|

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुने गरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन्।

उनले एकै ठाउँमा जाँदा पनि फरक फरक भाडा दर दिने अवस्थाको तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा दर निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने स्पष्ट पारे।

गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको बताए।

त्यसका लागि सरकारले सरोकारवाला पक्षहरुसँग बृहत छलफल गरेर अघि बढ्न चाहेको गृहमन्त्री खाँणको भनाई थियो।

उनले भने, ‘यात्रुहरुलाई भाडा तिर्दा धेरै बोझ नहोस्। त्यतापट्टि ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई। अव यात्रुको बारेमा पनि बोल्नुपर्छ जस्तो लाग्यो। यात्रुहरूको गुनासो के छ भन्दा खेरी एकैठाउँमा जाँदा पनि भाडा फरकफरक हुन्छ। भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नपरोस्। यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकार सदा तयार छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.