|

भोजपुर : आर्थिक अभावका कारण भोजपुरको साल्पासिलिछो गाउँपालिकाका दुई युवालाई खोरमा थुनेर राखिएको छ। दुवैजनामा मानसिक रोगको समस्या भएपछि परिवारले काठको खोर बनाएर थुनेर राखेको हो।

साल्पासिलिछो गाउँपालिका–२ जिमिगाउँका ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्बर चौहान खोरमा बस्न बाध्य छन्। आर्थिक अभाव भएपछि कान्छो छोरा डेगराजलाई सात वर्षदेखि र जेठो छोरा डम्बरलाई दुई वर्षदेखि खोरमा थुनेर राखेको बुवा छत्रबहादुरले बताए। मानसिक समस्या भएका कारण अनेक खालका उपद्रो गरेकाले उनीहरूलाई खोर बनाएर राख्नु परेको हो। 

चौहानले भने, ‘आर्थिक अवस्था कमजोर छ। उपचार गर्ने पैसा छैन। कमाएर ल्याउने छोराहरूमा मानसिक रोग छ। उनीहरूलाई सम्हालेर राख्नै समस्या छ। खोरमा राखेन भने अनेक उपद्रो गर्छन्। आफ्ना छोरा हुन्‚ माया लाग्छ। तैपनि पशुझैँ खोरमा राख्नु परेको छ।’

उनीहरूलाई घरको सिकुवामा काठको खोर बनाएर राखिएको छ। छोराहरूलाई खोरमा राख्नु पर्दा आफूलाई धेरै पीडा हुने बुवा छत्रबहादुर चौहानले बताए। उपचारको अभावमा छोराहरूले कष्टकर जीवन बिताउन बाध्य भएकाले सरोकारवाला पक्षसमक्ष उनले सहयोगको याचना गरे।

चौहानले भने, ‘गरिब परिवार छ। चरम आर्थिक अभाव छ। उपचारका लागि कोसिस गर्दागर्दै भएको सम्पत्ति पनि सकियो। अब उनीहरूलाई खोरमा थुनेर टुलुटुलु हेर्नुको विकल्प छैन। सरोकारवाला पक्षले उपचारका लागि सहयोग गरिदिन्छन् कि भन्ने आशा छ।’

काठमाडौँमा रहेको पाटन अस्पतालमा उपचार गराए पनि रकम अभाव भएपछि उनीहरूलाई घरमा ल्याएर राखेको चौहानले बताए।

उनीहरूलाई नियमित रूपमा औषधि खुवाउन नसकेका कारण झनै समस्या भएको बुवाको भनाइ छ। लामो समयदेखि मानसिक रोगले भेटेपछि परिवारमा पीडा थपिएको उनले बताए।

उनीहरूलाई खोरमा थुनेर नराखे परिवारका सदस्य तथा बटुवालाई नै कुटपिट गर्ने, अपशब्द बोल्ने, बाहिर कुद्ने, मानिसलाई चिथोर्ने, बरबराउने लगायत क्रियाकलाप देखाउने चौहानले बताए। परिवारमा भएका तीन भाइ छोरामध्ये जेठो र कान्छो छोरालाई मानसिक समस्या छ।

मानसिक समस्या भएका कारण व्यक्तिगत सरसफाइ लगायतका कुरामा अरूको सहायता आवश्यक पर्ने भए पनि राज्यले अपांगता परिचय पत्रसमेत नदिएको परिवारको गुनासो छ।

साल्पासिलिछो गाउँपालिकाकी उपाध्यक्ष धनमाया राईले आर्थिक अभावमा उपचारबाट वञ्चित भएका चौहान दाजुभाइको पहिचान भएकाले अब चाँडै अपांगता परिचयपत्र बनाएर सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताइन्।

उपाध्यक्ष राईले भनिन्, ‘उहाँहरूको अवस्थाबारे हामीलाई जानकारी भएपछि आवश्यक सहयोगमा जुटेका छौँ। उनीहरूलाई राज्यबाट पाउने सुविधा दिलाउन प्रक्रिया अघि बढाएका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.