८५२, एमालेले २ हजार ९२४, माओवादीले २ हजार ८३७ मत प्राप्त गरेका थिए।

त्यस्तै, प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार ६  वटा ठूला दलबाहेक २२ वटा साना दलले निर्वाचन चिन्हको लागि कार्यालयमा निवेदन दिएका छन्।

नेकपा एमाले,  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहेक अन्य २२ दलले चुनाव चिह्नका लागि निवदेन दिएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.