|

हेटौंडा : शुक्रबार देशैभरि एकैसाथ स्थानीय तहको निर्वाचन भइरहेको छ।

मकवानपुरमा पनि शुक्रबार जिल्लाका १० वटै स्थानीय तहमा एकैसाथ निर्वाचन भइरहेको छ। २०७४ सालको निर्वाचनको तुलनामा मकवानपुरमा अहिलेको निर्वाचनमा करिब ३५ हजार मतदाता थपिएका छन्। पाँच वर्षपछि भइरहेको स्थानीय तहको निर्वाचनमा विशेषगरी थपिएका मतदाता उत्साहित देखिएका छन्।

अघिल्लो निर्वाचनमा मतदान गरिसकेका भन्दा पनि नयाँ मतदाताहरू आफ्नो स्थानीय तहको जनप्रतिनिधि चयन गर्न बढी उत्साहित देखिएका हुन्। शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न आइपुगेका ९५ वर्षीय गोविन्दप्रसाद अधिकारी उत्साहित र निराश दुवै देखिन्थे।

२०३६ सालदेखि सबै निर्वाचनमा निरन्तर मतदान गर्दै आएका उनी यो उमेरसम्म पनि मतदान गर्न पाउँदा खुशी लागेको बताउँछन्। बुढेसकालमा पनि जनप्रतिनिधि चुन्न आफूले मतदान गर्न पाएकोमा खुशी लागेको बताएका अधिकारीले आफूले दिएको मतको कदर नभएको भन्दै चिन्ता पनि व्यक्त गरे।

‘अहिलेसम्म कतिलाई भोट हालियो भन्ने मसँग हिसाब छैन तर आफूले भोट हालेकाहरू आफू मात्रै माथि पुगे‚ केही गरेनन्’, उनले भने। अधिकारीले निर्वाचनमा मतदान गर्नु आफ्नो दायित्व सम्झेर निरन्तर मतदान गर्दै आए पनि निर्वाचनपछि मतदान गरेकाहरू आफ्नै स्वार्थमा हराउने गरेको टिप्पणी गरे।

‘हाम्रो जस्तैगरी आफ्नो कर्तव्य सम्झेर उनीहरूले पनि जितेपछि काम गरे पो मनले मान्थ्यो। चुनाव जितेपछि उनीहरू आफ्नै स्वार्थमा हराउँछन्’, आक्रोशित हुँदै अधिकारीले भने। उनले नेताहरूको स्वार्थका कारण देशमा नकारात्मक कुरा बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गरे। 

हेटौंडा–४ स्थित भुटनदेवी माविमा रहेको मतदान केन्द्रमा मतदान गर्न आइपुगेकी ८३ वर्षीया सावित्री सुवेदीले २०१५ सालदेखि नै मतदान गर्दै आएको बताइन्। जतिपटक मतदान गरे पनि देशको व्यवस्था फेरिए पनि अवस्था नफेरिएको उनको गुनासो छ। सुवेदीले आफ्ना जनप्रतिनिधि आफै चुन्न पाउने व्यवस्था राम्रो भए पनि निर्वाचनपछि आउने जनप्रतिनिधिले अवस्थामा परिवर्तन नल्याएको बताइन्।

उनले आफ्नो भोट नेतालाई माथि पुर्‍याउन मात्रै प्रयोग हुँदै आएको समेत बताइन्। ७० वर्षीया मानकुमारी दाहालको पनि उस्तौ गुनासो छ। उनले २०४० सालयता भएका निर्वाचनमा मत दिँदै आएकी छन्। तर आफूले हालेको मतको हालसम्म खासै सदुपयोग हुन नसकेको उनको भनाइ छ।

‘जति भोट हाले पनि काम गर्ने कसैले होइन। तैपनि आफ्नो कर्तव्य भनेर मात्रै भोट हाल्न आएकी हुँ’, दाहालले भनिन्। उनले निर्वाचित भएपछि नेताहरूमा व्यक्तिगत स्वार्थ बढ्दै जाँदा चुनावमा गरेका वाचा पूरा नहुने गरेको गुनासो गरिन्। उनले आफ्नो जीवन उत्तरार्धमा पुगिसकेको भए पनि राम्रो जनप्रतिनिधि आए देश र आफ्ना सन्ततिका लागि राम्रो हुने अपेक्षा गरेको सुनाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.