विद्युत कटौतीले सर्वसाधारणसँगै आजित उद्योगी

|

धनगढी : सुदूरपश्चिममा अघोषित लोडसेडिङको समस्या भएको छ। प्रदेशवासी अघोषित लोडसेडिङको मारमा परेका छन्। गर्मी बढेसँगै जानकारीबिना लामो समयका लागि बिजुली जाने–आउने हुँदा सास्ती बढेको हो। सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत घरधुरीमा पहुँच भएको राष्ट्रिय प्रशारण लाइनको विद्युत नै पटकपटक अवरुद्ध हुने गरेको छ।

प्रदेशको अस्थायी राजधानी धनगढीसँगै पहाडी जिल्लामा पनि बिना सूचना विद्युत कटौती हुँदै आएको हो। बत्ती आउने र जानेले गर्दा दैनिकीमा धेरै असर भइरहेको धनगढीकी हेमा खड्काले बताइन्। उनले भनिन्, ‘बिहान, दिउँसो र राति हरेक समयमा बत्ती जाने गर्दा हैरान बनाएको छ। गर्मीले घरभित्र बस्न सकिन्न। गर्मीमा जहिल्यै बत्ती जान्छ।’ साना बालबालिकालाई बत्ती नहुँदा गर्मीले सास्ती बढाएको उनले बताइन्।

बत्ती जाँदा चार्ज गर्नुपर्ने अवस्थामा ब्याट्री नै बिग्रिने गरेको धनगढीका विद्युतीय रिक्साचालक उदिप चौधरीले बताए। ‘अटो चार्ज गर्नुपर्ने हुन्छ,' उनले भने, ‘तर समयसमयमा झ्याप्प झ्याप्प बत्ती जाँदा ब्याट्री बिग्रिने वा पड्किने डर हुन्छ। दिनभर अटो चलाएर गुजारा गर्छौं।’ बत्ती जाने समस्याका कारण विद्यार्थीलाई पनि बढी समस्या भइरहेको छ।

अनलाइन पढ्ने विद्यार्थीलाई झनै समस्या भइरहेको छ भने वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थी पनि आजित भएका छन्। बत्ती आउने र जाने गर्दा पढ्न समस्या भइरहेको एक छात्रा शिक्षा भट्टले बताइन्। उनले भनिन्, ‘हरेक समयमा बत्ती जान्छ। परीक्षा आइरहेको छ। पढ्नै पाइन्न।’

तराइमा मात्र नभएर पहाडी जिल्लामा समेत समयसमयमा बत्ती जाने गरेको छ। कुनै समयतालिका र जानकारीबिनै बत्ती जाँदा समस्या भइरहेको गुनासो बैतडीका लक्ष्मण विसीको छ। उनले भने, ‘कुनै समयतालिका छैन, न कुनै जानकारी। समयसमयमा बत्ती जाने गर्दा विद्यार्थीलाई धेरै समस्या भइरहेको छ।’

तर नेपाल विद्युत प्राधिकरणले भने मर्मतसम्भारका कारण विद्युत कटौती गर्नुपरेको बताउँछ। साथै गर्मी बढेपछि छिनछिनमा विद्युत आउनेजाने समस्या बढेको विद्युत प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले बताए।

उनले अहिले सडक निर्माणका काम तथा पोल सार्ने काम भइरहेको हुँदा बत्ती गएको हुनसक्ने बताए। उनले भने, ‘अहिले गर्मीको समय पनि हो। गर्मीमा बढी जसो पंखा, मोटरलगायतले बढी भोल्टेज खाने भएकाले ट्रान्सफर्मरको क्षमता बढाइरहेका छौँ। गर्मीलाई टार्गेट गरेर काम भइरहेको छ।’

आजित उद्योगी

विद्युत प्राधिकरणको मनोमानी र अघोषित लोडसेडिङका कारण यहाँका उद्याेगी व्यवसायी हैरान भएका छन्। विद्युतको आपूर्ति कम नभए पनि मर्मत तथा अन्य वहानामा प्राधिकरणले बिजुली काट्दै आएको उनीहरूले बताएका छन्।

बिना सूचना प्राधिकरणले बिजुली कटौती गर्दा हैरान भएको उद्योग वाणिज्य संघ अत्तरियाका अध्यक्ष अशोक देवकोटाले बताए। उनले भने, ‘छिनछिनमा विद्युत आउने–जाने हुन थालेको छ,’ उनले भने, ‘उद्योगीहरूलाई समस्या छ। उहाँहरूले मौखिक रुपमा हामीलाई भन्नु भएको छ। विद्युत प्राधिकरणसँग छलफल गर्ने तयारी भइरहेको छ।’

सुदूरपश्चिममा लामो समयसम्मका लागि बिजुली नजाने भए पनि छोटो समयका लागि आपूर्ति बन्द हुँदै आएको छ। अघोषित लोडसेडिङका कारण उपकरणमा क्षति हुने चिन्ता उद्यमीमा छ। उद्योग वाणिज्य संघ, कैलालीका सदस्यसमेत रहेका व्यवसायी मनोज अग्रवालले अनियमित विद्युत कटौतीका कारण हैरान भएको बताए। उनले भने, ‘विद्युत छिनछिनमा आउने र जाने हुँदा मेसिनमा खराबी आउँछ। कामदारहरू परिचालनमा पनि समस्या हुँदैछ।’

विद्युत खपत बढाउन उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारको छ। तर विद्युत आपूर्ति सहज नहुँदा प्रदेशभित्रका उद्योगी समस्यामा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.