प्रदीप भन्छन- बुबाको जिम्मेवारी पूरा गर्छु
प्रदीप भन्छन- बुबाको जिम्मेवारी पूरा गर्छु
दाङ : तुलसीपुर उपमहानगरपालिका १७ मा मंगलबार बिहान ७ बजेदेखि मतदान जारी रहेको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिलेसम्म १३ प्रतिशत अर्थात् ८०९ जनाले मतदान गरेका छन्। नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि वैशाख ३० गते हुने निर्वाचन ३ जेठ गतेका लागि सारिएको थियो। वडामा दुई ठाउँमा मतदान हुँदैछ।
जसमध्ये मतदान केन्द्र जनकल्याण मावि दुधरास र दिपेन्द्र मावि मानपुरमा तोकिएको छ। दुधरासमा २ हजार ७३४ र मानपुरमा ३ हजार ३८३ मतदाता संख्या रहेको छ। वडाध्यक्ष पदमा ६ जना चुनावी मैदानमा उत्रिएका छन्।
एमालेबाट लबरु चौधरीका छोरा प्रदिप चौधरी, नेपाली कांग्रेसबाट थलराज पुरी,(एकीकृत समाजवादी)बाट रुद्रबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर बहादुर वली, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विष्णु पुन र स्वतन्त्रबाट डिल्लीराज अधिकारी वडाध्यक्ष पदको लागि भिड्दै छन्।
बुबाको जिम्मेवारी पुरा गर्ने छु : प्रदिप
वडाध्यक्ष पदका उम्मेदवार चौधरीको उपचारको क्रममा काठमाडौंमा निधन भएपनि एमालेले उनका छोरा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको थियो। उनले आफू अहिलेसम्म सक्रिय रुपमा राजनीतिमा नलागेको भन्दै बुबाको निधन भएपनि मात्र यो जिम्मेवारी आएको र त्यो आफूले पुरा गर्ने बताए।
उनले भने,‘म, अहिले हाम्रो परिवार अहिले पीडा छौँ,बुबाको जिम्मेवारी पूरा गर्न मलाई मौका आएको छ, मलाई विश्वास छ,यहाँका मतदाताले मलाई साथ दिनुहुने छ।’ त्यस्तै उनले आफूले यस अघि खेती ,किसानी गर्दै आएको र आफूले जितेमा विशेष गरी वडाका किसानहरूको लागि काम गर्ने पनि बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।