|

राजकुमार भट्टराई

खोटाङ : हाल सरकारमा रहेका पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेसँगै देशका अधिकांश ठाउँमा गठबन्धन निर्माण भएको छ।

कतै गठबन्धन कायम गरिएको छ भने कतै स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय भएको छ। तर, नेकपा एमालेसँग गठबन्धन गर्न नपाइने भन्दै पाँच दलले निर्णय नै गरे पनि यता खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग गुपचुप गठबन्धन गरेको खुलेको छ।

एमाले र माओवादीले नगर प्रमुख र उप–प्रमुखमा छुट्टै उम्मेद्वार दिए पनि एमालेका प्रमुख र माओवादीका उप–प्रमुखलाई मात्र भोट मागिएको एक स्रोतले बताएको छ।

एमालेको तर्फबाट नगर प्रमुखमा खडेन्द्र साम्पाङ राई र उप–प्रमुखमा तुलसा बुढाथोकी, माओवादीको प्रमुखमा रुषिका राई र उप–प्रमुखमा अमेम्बर राईको उम्मेद्वार छ। तर, यी दुई दल र एकीकृत समाजवादीले मिलेर एमालेका प्रमुख र माओवादीका उप–प्रमुखमा मात्र भोट मागेको खुलेको हो।

हलेसी तुवाचुङ नगरपालिकाका एक नेताले नाम नलेख्‍ने सर्तमा उनीहरूको गुपचुप गठबन्धन भएको खुलाएका छन्। त्यहाँस्थित विभिन्न मतदाताहरूसँऊ बुझ्दा पनि एमालेको प्रमुखलाई मात्र र माओवादीका उप–प्रुखलाई मात्र भोट मागिएको बताएका छन्।

माओवादीका अमेम्बर राईलाई नगर प्रमुखमा उम्मेद्वार बनाउने पार्टीले निर्णय गरे पनि मनोनय दर्ता गर्दा उनको नाम उप–प्रमुखमा दर्ता हुँदा कतै एमालेसँग तालमेल गर्न लागिएको त हैन भनेर आशंका गरिएको थियो। सो आशंका अहिले वास्तविकतामा परिणत भएको छ।

गोप्य स्रोतको भनाइअनुसार नगरपालिकाको ११ वटै वडामा पनि यी तीनवटा दलले गठबन्धन गरेका छन्। २, ३, ९, १० र ११ नम्बर वडामा एमालेका उम्मेद्वारलाई विजयी गराउनेगरी भोट मागिएको छ।

यस्तै, १, ५, ६ र ७ नम्बर वडामा माओवादी र ४ नम्बर वडामा एकीकृत समाजवादीका उम्मेद्वारलाई मात्र भोट मागिएको छ। वडा नम्बर ८ मा भने एमाले, माओवादी र जनता समाजवादी पार्टीबीच गठबन्धन गरेर उम्मेद्वारी दर्ता गराइएको छ।

जिल्लाका शीर्ष नेताहरुको समझदारीअनुसार खोटाङका ६ स्थानीय तहमा चार दलीय गठबन्धन र हलेसी तुवाचुङ नगरपालिकासँग अन्य तीन स्थानीय तहमा स्वच्छ प्रतिस्पर्धा गर्ने तर एमालेसँग कुनै पनि दल नमिल्ने निर्णय भएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.