|

काठमाडौं : नेपालमा हुने कुल अपराधमा लागुऔषध सम्बद्ध अपराधको भार बढ्दै गएको छ। लागुऔषधसँग सम्बन्धित अपराधले शान्ति सुरक्षामा र कानूनको पालनामा चुनौती थपेको गृह मन्त्रालयले जनाएको छ।

५ वर्षे लागुऔषध रोकथाम तथा नियन्त्रण गुरुयोजना सार्वजनिक गर्दै गृह मन्त्रालयले लागुऔषध दुरुपयोगबाट मानव स्वास्थ्य, सार्वजनिक शान्ति, सामाजिक एवम् आर्थिक उन्नतीमा बाधा पुगेको देखाएको छ।

'यसले गर्दा लागुऔषधकै कारण समाजमा अपराध बढ्न गई सुरक्षा निकाय, कारागार प्रशासन, अदालतजस्ता 'जस्ता राज्यका अति महत्त्वपूर्ण निकायमा लागुऔषधकै कारण कामको चाप बढेको र ठूलो मात्रामा स्रोत साधन खर्चिनु परेको प्रष्ट हुन आउँछ', मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

२१ प्रतिशत कैदी लागुऔषधका दुर्व्यसनी

नेपाल प्रहरीको तथ्यांकअनुसार आव ०७२/७३ मा नेपालमा दर्ता भएका जम्मा २८ हजार ५ सय ६३ मुद्दामध्ये १ हजार ९ सय ७४ अर्थात कुल मुद्दाको ७ प्रतिशत मुद्दा लागुऔषधसँग सम्बन्धित रहेको देखिएको छ।

यो अनुपात आव ०७३/७४ मा बढेर ८ प्रतिशत र आव ०७५/७६ मा ९ प्रतिशत भएको देखिन्छ। त्यसैगरी जिल्ला कारागारहरूबाट प्राप्त विवरणअनुसार २०७८ कात्तिकमा देशभरका कारागारमा रहेका २६ हजार कैदी बन्दीमध्ये २१ प्रतिशतभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दामा संलग्न रहेको देखिएको मन्त्रालयले जनाएको छ।

नेपालमा लागुऔषधका शुरुआती प्रयोगकर्ताले मुख्य ८ प्रकारका लागुऔषध सेवन गरेको देखिन्छ जसमा डाइजेपाम, अफिमजन्य पदार्थ, ट्रामाडोल, प्रिग्यावलिन, सुँध्ने पदार्थ, गाँजाजन्य पदार्थ, भ्रमात्मक पदार्थ र उत्तेजनात्मक पदार्थ रहेका छन्।

सबैभन्दा बढी गाँजाजन्य पदार्थ सेवनकर्ता ८० दशमलव ४ प्रतिशत रहेका छन्। डाइजेपाम ९.४ प्रतिशत, अफिमजन्य पदार्थ ४.७ प्रतिशत, ट्रामाडोल र प्रिग्यावलिन १.९ प्रतिशत, सुँघ्ने पदार्थ १.८ प्रतिशत, भ्रमात्मक पदार्थ ०.५ प्रतिशत र उत्तेजनात्मक पदार्थ ०.१ प्रतिशतले प्रयोग गरेको देखिएको छ।

विश्वमा लागुऔषधको अवस्था

संयुक्त राष्ट्र संघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी) को विश्व लागुऔषध प्रतिवेदन-२०२१ ले विश्वमा लागुऔषधको भयावह अवस्था प्रस्तुत गरेको छ। उक्त कार्यालयका अनुसार सन् २०१९ मा विश्वभर २७ करोड ५० लाख लागुऔषध प्रयोगकर्ताहरू रहेका थिए।

यो संख्या सन् २०१० को तुलनामा २२ प्रतिशतले बढी हो। लागुऔषध प्रयोगकर्तामध्ये १ करोड १० लाख व्यक्ति सुईद्वारा लागुऔषध प्रयोग गर्छन्। लागुऔषध प्रयोगकर्तामध्ये करिब ६० लाख जनामा हेपाटाइटिस र १४ लाख जनामा एचआईभीको संक्रमण रहेको प्रतिवेदनले देखाएको छ। लागुऔषध प्रयोगकर्ताको वृद्धिदर विकसित मुलुकमा ७ प्रतिशत र विकासोन्मुख मुलुकमा २८ प्रतिशत रहेको देखिन्छ।

लागुऔषधको आर्थिक सामाजिक प्रभाव

लागुऔषधका कारण अपव्यय बढ्ने, रोजगारीको अवसर गुम्ने, गरिबी बढ्ने, भ्रष्टाचार वृद्धि हुन सक्ने, उत्पादकत्व तथा उद्यमशीलतामा ह्रास आउने, काममा अनियमितता र कार्यस्थलको वातावरण बिथोलिनेजस्ता आर्थिक असरहरू पर्ने मन्त्रालयले जनाएको छ।  

त्यसैगरी परिवारमा तनाव, झैझगडा, बेमेल, पारिवारिक विचलन, विखण्डन, सम्बन्धविच्छेद, व्यभिचार बढ्ने, चोरी, समाजबाट टाढा हुँदै जाने, सामाजिक अपराधमा संलग्नता बढ्ने, समाज तथा आफन्तका दृष्टिमा घृणाको पात्र बन्न सक्ने, कानूनको अवज्ञा गर्ने, अराजकता तथा गुण्डागर्दी गर्ने, घरेलु हिंसा गर्ने र लागुऔषधको कारोबारमा संलग्न हुन सक्ने जस्ता सामाजिक असरहरू देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.