निर्वाचन आयुक्त र ओलीको अभिव्यक्ति मिलेकोप्रति आलोचना

|
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। 

आइतबार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन्। 

‘प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो?’‚ उनले प्रश्न गरे। 

नेता पुनले भने, ‘हामी विभिन्न संवैधानिक निकायहरू, व्यक्तिहरू, प्रशासन, सबै संयन्त्रलाई निष्पक्षतापूर्वक निर्वाचन सम्पन्न गर्न पनि हामीले अपिल गर्न चाहन्छौँ। निर्वाचन आयोगका प्रमुख आयुक्त जस्तो व्यक्ति, त्यो कुर्सीमा बसेको व्यक्ति कोही पार्टीको हुँदैन। एउटा उच्च व्यावसायिक क्षमता भएको दक्ष मान्छे नै त्यहाँ पुग्ने हो। संविधानले त्यो विश्वास गरेको छ। त्यस अर्थमा निर्वाचन आयोग आज रेफ्रीको भूमिकामा। रेफ्री आफैँ मैदानमा ओर्लेर खेल खेल्न लाग्यो। गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ?’

कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने उनको भनाइ छ। आयोगलाई निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न पनि आग्रह गर्दै रेफ्रीको भूमिकामा बस्न सुझाए। 

ओलीबारे 

उनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरूले निष्पक्ष भूमिका खेल्न नसकेको पनि बताए। संविधान र लोकतन्त्रको रक्षाका निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धिको रक्षापछि गठबन्धनका दलहरू आपसमा प्रतिस्पर्धा गर्ने बताए। 

उनले भने, ‘आजको एजेण्डामा केपी ओली वामपन्थी होइनन्‚ दक्षिणपन्थी र प्रतिगामी हुन्। ओलीजीले लगाइराखेको आरोपमा कही हिच्किचाइराख्नुपर्ने, आत्तिनुपर्ने छैन। यसको अर्थ सधैँ कांग्रेस र माओवादीको एउटै विचार धारा हो, हामी सधैँ रहिराख्छौँ होइन। हामी संविधानको रक्षा, लोकतन्त्रको रक्षा, अहिलेका उपलब्धिका रक्षापछि हामी प्रतिस्पर्धा गर्छौ। माओवादी समाजवादको आधार तयार गर्दै समाजवादतिर जाने उसको गन्तव्य छ। कांग्रेसको प्रजातान्त्रिक समाजको गन्तव्य छ। आ–आफ्ना गन्तव्यहरू छन्।’

एमालेले धार्मिक एजेण्डा बोकेर हिँडेको समेत आरोप लगाए। एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिँड्नुपर्ने अवस्था आएको उनको भनाइ छ। 

वामपन्थी एकताको कुरा 

ओलीले बाहिर बाहिर हुंकार गरे पनि भित्रैबाट गलिसकेको र पराजित भइसकेको उनले दाबी गरे। ओली पराजित हुनु वामपन्थीहरूको एकताको ग्यारेन्टी भएको बताए। 

उनले भने, ‘उहाँ आफैँ आज धार्मिक एजेण्डा बोकेर हिँड्ने राजावादीहरूसँग तालमेल गर्दै हिँड्ने अवस्थामा पुग्नुभएको छ। हिजो उहाँले हुंकार गर्नुहुन्थ्यो। पाँच दल पाँच किलो : एक्लै एक क्विन्टल एमाले भन्नुहुन्थ्यो। आज त्यहाँ ढक नपुगेर कांग्रेसले कारबाही गरेका गोविन्दराजलाई लिएर केही ग्राम थप्दै हुनुहुन्छ। त्यसैगरी राप्रपाबाट चोइटिएको सानो कमल थापाको गुटलाई लिएर उहाँले अलिअलि केही ग्राम थपिराख्नुभएको छ। किन त्यस्तो बाध्यता पर्‍यो? हामीलाई हराउन रोल्पामा ६ वटा गाउँपालिकामा केपी ओलीले विप्लवजीहरूसँग गठबन्धन गरिराख्नु भएको छ। अनि उहाँ एक क्विन्टल के हो त नि? त्यहाँ त हामी एक्लै छौँ। पाँच दल पनि छैनौँ। एक्लाएक्लै मित्रवत् प्रतिस्पर्धा गरिराखेका छौँ।’

माओवादी केन्द्रको प्रहार ओली प्रवृत्तिमाथि भएको भन्दै एमालेभित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तमाथि नभएको स्पष्ट पारे। भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरूको वैचारिक रूपमा ध्रुवीकरण हुने समेत बताए। 

‘केपी ओली बाहिर जति बहादुरी देखाउनुहुन्छ, हुंकार देखाउनुहुन्छ‚ भित्र भित्रै असाध्यै गल्नु भएको छ‚ भित्र पराजित भइसक्नुभयो भन्ने कुरो तथ्य यही हो नि। हामी त व्यवहार हेर्ने हो। उहाँ भित्रैदेखि गल्नुभएको छ। भित्रैदेखि पराजित हुनुभएको छ। आज केपी ओली प्रवृत्ति पराजित हुनु नेपालको संविधानको रक्षा, लोकतन्त्रको रक्षा र अग्रगमनको सुनिश्चितता हो। वामपन्थीहरूको वास्तविक एकताको ग्यारेन्टी पनि हो’‚ उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.