|

पर्वत : मोदी गाउँपालिका–२ देउपुर घर भएका विकास तिमल्सिना ट्राफिक प्रहरीको रूपमा कार्यरत रहँदा बनाएको छवि बेग्लै छ। नियम उल्लघंन गरेकाहरूलाई कारबाही भन्दा धेरै सचेतना र सहयोग गरेमा सुधार आउन सक्छ भन्ने मान्यताका साथ उनी जहाँ कार्यरत रहे त्यहाँका ट्राफिक व्यवस्थापनमा आफ्नो जिम्मेवारी पूरा गरे।

ट्राफिक प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा बहाल रहँदा रहँदै उनी २०७३ फागुन २८ मा निवृत्त भए।  देउपुरको वडाध्यक्षको रूपमा निर्वाचित बने। ट्राफिक प्रहरीको रूपमा रहँदा राम्रो काम गरेका उनलाई नागरिकले पनि विश्वास गर्दै निर्वाचित गराए।

 वडाध्यक्ष बनेपछि सामान्यतः सबैले गर्ने वडाका काम त गर्नै पर्छ नै त्यो भन्दा फरक कोभिड–१९ को बेलामा संक्रमितहरूलाई आफैले  मोटरसाइकलमा बोक्नेदेखि मृत्यु भएकाहरूको शव व्यवस्थापनको काम पनि उनी आफैले गरे।

पदले वडाध्यक्ष रहे पनि उनको काम गर्ने शैली प्रहरीकै ‘चेन अफ कमान्ड’ मा जस्तो हुने गरेको छ। कुनै पनि बहानामा नागरिकको समय एक मिनेट पनि खेर फाल्न हुँदैन भन्ने मान्यताका उनी नेपाल प्रहरीको असईदेखि वडाध्यक्ष हुँदै सफल कृषकको रूपमा पनि स्थापित भएका छन्।

प्रहरीमा छँदाको सबेरै उठ्ने र निरन्तर खट्ने बानीले उनलाई पाँच वर्षको अवधिमा जिल्लाकै सफल कृषक पनि बनाएको छ। ०७३ सालमा वडाध्यक्ष बन्नको लागि प्रहरी सेवाबाट अवकाश लिएका उनले माछा पालनमा पनि हात हाले। जिल्लाकै मोदी गाउँपालिका–५ बाजुङ स्थित टिमुरेमा पर्ने पाती खोला किनारमा रहेको ‘पातीखोला रेन्बो ट्राउट फार्म’ मा आफू पनि शेयर सदस्यको रूपमा प्रवेश गरे।

आफू सहित पाँच जनाको लगानी रहेका जिल्लाकै ‘मोडल फार्म’ मा खटिरहेका देखिन्छन् वडाध्यक्ष तिमल्सिना र उनकी श्रीमती सरस्वती। जनप्रतिनिधि भएर पनि कर्मचारीकै जस्तो कार्यालयमा काम गर्ने खट्ने तिमल्सिना बिहान चार बजेदेखि नै फार्ममा खटिन्छन्।

१० बजे वडा कार्यालयमा पुगेका उनी बेलुका ६ बजे फार्ममा आएपछि राती ९-१० बजेसम्म फेरि फार्ममै खटिरहेका हुन्छन्। ‘वडाध्यक्ष हुनु भनेको कुनै शासक हुनु त होइन, जनता पनि नेता नै हुन्। उनीहरूको भीडमा पनि अलिकति बढी जिम्मेवारी लिएको मात्र न हो। वडाध्यक्ष हुँदैमा काम गर्न नहुने भन्ने त हुँदैन’, उनी भन्छन्, ‘म अहिले पनि बिहान चारै बजे उठेर फार्ममा जान्छु, पोखरी सफा गर्छु, माछाको ग्रेडिङ गर्छु, माछा निकाल्छु, दाना हाल्छु। बेलुका पनि त्यही हो, आफैले काम नगरेसम्म मज्जा नै लाग्दैन।’

बोलीमा जस्तै व्यवहारमा पनि त्यस्तै काम गरिरहेका हुन्छन् उनी। उमेरले ४७ वर्ष पुगेका तिमल्सिनाले आफू प्रहरीमा रहँदा नै माछा फार्मको अवलोकन गरेका थिए। त्यहाँको काम गर्न इच्छुक रहेकोले अवकाश हुँदा आएको रकम सोही फार्ममा लगानी गरेको उनी बताउँछन्।

 प्रहरीको २० वर्षे अनुभव, जनप्रतिनिधिको ५ वर्षे अनुभव सँगालेका तिमल्सिना आफ्नै पिठ्यूँमा माछाको दाना बोक्ने गरेको, आफैले माछा सफा गरेर काठमाडौँ पठाउने गरेको अनुभवमा पनि दक्ष बनिसकेका छन्।  
फार्ममा लगानी गरेका अरू चार जना अन्य पेसामा आबद्ध रहेका व्यक्तिहरू हुन्। उनीहरू फार्म रहेको ठाउँमा बस्दैनन्। यही कारण पनि शेयर सदस्यहरूको विश्वासलाई कायमै राखेर व्यवसायलाई सफल बनाउने जिम्मेवारी उनकै काँधमा छ। जिम्मेवारी पूरा गर्नकै लागि जन्म गाउँ देउपुरमा रहेको घरमा चाबी लगाएर फार्म रहेको ठाउँमा श्रीमतीसहित बस्दै आएका छन् उनी।

सफल कृषक हुनुमा आफ्नो भन्दा पनि श्रीमतीको भूमिका बढी रहेको विकास बताउँछन्। काम गर्नको लागि तीन जना कर्मचारी राखेको भए पनि उनीहरूले मात्रै काम भ्याउँदैनन्। त्यो बाहेक आफ्नै शरीरलाई स्वस्थ राख्न पनि काममा खटिनुपर्ने उनको भनाई छ।

फार्ममा हात हालेपछि सबैभन्दा राम्रो उत्पादन र आर्थिक कारोबार यही वर्षमा भइरहेको तिमल्सिना पत्नी सरस्वती बताउँछिन्। कोभिड–१९ संक्रमणका कारण होटेल व्यवसाय बन्द हुनु, मानिसहरूको चहलपहल नहुनु, आर्थिक मन्दी हुनु लगायतका कारण व्यवसायले धेरै सफलता नदिएको भए पनि यो वर्ष भने सोचेभन्दा राम्रो भएको उनको भनाई छ।

‘यो वर्ष ८४ लाख भुरा छाडेकोमा लगभग सबैजसो बिक्री हुन लागेका छन्। यो वर्ष अहिलेसम्मकै राम्रो भएको छ। हामी रातदिन यसैमा खटेका कारण पनि सफल भएका हौँ’, उनले भनिन्, ‘रेन्बो ट्राउट चिसो पानीमा मात्रै पाल्न सकिन्छ, काँडा पनि खासै नहुने र स्वादिलो हुने भएकाले बच्चाहरूले पनि सजिलै खान सक्छन्।’

आफूहरूले उत्पादन गरेका सबै माछा काठमाण्डौँमा नै बिक्री हुने भएकाले बजारको समस्या नरहेको सरस्वतीको भनाई छ। विगतका वर्षमा वार्षिक झन्डै ६ टन माछा उत्पादन हुने गरेकोमा यो वर्षको त्यसको दोब्बर १२ टन उत्पादन हुन लागेको र अहिलेसम्म ६३ लाखका माछा बिक्री गरिसकिएको उनले बताइन्। कोभिडका कारण यातायात बन्द हुँदा गएको वर्षमा दाना अभावले माछा मरेको भए पनि अहिलेको उत्पादनले तिमल्सिना दम्पतीलाई माछा पालनमा झनै हौसाएको छ।

अरू नगदे बाली छोटो समयमा नै बिक्रीको लागि तयार हुने भए पनि माछाको लागि भने एक वर्ष लाग्ने तिमल्सिना बताउँछन्। यस्तै दान प्रतिकिलोको ५ सय रुपैयाँसम्म पर्ने भएका कारण आयात, उत्पादन र बजारमा चनाखो रहनुपर्ने उनको अनुभव छ।

‘लगभग तीन सय ग्रामको माछा बनाउन एक वर्षको समय लाग्छ। तयार भएपछि त प्रतिकिलो १२ सय रुपैयाँका दरले यहीँ फार्मबाट नै बिक्री पनि हुने गरेको छ। तर दाना महँगो भएका कारण चनाखो बन्नुपर्छ’, उनले भने, ‘भारतको बन्दरगाहबाट आउने मसिनो सिद्रा भुराको दाना हो। एक किलोकै ५ सय जति पर्छ। एकै दिनमा २५ हजार रुपैयाँसम्मको दाना खपत हुन्छ। उत्पादन र बजारीकरणमा ध्यान नदिने हो भने एकै पटकमा टाट पल्टिन्छ फेरि।’

२०५३ सालमा प्रहरी सेवामा प्रवेश गरेका तिमल्सिना २०७३ बाट माछा पालक कृषक र २०७४ सालबाट जनप्रतिनिधिको रूपमा काम गर्दै आएका छन्। नेकपा एमालेबाट वडाध्यक्ष बनेका उनलाई आगामी स्थानीय तहको निर्वाचनको प्रसंग उठाउँदा पार्टीले विश्वास गरेर कुनै पदमा उठाउने निर्णय गरेमा आफू त्यसका लागि तयार रहेको बताउँछन्।

 राजनीति गर्नेहरूले झुटा आश्वासन दिने र बोलेकै काम पनि पूरा नगर्ने गरेका कारण युवा पुस्ता देखावटी रूपमा मात्रै राजनीतिमा सक्रिय भएको हुन सक्ने उनको भनाई छ। धेरै पैसा लगानी गरेर वैदेशिक रोजगारीमा जानुभन्दा थोरै लगानीले उद्यमी बन्दै व्यवसायलाई बृहत् बनाउन सकिने उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.