|

सर्लाही : स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप भएपछि सुरक्षाकर्मीले गोली चलाएका छन्। धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले एक दर्जन बढी हवाई फायर गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौलमा स्थिती नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जानकारी दिए।

 नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद तथा झडप भएपछि स्थिती नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रजिअ गौतमले बताए। कार्यकर्ताहरूबीच ढुंगा हानाहान समेत भएको छ। विवाद भएको ठाउँमा स्थिती नियन्त्रणमा लिन नेपाली सेनाका सुरक्षाकर्मी समेत खटाइएको छ।

त्यहाँ हाल मतदान कार्य अवरुद्ध भएको छ। त्यस्तै बलरा नगरपालिका–१, हथियौल स्थित मतदान स्थलमा पनि विवादका कारण मतदान कार्य अवरुद्ध भएको प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए। त्यस्तै, कौडेना गाउँपालिका–६ श्री जनता आधारभूत मतदान स्थलमा समेत नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य केहीबेर अगाडिबाट सूचारु भएको छ।

केही मतदान स्थलमा पनि विवादका कारण मतदान कार्य स्थगित भएको छ। अन्य स्थानमा भने बिहान सात बजेबाट शान्तिपुर्ण रुपमा निर्वाचन भैरहेको प्रहरी उपरीक्षक पोख्रेलले बताए।

जिल्ला स्थित अधिकांश मतदान केन्द्रहरूमा भने मतदान कार्य सुचारु रहेको प्रहरीले जनाएको छ। सर्लाहीमा ३१८ मतदान स्थल अन्तर्गत ५९९ मतदान केन्द्र रहेका छन्।

आज भएको मतदानबाट ११ नगरपालिका र ९ गाउँपालिका गरी २० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा २०० वडाध्यक्ष एवं ८०० जना वडा सदस्य गरी एकहजार ४० जना जनप्रतिनिधि चुनिने छन्। जिल्लामा ४ लाख ७४ हजार ४३९ मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.