|

घनश्याम खतिवडा

मैले जागिरे जीवनमा सरकारी, गैर सकारी संघ संस्थाहरूमा काम गर्दा अनि अन्तर्राष्ट्रिय तालिम, गोष्ठी र सेमिनारहरूमा सहभागी हुँदा पश्चिमी मुलुकका विभिन्न व्यक्तिसँग काम र संगत गर्ने प्रशस्त मौका पाएँ। व्यक्तिअनुसार संसारभरका मानिसहरूको स्वभाव र आनीबानी फरक हुनु स्वाभाविकै हो।

समग्र पश्चिमाहरू प्रति नै हाम्रा समाजका कतिपय मानिसका मुखबाट बेला बेला सुनिने गरेको "उनीहरू व्यक्तिवादी स्वार्थी चरित्रका हुन्छन्" भन्ने छाप मेरो मनमा परेको थियो। आफूले सङ्गत नगरी अरुले भनेका भरमा कसैप्रति निश्चित धारणा बनाइहाल्ने संस्कार मैले हाम्रै समाजबाट त सिकें हुँला।

ममा रहेको सोच त्यतिखेर गलत  ठहरियो जब मैले पहिलो पटक २५ बर्ष अघि एउटा तालिम कार्यक्रममा अमेरिका आइपुगेका बेला नेपालमा चिनजान भएका एक अमेरिकी दम्पतीको घरमा दुईदिने पाहुना बन्ने अवसर पाएँ।

नुवाकोटमा टोनी संगम सन् १९९८, सेभ द चिल्ड्रेनको कार्यक्रम अवलोकन भ्रमणका क्रममा

परदेशमा विदेशीको पाहुना बन्नु मेरा लागि कौतुहल, नयाँ अनुभव र अमेरिकी परिवार तथा उनीहरूको जीवन पद्धतिलाई नजिकबाट नियाल्ने अवसर पनि थियो।

मेरो कार्यक्रम भै रहेको स्थान युनिभर्सिटी अफ पेन्सिलभेनिया, फिलाडेल्फियाबाट उनीहरूको घर लगभग डेढ घण्टा टाडा न्यू जर्सीको सुन्दर शहर प्रिन्सटनमा थियो। पूर्व निर्धारित योजना अनुसार अमेरिकी दम्पतीलाई लिन शुक्रबारको दिन बेलुका म बसेको होस्टलमा आए। सामान्य भलाकुसारी पछि म उनीहरू सँगै प्रिन्सटन शहर तिर लागेँ।

श्रीमान अप्लाईड फिजिक्सको अवकाश प्राप्त वैज्ञानिक र श्रीमती पनि टोफेल टेष्ट विधि निर्माण गर्ने कामबाट अवकाश लिएकी विज्ञ भएकोले उनीहरू दुवैका कुराकानीका विषयहरू पनि बौद्धिक नै हुन्थ्ये। यसका अतिरिक्त उनीहरूले टेलिभिजन, रेडियो र पत्रपत्रिका आदिका माध्यमबाट निरन्तर आफूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरूमा अद्यावधिक राखेको बुझिन्थ्यो।

उनीहरूका आफ्ना सन्तान नभए तापनि विश्वमा युद्ध र प्राकृतिक प्रकोपहरूबाट पीडित तथा अल्प विकसित मुलुकहरूका बालबालिका, महिला र असहायहरूका लागि चिन्तित र समर्पित भएको कुरा उनीहरूको कुराकानीको प्रसंगबाट थाहा हुन्थ्यो।

त्यसबेला नेपालको मूल समस्या बनेको भुटानबाट खेदिएका नेपाली मूलका भुटानीहरूको भविष्य प्रति पनि उनीहरूको उत्तिकै चिन्ता बुझ्न सकिन्थ्यो। बाटामा व्यक्तिगत र घरायसी विषयमा पनि हामीले कुराकानी गर्‍यौं।

घर र भान्सा

बेलुका घर पुग्नासाथ उनीहरुले मलाई आफ्नो घरमा स्वागत गर्दै गराज, बैठक, भान्सा,शौचालय,कोठाहरू र मेरो लागि पाहुना कोठाको अवलोकन गराए। मलाई त्यहाँ उनीहरुसँग बस्दा के आवश्यक पर्छ या के असुविधा हुन्छ आदि संकोच नमानी कुनै पनि समयमा उनीहरुलाई बताउने सल्लाह दिए।

त्यसपछि मलाई सुविधायुक्त पाहुना कोठामा पुर्याएर रिफ्रेस भएर किचनडाईनिंगमा चिया कफीको लागि आउँन भने। मैले पनि उनीहरुको सल्लाह अनुसार रिफ्रेस भएर उनीहरू भएको ठाउँमा फर्किएँ।

मैले धेरै दिनदेखि घरको खाना छुटेको भनेर मलाई नेपाली खाना खुवाउने उनीहरूको योजना रहेको कुरा चिया कफी पिउँदै गर्दा मलाई सुनाए। मैले उनीहरूको बिचार र योजना प्रति कृतज्ञता ब्यक्त गरें।

श्रीमान चाहिं नेपाल घुमेर फर्किएका र नेपाली खाना बारे जानिफकार व्यक्ति भएकोले उनले आफैं दाल, भात, धनियाँ हालेको गोलभेँडाको अचार र कुखुराको मासु बनाउन सुरु गरे। उनकी श्रीमती र मैले उनलाई सामान्य मद्दत गर्यौं।

खाना तयार भयो, हामी तीनैजनाले सँगै खाना खायौँ। खाना पछि उनले "तिम्रो श्रीमतीलाई यहाँबाट नेपालमा टेलिफोन गरेर सरप्राइज देऊ" भनेर मलाई उनीहरूको ल्याण्ड लाईन फोन तेर्स्याए, तर दुर्भाग्य हामीले त्यसबेलासम्म आफ्नो घरमा टेलिफोन राख्न सकेको थिएनौं।

त्यतिखेर मोबाइलको चलन शुरु भइसकेको थिएन। तर मैले मेरी सानिमा मार्फत छोटो कुराकानी गरेर श्रीमतीलाई सन्देश पठाएँ। हामी तीनैजना धेरैबेर कुराकानी गरेर बिहान ८ बजे ब्रेकफास्टका लागि किचनमा भेटहुने गरी आआफ्नो कोठा तिर लाग्यौं।

भोलिपल्ट मलाई निन्द्राले सधैं झैं बिहानै छोड्यो। ओछयानमै ढल्किएर टेलिभिजनमा सिएनएन, बिबिसी लगायतका समाचार हेरें। नुहाई धुवाई गरेर ठिक आठ बजे किचन तिर आवाज सुनेर म पनि  त्यतै झरें।

सामान्य अभिवादन पछि उनले मलाई कफी कि चिया पिउने भनेर सोधे। म दुईमध्ये जे दिए पनि पिउने थिएँ, तर उनले विकल्प दिएकाले चिया पिउने मनसाय ब्यक्त गरें। उनले मेरा लागि खुशी साथ चिया बनाई दिए तर आफ्ना लागि कफी बनाउन थाले।

उनले आफ्ना लागि कफी बनाएको देखेपछि मलाई अघि नै उनले कफी खाने थाहा भएको भए म पनि कफी खान्छु भन्ने थिएँ, व्यर्थमा उनको काम मात्रै बढ्यो भन्ने पछुतो लाग्यो। मैले उनकी श्रीमती त्यहाँ नभएकी हुनाले उनी कहाँ छिन् भनेर जिज्ञासा राखेँ। उनको अघिल्लो बर्ष शल्यक्रिया भएको र उनी ढाडको दीर्घरोगी भएकोले सधैं बिहान आफ्नै कोठामा योगा सकेर आउँछिन् भन्ने जानकारी दिए।

त्यसपछि उनले मलाई ब्रेकफास्ट के खाने भनेर प्रश्न तेर्स्याए। उनको घरमा के उपलब्ध छ, मैले जानेर यो खान्छु भनेर के जवाफ दिनु म सकसमा परें। किनकी हाम्रो समाजमा कुनै पनि पाहुनाले "म तिम्रोमा यो यो खानेकुरा खान्छु" भनेको मलाई थाहा थिएन।  

म अप्ठ्यारोमा परेको बुझेर हो कि उनले मलाई त्यहाँ उपलब्ध खानेकुराहरू देखाउँदै हामीसँग यो यो खानेकुरा छन् भनेर सहजीकरण गरिदिए। उनले देखाएका खानेकुरा मध्ये मलाई जे जे थाहा थियो तीनै मध्येबाट अप्ठ्यारो मान्दै ३/४ वटा खानेकुरा छनौट गरें।

तर उनले आफ्नो लागि मेरो भन्दा नितान्त फरक खानेकुरा छनौट गरे। उनी आफ्नो लागि अम्लेट पनि बनाउन थाले।

श्रीमान श्रीमतीको सम्बन्ध

मैले उनको श्रीमतीका लागि पनि चिया/कफी, अम्लेट बनाउनु पर्ला कि भन्ने जिज्ञासा राखेँ। उनले कत्ति पनि संकोच नमानी "उनी के खान्छिन् मलाई थाहा छैन" भनेर सहज उत्तर दिए।

यत्तिकैमा उनकी श्रीमती पनि हामीलाई अभिवादन गर्दै भान्सामा छिरिन। अनि हामीसँग गफिदै आफ्नै मर्जीले अरु नै खानेकुरा लिएर टेबलमा आएर खान बसिन्। हामी तीनै जना टेबलमा गफिदै बिहानको नास्ता खाँदै थियौं। हामी प्रत्येकका भागमा फरक फरक खानेकुरा थिए। जो हाम्रो परिवार र समाजका लागि नितान्त अनौठो कुरा थियो।

भोलिपल्ट राती दुई बजे तिर ब्यूँझेपछि मलाई  अघिल्लो दिन बिहानको ब्रेकफास्ट खाँदाको कुराले मस्तिष्क मन्थन गराउन थाल्यो। यी सम्पन्न, शिक्षित दम्पती विवाह गरेर ३० बर्षसम्म एउटै छाना मुनि बसेर पनि कुन बेलाको खानामा श्रीमतीले के खान्छिन् श्रीमानलाई थाहा नहुनु अनि श्रीमान् के खान्छन् भन्ने कुरा श्रीमतीलाई थाहा नहुनु मेरा लागि घोर आश्चर्य र अस्वभाविक लाग्यो।

आफ्नै रुचि र भान्से आफै

यिनीहरूको यो व्यवहारबाट मैले पश्चिमाहरु "व्यक्तिवादी स्वार्थी चरित्र" हुन्छन् भनेर सुन्दै आएको भनाईलाई थप पुष्टी भएको पाएँ। किनभने मैले जान्ने भएदेखि बुझ्दै आएको फरक थियो।

'एउटा भान्सामा एकै पटक खान खान बसेका परिवारका सदस्यहरूले भान्सामा जे जे पाकेको छ, भान्सेले भाग लगाएर दिएको खानेकुरालाई सबैले चुपचाप खाने चलन छ।

भान्सामा पाकेको खानेकुरा मीठो नमिठो भनेर खाना छनौट गर्ने र फ्याँक्ने काम भरसक बच्चाले पनि गर्न हुदैन भनेर सिकाइन्छ। भान्सेले दिएको या भान्सेसँग मागेर बाहेक आफैं भाँडाबाट झिक्दै खाँदै गर्नु त झनै शिष्ट मानिँदैन।

जुठो मुख लिएर आफ्नो भाग बाहेक खानाको भाँडो वा अरुको खाना छुनु हुँदैन' भन्ने बाल्यकालमा आमाबाट सिकेको ज्ञानको अमिट छाप हामी सबैमा अहिलेसम्म पनि छँदैछ।

यही सेरोफेरोमा मैले आफू हुर्किएको समाज, चालचलन र गाउँका प्रत्येक छरछिमेकी सम्झिन पुगेँ। गाउँको पुछारमा सानो झुप्रेघरमा बस्ने अतिविपन्न, सातजना भलट्यांङ्ग भुल्टुंग भएको नौजनाको सुकुम्बासी परिवारलाई पनि सम्झिएँ।

कहिले भुटेको मकै, कहिले कोदो वा मकैको रोटी/ढिँडो, कहिले जंगली सागपात आदि जे मिल्छ त्यही खानेकुरा अलि अलि भाग लगाएर सबै जना अंगेनाका वरिपरी बसेर मिलेर एकसाथ खाने गरेको कुरा मैले थाहा पाएको थिएँ।

मुनामदन गीति काव्यको परिवेश र प्रसंग जे भए पनि "साग र सिस्नु खाएको बेस आनन्दी मनले।" भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित भनाईले अरुको हृदयमा जस्तै मेरो मनमा पनि गहिरो छिप त पारेकै थियो।

मेरो अल्प बुझाईमा मैले उनीहरूलाई प्रसन्न र सन्तुष्ट परिवार सम्झिएको थिएँ। तर मैले उनीहरूको व्यथालाई कहिल्यै गहिरिएर बुझ्ने चेष्टा गरेको रहेनछु।

अमेरिका पुगेर बुझेको नेपाली दुख  

एकजनाको दैनिक ज्यालादारीबाट सबैको मुखमा माड लाउन सधैं हम्मेहम्मे पर्ने अनि उनी कुनै दिन काम नपाई घर बस्नु पर्दा या बिरामी भएको बेला कहाँबाट त्यो परिवारका लागि रासन जुट्थ्यो होला ?

बिरामी भएको या काम नपाएको दिन अलिक ठूला केटाकेटी र श्रीमतीले खोजीमेली ल्याएको जंगली सागपात, कन्दमूल खाएर सुतेको अनि राती नै केटाकेटी भोकले रोएको सुँक्कसुँक्क त मैले सुनकै रहेनछ।

कहिल्यै ती केटाकेटी तथा परिवारजनलाई पेटभरी खान मन लागेन होला र ? न त यो प्रश्न कुनै पत्रकारले कहिल्यै सोधेको सुनें न त मेरा कुनै बिकास बोकेर गाउँमा जाने गैर सरकारी संस्थाका साथीले न म आफैंले।

अनि देवकोटाको "साग र सिस्नु खाएको बेश आनन्दी मनले।" भन्ने आदर्श भनाई ती परिवारका बालबच्चालाई साग र सिस्नु खाएर सुत्दा  कत्तिको आनन्दित मन भयो होला भनेर कहिल्यै विश्लेषण नगरेकोमा आफैंलाई पछुतो लाग्यो।

विपन्नतामा बाँचेको ठूलो परिवारमा बर्षेनी सुत्केरी हुदै आएकी एक विवश महिला। ती महिलाले गर्भवती भएको बेला र सुत्केरी अवस्थामा के कस्तो पोसिलो आहार र हेरचाह पाइन् होला ?  यी कुराहरूलाई मैले कहिल्यै गहिरिएर बुझ्ने चेष्टा गरिनछु।

यस्तो अवस्था त्यो सुकुम्बासी परिवारको मात्र नभई हाम्रो देश तथा अल्प विकसित छिमेकी मुलुकहरूका गरिबीको रेखा मुनी रहेका धेरै परिवारको साझा कथा हो। यति हुँदा हुँदै पनि ती गरीब परिवारका सदस्यहरू घरमा उपलब्ध भोजन जेजति छ त्यसैलाई बराबर भाग लगाएर खानु पर्ने उनीहरूको ना र विश्लेषण गर्न थालें।

मैले यी विपन्न परिवार र त्यस सम्पन्न परिवारलाई तुल बुझाई र दृष्टिकोण अनपेक्षित रुपमा पुरै परिवर्तन हुन थाल्यो।

मैले बुझेको गरिबीको रेखामुनि रहेका परिवारहरूको दैनिक हाँसीखुसी को सहभोज त केबल गरीबी,अभाव र बाध्यता बीच गरिएको एउटा सम्झौता मात्र रहेछ। ती परिवारमा अहिलेको छाक त जसोतसो खाइयो अब भरे के खाने होला भन्ने चिन्ताले सधैं नै पछ्याई रहने रहेछ। केटाकेटीलाई मीठो नमिठो भन्दा पनि पेटभरी खान पाए हुन्थ्यो भन्ने सधैंको चिन्ता। 

न त केटाकेटीलाई झगडा गर्ने छुट न त खाना छान्ने र फाल्ने नै छुट। आमाले दिएको भाग चुपचाप मिलेर नखाए त्यो पनि अर्कैले खाइदिएर दिनभर भोकै परिने उनीहरूको त्रास त मेरा आँखाले कहिल्यै ठम्याउन सकेको नै रहेनछ। उनीहरूको अनुहारमा खुशी र सद्भाव देख्ने मेरो धमिलो चस्मा बिस्तारै सफा र प्रष्ट हुँदै गयो।

त्यहाँ खानाका परिकार छनौट गर्ने कुरा त परै छोडौं सबैलाई पेटभरी खोले खान पाउने कुरासम्मको सुनिश्चित रहेनछ। त्यस परिवारमा गरीबीको कारण पेटभरी पोषिलो आहार खान नपाए कुपोषित मरन्च्याँसे अनुहारहरू । मौसम अनुसारको कपडा लगाउन नपाएका शरीरहरु।

हावाहुरीले उडाउन ठिक्क परेको सानो पुरानो झुप्रो लगायत शिक्षा, स्वास्थ्य, सरसफाइ, मनोरञ्जन, आदिबाट समेत वञ्चित भएका सदस्यहरु जसको मानव/बाल अधिकारका आधारभूत आवश्यकताको समेत हनन भएको कुराहरु मेरो अगाडि चलचित्रका रंगिन दृश्य जस्तै स्पष्ट देखिन थाले।

अब मैले अघिल्लो बिहान ब्रेकफास्ट खान टेबलमा बसेका बेला हामी तीन जनाले लिएका फरक फरक खानेकुराको आधारमा त्यहाँको परिस्थिति र व्यवहार विश्लेषण गर्न थालेँ।

 अधिकार कहाँसम्म !

मैले अघिसम्म व्यक्तिवादी स्वार्थी चरित्रका घटिया देखेका दम्पतीलाई मानव स्वतन्त्रतामा विश्वास राख्ने, एक अर्काको रुचि र चाहनालाई आदर गर्ने अर्थात अर्काको व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारलाई सम्मान गर्ने व्यक्तिको रुपमा देख्न थाले।

किनकी उनीहरूले अव अभाव र गरीबीसँग पौंठेजोरी खेल्नु छैन। दुबैले आआफ्ना रुचि र आवश्यकता अनुसार तयारी/अर्ध तयारी खानाका परिकारहरू चाहेको समयमा मन खुसी झिकेर/ बनाएर खानु भनेको त अधिकारको उपयोग र उपभोग पो रहेछ।

न कुनै भान्से, न कसैको खट्न पटन, न हाम्रो जस्तो महिला नै भान्से लागेर सबैलाई खाना ख्वाई सकेर आफूले अन्तिममा बचेको खानुपर्ने दास संस्कार। न त अहिले त खाइयो भरे के खाने भन्ने चिन्ता, आफै झिक्यो खायो कति आनन्द ! सरसफाइ र स्वास्थ्यका मापदण्डहरू प्रति उनीहरूको चेतना र सजगताको त कुरै नगरे हुने रहेछ।

घरमा मात्र नभई हरेक सार्वजनिक स्थलका शौचालयमा समेत पर्याप्त पानी, साबुन लगायत सरसफाइका सामग्रीहरूको व्यवस्था र तिनीहरूको समुचित प्रयोग त उनीहरूको जीवन पद्धति नै बनिसकेको रहेछ।

प्रश्न आफैंलाई

मैले हाम्रो सामाजिक बनोट, जातीय तथा लैंगिक विभेद, परिवारमा पुरुष र महिला सदस्यहरू बीचको कामको बाँडफाँड, एकअर्का प्रति गरिने सम्मान र सद्भाव/प्रेमलाई बुझे।

खानेकुराको उपलब्धता, आपूर्ति, तयारी र खाने तरिका, हाम्रो समाजको शौचालय व्यवस्थापन, त्यसको प्रयोग, फोहोर मैला व्यवस्थापन र हाम्रा सामाजिक परम्परा र अभ्यास लगायतका विषयमा आफ्नो समुदायको तथा मेरो सोच विचार र बानीलाई आफैं प्रश्न गर्न थालें । सबै हाम्रो गरीबी, अशिक्षा र अज्ञानताको परिणाम हो ?

हामीले गर्व गर्दै आएको संस्कार र सभ्यता के हो त ? यी समग्र कुराहरुलाई विश्लेषण र मुल्यांकन गर्दा एउटा भ्रम पालेर हुर्किएको 'म' आफूलाई मानवताको खुड्किलोमा निकै तल र निकै होचो कद भएको पुड्को अनुभव गरें।

ती नि:सन्तान दम्पती नेपाल लगायत विश्वका गरीब असहाय बालबालिकाहरूको शिक्षा, स्वास्थ्यलगायत बालअधिकार प्रवर्द्धनका लागि सेभ द चिल्ड्रेन संस्था मार्फत बर्षेनी हजारौं डलर दान गर्ने दानवीरहरू मध्येका एक रहेछन् भन्ने कुरा मलाई संस्थाको अभिलेखबाट मात्र थाहा भयो।

ती मित्रलाई सम्मान स्वरूप सेभ द चिल्ड्रेनले अनररी एम्बेसडर मानार्थ दूतको रुपमा सम्मान गरेको रहेछ। सेभ द चिल्ड्रेन संस्थाले काम गर्ने देशहरूमा उनलाई दाताहरुको तर्फबाट कार्यक्रमको प्रभावकारिता अध्ययन गर्न कुनै कुनै साल स्वयंसेवकको रुपमा जान अनुरोध गर्दो रहेछ।

यो सबै कुरा थाहा पाए पछि मैले व्यक्तिवादी र स्वार्थी सम्झिएका मानिसहरूको "मानवता प्रतिको हृदय निकै विशाल, दीन दुखीहरूको सहयोगका लागि निःस्वार्थ खुल्ला हातहरू" भएको महशुस गरें।  मेरो गलत र उल्टो बुझाइलाई मैले समयमै सच्याउन पाएँ।

बिचार गरें,उनीहरू जस्तै धेरै धेरै मनकारी पश्चिमा दानवीरहरू कै दानबाट नेपाल लगायत गरीब मुलुकहरूमा काम गर्न आएका थुप्रै अन्तर्राष्ट्रिय गैर सरकारी संस्था मार्फत सरकार तथा स्थानीय गैर सरकारी संस्थाहरूसँगको सहकार्यमा समुदायको उत्थानका लागि शिक्षा, स्वास्थ्य,मानव अधिकार जनचेतना,सरसफाइ, खानेपानी,वित्तीय साक्षरता, बचत तथा ॠण परिचालन, पूर्वाधार निर्माण आदि जस्ता विकासका थुप्रै राम्रा काम भएका छन्।

प्राकृतिक विपद, मानव निर्मित विपद (द्वन्द्व/गृह युद्ध, युद्ध) का समयमा पनि सरकार मार्फत प्रभावित क्षेत्रका पीडित समुदायको राहत, पुनर्स्थापना र व्यवस्थापनका लागि सहयोगका कार्यहरू भएका छन्। यस अतिरिक्त हाम्रो आफ्नो व्यवस्थापन र नियमनका कमजोरीका कारण कतिपय अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कुनै स्वार्थ समूहका एजेन्डाहरू पनि घुसाएर बदनाम भएका पनि छन।

अपेक्षित कार्य गर्न नसकेका अपवाद बाहेक समग्रमा धेरै राम्रा कामहरू भएको पाइन्छ। पर्दा पछाडि रहेर निःस्वार्थ भावले विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू मार्फत अरुको दु:खमा सहयोग गर्ने उनीहरूको विशाल हृदय र मनकारी हातहरूलाई व्यक्तिवादी स्वार्थी चरित्र भन्ने मेरो अधुरो बुझाई र भ्रमलाई मैले त्यसै दिनदेखि सदाका लागि बिदा गरेको छु।

सूर्यविनायक, भक्तपुर
हाल : सिकागो, अमेरिका 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.