|

सत्यानृता च परुषा प्रियवादिनी च

हिंसा दयालुरपि चार्थपरा वदान्या ।

नित्यव्यया प्रचुरनित्यधनागमा च

वाराङ्गनेव नृपनीतिरनेकरुपा ।।

भर्तृहरि नीति शतक श्लोक ४७ मा उल्लेख छ - कहिं सत्य, कहिं मिथ्या, कहिं कटुभाषा र कहिं प्रियभाषा त, कहिं हिंसा र कहिं दया, अनि कहिं लोभ र कहिं दान त कतै अपव्यय र कतै धन सञ्चय गर्ने राजनीति द्वैध चरित्रकै व्यक्ति सरह हुन्छ। यिनलाई विश्वास गर्नुपनि अन्याय सहनु हो।

स्थानीय निर्वाचनको माहोल तात्दैछ। गठबन्धन र उमेदवारी चयनको रौनक छ। उमेदवारीदेखि निर्वाचनको विजयी, चुनावी प्रचारप्रसार र विजयपछिको देश विकासका एजेन्डामा आफ्नै राजनीतिक घोषणापत्रको सहारा छ।

परिवर्तनको लागि नयाँ पुस्ता भनिएपनि विगतकै उमेदवार आफ्नो बर्चश्व छोड्न चाहन्नन्। नयाँलाई अवसर, महिलालाई अवसर यो चाहिं निर्वाचनमा सम्भव रहेनछ क्यारे। पुरानो पुस्ताका कसैले निःस्वार्थ देशको सेवामा, देशको विकासमा योगदान दिन सकेनन्।

अब फेरि त्यहि परम्परागत ढंगले पुरानो राजनीतिक दल भनेर विश्वास गर्ने र पुरानै नेतृत्व छानेर अब देशलाई बर्बाद हुन दिनुहुन्न, अब नयाँ सोच र एजेन्डाकासाथ अघि बढ्नुपर्छ भनेर नयाँ दलहरू र स्वतन्त्ररूपले पनि निर्वाचनमा उत्साहित हुने नयाँ नेतृत्व पनि मैदानमा उत्रिदै छन्। तर, विडम्बना नै मान्नुपर्छ राजनीतिको आडमा आफूलाई सक्षम ठान्नेहरूले राजनीति नै बुझेका छैनन्।

एउटा प्रवचनको क्रममा सिद्धार्थ औलियाले बताउनुभएको छ चतुर्यांई, स्वार्थ, होशियारी, झुठ, धोका, गठबन्धन, आश्वासन, दोस्रोलाई पराजित गर्नु, षड्यन्त्र गर्नु, आफ्नो बर्चश्व स्थापित गर्नु आदि आदि यि सबै राजनीतिक विषय ओगट्ने प्रवृत्ति होइनन्।

आजकल भन्ने गरिन्छ सम्बन्धमा खटपट भएपनि राजनीति भयो, कुनै योजनामा सोचे अनुरूप भएन राजनीति भयो। जुन क्षेत्रमा पनि काम बनेन या प्रतिकूल अवस्था देखिन्छ अनि भनिन्छ राजनीति हावी भयो। अब यसलाई नै आधार मानेर भन्ने गरिएको छ सबै कुरा गर तर राजनीति नगर, मानौं कि राजनीति अधर्म नै हो। राजनीतिको मर्म र उद्देश्य नबुझेर यस्तो भएको हो।  त्यसो हो भने के हो त राजनिति?

राजनीति एउटा कला

भनिन्छ नि जीवन खुसीले बाँच्न कला चाहिन्छ। संगीतको सुर ताल मधुर निकाल्न होस् या बोलीको मिठास, सम्बन्धमा मधुरता थप्न होस्, अभिनयमा होस् या खानपान र आचरण सबै कला हुन्। कलाको निपूर्णताबाट मात्र त्यसको असली गुणवत्ता मौलाउन पाउँछ। त्यसो हो भने राजनीतिमा कलाको विकास हुनु भनेको कर होला त?

राजनीति बैचारिक संघर्ष हो किनकी भिन्न भिन्न सोचलाई राजी गर्नु, प्रशंसा गर्नु र त्यसलाई समायोजन गरेर बृहत राज्यको हित कसरी हुन सक्छ त्यसमा ध्यान दिने कला राजनितिक कला हो। गुट–उपगुटमा विभाजित भएर, विचारधारा छरिएर एकत्रित हुन् नसकेको समूह र नेतृत्व तहलाई एकताको सूत्रमा बाँध्ने कला राजनीति हो।

एकमतमा सर्व मतलाई राजी गराउनु, सर्वस्वीकार्य कानून बनाउनु, कानून र नियममा नचल्नेलाई अनुशासन सिकाउनको लागि आचार संहिता तयार गर्नु राजनीतिज्ञले गर्ने कार्य हुन्। को आफ्नो र को पराइ, कसले आफ्नो भलो चाहन्छ र विचारलाई समर्थन गर्छ त्यसको हित गर्नु राजनीति होइन। समग्रतामा राज्यको हित, नागरिक हित, सभ्यता र संस्कारको जगेर्ना गर्न सक्ने नेतृत्व राजनीतिक नेतृत्वको कला हो।

कर्तव्य पराणयता, जिम्मेवारी बोध र आन्तरिक क्षमता प्रदर्शन गरी राज्य र नागरिक हितमा कर्म गर्न प्रेरित गर्ने आफूले त्यसलाई व्यवहारिकता दिने कला राजनीति र राजनीतिज्ञको कला हो। राजनीतिज्ञले आफ्नो मन र इन्द्रीयलाई समेत नियन्त्रणमा लिएर विनय, अनुशासन, निःस्वार्थ भाव, दोस्रोको खुसीको लागि आफ्नो सुखलाई त्याग गर्न सक्ने कलाको विकास गर्न सक्नुपर्दछ।

विकासका लागि बहस गर्ने त्यति खराब हुँदैनन् जति बहसको नाममा छलकपट गर्नेहरू हुन्छन्। मिठो बोल्ने, आश्वासन दिने तर कुनै राम्रो काम नगर्नेहरू नै राजनीतिज्ञ हुन् भन्ने भ्रम परेको छ जनमानसमा।

चाणक्यले बताएका छन्–जसले अर्थ निती, कुटनीति र राजनीतिलाई कुशलतापूर्वक निर्वाह गर्ने कला जानेको छ उसले जीवनमा कहिल्यै पछुताउनु पर्दैन। उसको जीवनमा र राज्य कहिल्यै कठिनाइ पनि आउदैन।

सामान्यतया नागरिकका आधारभूत आवश्यकताको परिपूर्तिका लागि आवश्यक पर्ने अर्थ र यसको उचित व्यवस्थापन गर्ने प्रणालीलाई अर्थनीतिको रुपमा बुझ्न सकिन्छ । नागरिकका आधारभूत आवश्यकताका वस्तु तथा सेवाहरुको उत्पादन, विनिमयका माध्यमबाट बिक्रि वितरण र यसको उपभोगको व्यवस्थापन गर्ने आर्थिक प्रणाली नै अर्थ नीति हो ।

कुशलतापूर्वक जिम्मेवारी लिन सक्ने कला भएकोले मात्रै राजनीतिक भूमिका निर्वाह गर्न सक्दछ। कुटनीतिको अर्थ हो प्रतिकूल परिस्थितिलाई सम्हाल्न सक्ने कलाकौशलता। नि:स्वार्थ भावनाकासाथ आवश्यक सहयोग लिनु र दिनु त्यो देशका मातहत सरकारका बिचमा होस् या युनियन र संघसंस्थाका बिचमा, या त विदेशी नीति मार्फत, विदेशी मार्फत स्वदेशको भलाई र दुई पक्षीय सम्बन्ध सौहार्दपुर्ण बढाई आत्मियता र सुमधुर सम्बन्ध कायम गर्न सक्ने क्षमता कुटनीति हो। यो कला नजान्ने व्यक्ति राजनीतिज्ञ हुनै सक्दैन।

राजनीतिको अर्थ उच्च नीति, अर्थात् सबैलाई मिलाएर सबैको स्वीकार्य संहिता बनाएर विकासका कार्यमा सबैलाई प्रेरित गर्नु राजनीति हो। यति कला जान्ने व्यक्तिले मात्र राजनीति मार्फत भलाइको कर्म गर्न सक्छ। राजनीतिलाई एउटा कलाको रूपमा सोच्ने व्यक्तिलाई राजनीतिज्ञको रूपमा विश्वास गरी अघि बढाउन सकिन्छ।

साम, दाम, दण्ड, भेद

भनिन्छ राजनीतिमा साम, दाम, दण्ड, भेद सबै अपनाउनु पर्दछ। यसको अर्थ र हाम्रा राजनीतिज्ञले यसलाई अभ्यासमा ल्याएको आधारमा त लाग्छ घुस खुवाएर, भ्रस्टाचार गरेर, गुटबन्दी र बल प्रयोग गरेर अराजक तरिकाले आफ्नो दल हावी गराउन सक्नु या आफू सर्वेसर्वा हुन प्रयोग गरिने अभ्यास हो। तर वास्तविक अर्थ र व्यावहारिकता के हो त ?

साम– साम भन्नाले–कसैलाई पनि सम्यक प्रशंसा गरेर आफ्नो विचारलाई, आफ्नो घोषणापत्रलाई विश्वास गर्ने आधार प्रस्तुत गर्नु हो। हरेकको गुण दोषलाई केलाएर सम्यक मार्गमा ल्याउन राजी गर्नु हो। संवादको माध्यमबाट, पहिले अरुको सुन्ने अनि आफ्नो तर्क र एजेन्डाको आशय बताउने विश्वसनीय कला हो साम।

हाम्रो राजनीतिमा  झुठो आश्वासन दिएर क्षणिक विश्वास जित्ने काम भईरहेको हुन्छ। अबको नयाँ नेतृत्वले सामको अर्थलाई राम्ररी बुझेको हुनुपर्दछ। 

दाम–दामको अर्थ नेतृत्वमा हुनेले दाम अर्थात् पैसा कमाउनु होइन, यसको वास्तविक अर्थ हुन्छ दान दिनु। राजनीतिमा दान भन्नाले अरूलाई कुनै पद र जिम्मेवारी मार्फत आर्थिक लाभ हुने काम दिनु। जब अरूलाई पद र जिम्मेवारीमा दिइन्छ उसलाई कर्तव्य बोध महसुस हुन्छ। कर्म गर्ने प्रेरणा जागृत हुन्छ। जागृत चेतनाले गरेको कर्मबाट कर्म गर्नेलाई र सेवा लिने दुबै पक्ष अर्थात् नेतृत्व र नागरिक, देश र राजनीतिक दल दुबै पक्षलाई लाभ मिल्छ।

आर्थिक लाभको अर्थ समग्रमा देश र समुदायको जीवनस्तर सुध्रिनु  हो। यहि सुधारिएको अवस्थालाई विकास भन्न सकिन्छ जहाँ एक पक्षीय फाइदा होइन सर्वहितको भावना र परिणाम रहेको हुन्छ। 

दण्ड– समाजमा, राष्ट्रमा अराजकता मच्चाउने, नागरिकको अहितमा कर्म गर्ने, शोषण गर्ने, चोरी, अपराध, डकैती र दुष्टता पूर्ण व्यवहार गर्ने, अराजक मानसिकतालाई आचार संहिताको आधारमा मानवीयताको मर्म बोध गराउनको लागि सजाय दिलाउनु अर्थात् चेताउनु दण्ड हो।

नेताको स्वार्थ पूरा नगरिदिनेलाई सजाय दिनु, सरुवा गरिदिनु, पदोन्नति हुन् नदिनु, मानसिक यातना दिनु दण्ड होइन। त्यसैले राजनीतिलाई विश्वास र विकासको माध्यम बनाउनको लागि सबै आयाम बुझेको हुनुपर्दछ।

भेद–विभाजन ल्याउनु, गुट,उपगुट निर्माण गर्नु अर्थात् समानतामा नल्याई भेद सृजना गर्नु राजनीति होइन। अरूलाई पराजित गरेर, अस्तित्व नै  समाप्त गरेर विजयी हुन्छु भन्ने मानसिकता राजनीतिमा निकृष्ट अभ्यास हो।

त्यसैले समूहलाई, अलग विचारधारालाई उचित प्रवर्द्धन र व्यवस्थापन गरेर बहुजन हितायको कर्म गरी शान्ति, सुशासन र दीर्घकालिन विकासको अवधारणालाई अस्त्र बनाउने कुशल व्यक्ति नै सहि राजनीतिज्ञ ठहरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.