|

काठमाडौं :  दुई दिनदेखि काठमाडौंमा बढेको वायु प्रदूषण अझै कम भएको छैन। अहिले पनि उपत्यकाको आकाश तुवाँलोले ढाकेको छ। यो समाचार तयार पार्दासम्म विश्वका अत्यधिक प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा रहेको छ।

केहीबेर अघि काठमाडौंको वायुको गुणस्तर अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ५९ रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार जुन मात्राको एक्यूआई स्वास्थ्यका लागि हानिकारक मानिन्छ। सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ।

एक सय ५१ देखि दुई सयसम्मलाई अस्वस्थकर र २ सय १ देखि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ। प्रदूषणले गर्दा आज पनि काठमाडौं धुम्म रह्यो भने दिउँसो नै प्रकाश कम भयो। मानिसहरुले सास फेर्दा नै असहज महशुश गरे।

वायु प्रदूषणका धेरै कारणहरू स्थानीय, राष्ट्रिय तथा क्षेत्रीय रहेको विज्ञको बुझाई छ। राष्ट्रिय कारणका रुपमा इटा भट्टा, सिमेन्ट उद्योग तथा गाडीको प्रदुषण मापन भएको छैन। नेपालको सीमा नजिकका भारतीय विहार, युपीलगायतका प्रान्तभित्रका उद्योग धन्दाबाट आउने धुवाँ, राजस्थान मरुभूमिबाट आउने धुलो क्षेत्रीय कारण हो।  हामीले यस्तो खाले प्रदूषणले स्वास्थ्यमा कस्तो असर गर्छ त भनेर छाती रोग विशेषज्ञ डा. निरज बमसँग कुराकानी गरेका छौं। 

प्रदूषणले लाग्ने रोग

प्रदूषणले अल्प र दीर्घकालिन गरेर असर गरिरहेको हुन्छ।  अल्पकालीन असरमा खासगरी छाला चिलाउने, आँखा सुक्खा हुने, आँसु आइरहने, आँखा रातो हुने, चिलाउने र दुख्ने, आँखाको डिल सुन्निने, नाकको स्वास नली, मुखबाट प्रवेश गर्ने फोक्सोको नलीहरूलाई सुख्खा बनाइदिएर खसखस गराइदिने, नाक सुक्खा हुने, रुघा लाग्ने, खोकी लाग्ने  हुने गर्छन्। 

दीर्घकालीन रूपमा भनेको खोकी लामो समय लाग्ने, छातीमा घ्वार-घ्वार हुने, एलर्जी हुने, खकार लगातार निस्किरहने, दीर्घकालसम्म भइरहे ‘क्रोनिक ब्रोन्काइटिस’मा रुपान्तरित हुन सक्छ। खकार आइरहे श्वास नलीमा परिवर्तन हुन जान्छ।  क्रोनरी आर्टरी डिजिज, स्ट्रोक, क्यान्सर आदि रोग यसैको कारण हो।

अहिले क्यान्सरमा सबैभन्दा बढी मृत्यु भएको फोक्सोको क्यान्सरबाट हो। चुरोट नखाने मान्छेमा पनि अहिले फोक्सोको क्यान्सर भइरहेको छ। यसको प्रमुख कारण वातावरणीय प्रदुषण नै हो। फोक्सो मात्र होइन खाने नलि, आन्द्रा, पेटको क्यान्सर पनि बढ्दै गएका छन्। यसको मुख्य रुपमा वातावरणीय असर नै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भूमिका खेलेको प्रमाणित गरिसकेका छन्। 

अहिले उच्च रक्तचाप बढ्ने, मधुमेह, यसमा पनि वातावरणीय प्रदूषणले केहि भूमिका खेलेको छ भन्ने अनुसन्धानले देखाएका छन्। विश्व स्वास्थ्य संगठनले हरेक वर्ष निकाल्ने तथ्यांकमा अकालमा मृत्युको एउटा कारण प्रत्यक्ष अप्रत्यक्ष रुपमा वायु प्रदूषणलाई मानेको छ।

तुवाँलो लाग्यो भने घामको प्रकाश राम्रोसँग पाउन सकिँदैन। जसले गर्दा भिटामिन डिको कमि हुने गर्छ। नेपालीमा अहिले भिटामिन 'डी' को कमि देखिएको छ। रोग प्रतिरक्षात्मक क्षमता कम देखिएको छ। यसले दीर्घकालमा गम्भीर समस्या देखिन थाल्छ।

वातावरणीय प्रदुषण नेपालमा बढेको करिब १५ वर्ष हुन थालेको छ। बढ्दो शहरीकरण, जनघनत्व बढ्नु, औद्योगीकरण, वन विनाश यो अवधिमा व्यापक बढिरहेको छ। यसको थप असर आउने वर्षमा देखिन्छन्। 

प्रदूषणले बालबालिका र जेष्ठ नागरिकहरूमा असर छिटो देखिएको छ। रोग प्रतिरक्षात्मक क्षमता कम भएका व्यक्तिहरू, मधुमेह, क्यान्सर, दमका विरामीमा छिटो असर देखिनु स्वभाविक भइहाल्यो।

राज्य जिम्मेवार हुनुपर्‍यो

प्रदुषणमा सल्फेडाइ अक्साइड, नाइट्रेट अक्साइड, सिलिका, ग्रेनाइट जस्ता रसायनिक तत्वहरु मिसिएका हुन सक्छन्। तसर्थ अहिले सतर्क रहनुपर्ने अवस्था छ। यसबाट सुरक्षित रहन व्यक्तिगत रुपमा भन्दा पनि राज्य संयन्त्र लाग्नुपर्ने हुन्छ। 

सामान्य मास्कको प्रयोग व्यक्तिले गर्न सक्छ। स्वास्थ्यको ख्याल गर्न, घरबाहिर ननिस्किन, अनावश्यक रूपमा सवारीसाधन नचलाउन, फोहोर नचलाउन र धूलो र धुवाँ उत्पन्न हुने खालका निर्माण कार्य नगर्ने काम व्यक्तिले गर्न सक्छ।

तर, राज्यले हरियालीको विकास, ढल व्यवस्थापन गर्ने, समाजमा रहेको फोहोर व्यवस्थापन गर्ने, टोलटोलमा र वन जंगलमा भइरहेको आगजनी रोक्नुपर्छ। यसलाई नियमन जरुरी छ। मापदण्ड बनाएर काम गर्नुपर्ने  बेला भइसक्यो।  

जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, स्थानीय निकायले थप महत्वपूर्ण काम गर्नुपर्छ।  पुराना सवारी साधनलाई रोक्ने, विद्युतीय उपकरणको प्रयोगमा जोड दिने, वृक्षारोपणलाई बढाउदै  लैजाने जस्ता काम गर्न ढिला भइसकेको अवस्था छ।

खतराको घण्टी बजिरहेको छ

समाजको बिचमा इँटाभट्टा सञ्चालनमा छन्। त्यहाँबाट निस्किएको धुवाँमा क्यान्सरमा पाइने कणहरू हुन्छन्। कार्बन निकोटिन जस्ता हानिकारक रसायनहरू यसमा पाइन्छन्। 

धुवाँलाई विद्युतले विस्थापन गर्न जरुरी छ। उपत्यकामा प्रदुषण बढ्दै गएको छ, रोकिने छाँट देखिएको छैन। दक्षिण एसियामा उपत्यका एक नम्बरमा पर्नु खतराको घण्टी हो। उपत्यका कचौरा जस्तो छ। जसले यहाँको हावा फर्मेशन नै हुन सक्ने अवस्था छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.