स्थानीय भन्छन् : नसक्ने भए राजनीतिक दलले सन्यास लिए हुन्छ

|
दाङ एयरपोर्ट परिसर

दाङ :  तुलसीपुर उपमहानगरपालिका १२ एयरपोर्ट निवासी अमर बस्नेतले शुक्रबार करिब ३ बजेतिर गाडीहरू धुलो उडाउँदै आफ्नो गाउँमा आएको देखे। उनी त्यो देखेर गाडीहरू भएकाे ठाउँमा आइपुगे।

उनले त्यहाँ विभिन्न दलका स्थानीय नेतादेखि केन्द्रसम्मका नेताहरू तथा धेरै नागरिकहरू जम्मा भएकाे देखे। यसरी उनीहरु धुलो उडाउँदै गाउँमा आउनुको कारण थियो, आफ्नो घर छेउमा रहेको टरिगाउँ एयरपोर्ट स्तरोन्नति विषयक सर्वदलीय– सर्वपक्षीय बैठकमा सहभागी हुन।

उनले यस्ता कार्यक्रमहरू भएको आज मात्र देखेका होइनन्। धेरै पटक यसरी गाउँमा धुलो उडाउँदै नेता तथा विभिन्न सरोकारवाला व्यक्तिहरू आउने र कार्यक्रम गर्ने गरेका थिए। तर, अहिलेसम्म काम नभएको भन्दै उनले अब फेरि स्थानीय तहको निर्वाचन आउन लागेको बेला यसलाई नै चुनावी नारा बनाउनको लागि यस्ता कार्यक्रम सुरु भएकाे, बताए।

उनले भने,‘ बेला बेलामा एयरपोर्ट विकासका लागि यस्ता कार्यक्रम हुने, भाषण गर्ने मात्र काम भएको छ। हामीलाई यहाँ आएर नेताहरूले भाषणमा अब छिट्टै हुन्छ, भनेर आश्वासन दिन्छन्  तर काम हुँदैन।

‘यो एयरपोर्ट  र तुलसीपुर अमिलिया सडकका कारण हामीले जस्तो समस्या कसैले भोगेका छैन्।’ उनले सडक र एयरपोर्ट कारण आफूहरूकाे जग्गा बिक्रीसमेत नभएको गुनासो गरे।  जग्गा किन्न मान्छेहरू आउँछन् तर सडक र एयरपोर्टकाे दुरावस्था देखेर बाटोदेखि पूर्वतर्फ किन्न मान्दैनन्।

बैंकमा ऋण लिन जादा पनि बैंकले जग्गा हेरेपछि दिँदैनन्। आफूहरूलाई धेरै समस्या भएको उनको भनाइ थियो। उनले आफ्नो ठाउँ नजिकै पर्यटकीय स्थल बनाउनको लागि सप्‍ताह लगाएर पैसा जम्मा गरेको र त्यो पनि एयरपोर्टका कारण बनाउन नपाउँदा पैसा बैंकमा जम्मा गरेर राखेको बताए।

उनले कुनै पनि ठाउँमा सहयोग माग्न जाँदा पनि एयरपोर्टका कारणले नपाउने गरेको गुनासो गरे। उनी भन्छन्, ‘यस्ता कार्यक्रम कहिले आयल निगम बनाउने नाममा, कहिले एयरपोर्ट विस्तारको नाममा हुँदै आएका छन् तर अहिलेसम्म काम भएको छैन्। 

सोही ठाउँका तिलकराम खनालले एयरपोर्टका नाममा यस ठाउँलाई राजनीतिक दलहरूले पुरै बन्दकी बनाएको आरोप लगाए। उनले आफूले रगत पसिना बनाएर कमाएको पैसाले श्रीमतीले १० वर्ष पहिले एयरपोर्ट नजिकै २ लाखमा घडेरी किनेको र अहिले पनि त्यो एयरपोर्टका कारण त्यही २ लाखमा बिक्री हुने अवस्था नभएको  बताए।

उनले  एयरपोर्टका कारण टरिगाउँका नागरिकहरूले एक कठ्ठा जग्गा बिक्री गर्न नपाएको भन्दै आक्रोश व्यक्त गरे। 

'अब चुनाव आउँदै छ। हामी एयरपोर्ट विकास गर्न पहल गर्छौ, भन्दै सबै आउँछन्। तर, यो एयरपोर्टको अवस्था उस्तै छ।  गरुड आकाशमा उड्दा सर्पलाई जमिनमा छायाँ परेको जस्तै एयरपोर्टका कारण यहाँका जनतालाई त्यस्तै छायाँ परेको छ।’

त्यस्तै राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर देखि अमेलियासम्मको सडकमा राज्यले ३१ मिटर बाहिर घर बनाउने भनेको भएता पनि अहिले १५ मिटरको बाटो समेत छैन।

राज्यले १५ मिटरको कर लिएको छ। उनले भने,‘ १५ मिटरको बाटोको कर लिने तर ३१ मिटर भन्दा बाहिर घर बनाउन नदिने, यो कस्तो नियम हो? यस्तो समस्या हामीले कहिलेसम्म ​भोग्ने?'

उनले यसरी जनतालाई समस्या पारेर राजनीति नगर्न आग्रह गर्दै यदि एयरपोर्ट विस्तार गर्न राजनीतिक दलहरूले नसकेमा सन्यास लिएर बस्न आग्रह गरे।

एयरपोर्ट विस्तारको दबाब दिन खुत्रुके अभियान

तुलसीपुर उद्योग वाणिज्य संघले एयरपोर्ट विस्तारको दबाव दिनको लागि केही महिना अगाडि खुत्रुके अभियान शुरु गरेको थियो। उक्त अभियानमा हालसम्म ५ जना नागरिकले आर्थिक सहयोग गरेको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए।

उनले यो अभियानमा सहयोग गर्नका लागि विभिन्न ठाउँबाट नागरिकहरू तयार रहेको भन्दै पैसाको लागि भन्दा पनि राज्यलाई दबाव दिनको लागि अभियान शुरु गरिएकाे उल्लेख गरे।

त्यस्तै उनका अनुसार २०११ सालमा स्थापना भएको एयरपोर्टको हालसम्म साढे ७  मिटर मात्र कालोपत्रे भएको छ। जसले गर्दा सानो जहाज आउने र महंगो भाडा तिर्न बाध्य भएको भन्दै जिल्लाबाट नेतृत्व गर्ने राजनीतिक दलहरूले चासो नदिँदा पछाडि परेको उनले बताए।

‘हामीले यसको लागि आवाज उठाउने काम गर्छौ,' उनले भने,‘म भन्दा पूर्वअध्यक्षहरुले पनि यसको बारेमा आवाज उठाउँदै आउनु भएको थियो। मैले पनि मेरो कार्यकालमा यसको आवाज उठाउँदै आएको छु। तर, अहिलेसम्म सुनुवाइ भएको छैन।’

त्यस्तै उनले धावनमार्ग विस्तारको लागि संघले खर्च व्यहोर्ने गरी ५ दिन लगाएर नापजाँच गरेको भन्दै करिब साढे १७ सय विभिन्न संरचनाहरु क्षति नगरी बनाउन सकिने इन्जिनियरले जानकारी दिएको समेत बताए।

त्यस्तै उनले विकट ठाउँमा राज्यले अरबौँ खर्च गरेर  एयरपोर्ट बनाएको भएता पनि सबै किसिमले मिलेको एयरपोर्टमा विभिन्न बहानामा टार्दै गएको भन्दै आपत्ति जनाए।

एयरपोर्ट विस्तारमा राजनीतिक खिचातानी: राष्ट्रियसभा सदस्य शर्मा

राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले  तुलसीपुरको एयरपोर्ट बन्नु पर्ने र त्यो पनि पहिले नै हुने पर्ने बताए।

उनले भने,‘  डिपिआर गर्दा लागत बजेट ठूलो परिमाणमा लाग्ने देखाउँदा याे समस्या आएकाे हाे। एयरपोर्ट नजिकैको चिरा पुरेर बनाउनको लागि नाै अर्ब लाग्ने अनुमान गरिएको थियो। जसले गर्दा यहाँ गरिने त्यो लगानीले अर्को कुनै नयाँ ठाउँमा बन्छ, भन्ने बुझाइ पनि हो।

त्यस्तै उनले अहिलेसम्म एयरपोर्ट विकास नहुनुको कारण पत्ता लगाएको अब यसको विकास हुने प्रक्रिया अगाडि बढ्ने र कसैले रोक्न नसक्ने पनि बताए।

उनले अहिलेसम्म एअरपोर्टको विकास नभएका कारण यहाँका नागरिकहरूले विभिन्न आरोपहरू लगाउँदै आएको भएयता पनि अब यसको विकास हुने र जनताले लगाएका आरोपहरू खण्डित हुने समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.