|

कञ्चनपुर : भीमदत्त नगरपालिका १९ बागफाँटामा नेकपा माओवादी केन्द्र र समाजवादी गठबन्धनका कार्यकर्ताले एमालेका दुई कार्यकर्तामाथि आज कुटपिट गरेका छन्। कुटपिट गरिएकामध्ये एक जनाको टाउकोमा चोट लागेको छ।

एमालेको चुनावी प्रचारमा जाँदै गरेका अन्जु कार्की चौधरी र राजेन्द्र अवस्थीलाई गठबन्धन कार्यकर्ताले कुटपिट गरेका हुन्। माओवादी केन्द्रका भीमदत्त नगर अध्यक्ष अशोक चन्द र रघुबीर धामी लगायतले उनीहरुलाई कुटपिट गरेको भन्दै प्रहरी बिटमा निवेदन दिएका छन्।

कुटपिट गरिएकी कार्की अघिल्लो निर्वाचनमा माओवादी केन्द्र छाडेर एमाले आएकी हुन्। उनी माओवादीको सशस्त्र जनयुद्धकी जन कलाकार हुन्।

कार्कीको टाउकोमा चोट लागेको छ। महाकाली अस्पतालमा भर्ना गरिएका उनीहरुमध्ये कार्कीलाई धनगढी रिफर गर्ने तयारी भएको छ।

नेकपा एमालेका उपसचिव कर्ण बहादुर चन्दले चुनाव हार्ने डरले प्रचारमा जाँदै गरेका आफ्ना कार्यकर्तालाई कुटपिट गरिएको बताए। ‘चुनाव हार्ने भएपछि कुटपिट गरिएको छ’ उनले भने।

स्थानीयका अनुसार सिद्धनाथ आधारभूत विद्यालय नजिक गठबन्धनको चुनावी र्‍याली निकालिरहेका बेलामा बाटोमै उनीहरुमाथि कुटपिट गरिएको हाे।

चुनावी र्‍यालीमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल, प्रदेश सभा सदस्य लाल बहादुर खड्का लगायतका नेताहरु सहभागी भएका छन्।

भीनपा १९ गठबन्धनबाट जग्गु राज चौधरी र एमालेबाट साहेब राना अध्यक्षका उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा एमालेले वडा अध्यक्ष सहित सदस्यहरु जितेको थियो। कांग्रेस दोस्रो हुँदा माओवादी केन्द्र तेस्रो भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.