|

पर्वत : दलीय राजनीति भन्दा माथि उठेर उम्मेदवारी दिनु र त्यसमा पनि दलका उम्मेदवारहरूलाई पराजित गर्नु सहज कुरा होइन। गन्न सकिने ठाउँमा मात्रै त्यस्ता स्वतन्त्र उम्मेदवारहरूले विजय प्राप्त गरेका हुन्छन्।
पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको वडाध्यक्षमा पनि त्यस्तै भएको छ। स्वतन्त्र रूपमा उम्मेदवारी दिएर आँप चिन्हबाट चुनावमा भिडेका झलक रिमालको चर्चा जिल्लाभर चलिरहेको छ। काठमाडौँमा स्वतन्त्र उम्मेदवारी दिएर जसरी बालेन्द्र शाहले चर्चा कमाएका छन्, पर्वतमा पनि रिमालको त्यस्तै प्रशंसा भइरहेको छ। किनभने दशकौँदेखि ठूलीपोखरी एमाले राम्रो मत रहेको क्षेत्र हो।

एमालेपछि नेपाली कांग्रेसकै समर्थकहरू धेरै छन्। दलीय राजनीतिको त्यही बलियो क्षेत्रमा स्वतन्त्र रूपमा निर्वाचनमा होमिएका रिमालले यो नतिजा ल्याउनको लागि भने अथक मिहिनेत गर्दै आएका थिए।
चुनाव जित्नका लागि दलका नेताको मन खुसी पार्नुको सट्टा मतदातालाई खुसी पार्नुपर्ने कुरामा विश्वास राख्दै आएका उनलाई त्यही विश्वासले नै सफल बनाएको हो।

 पछिल्लो आठ वर्षदेखि स्थानीय नागरिकका समस्यामा काँधमा काँध मिलाउँदै आएका कारण नै उनी नागरिकको रोजाइमा परे।
रिमालले एमालेका उम्मेदवार किशोर सापकोटालाई १६९ मतको फराकिलो अन्तरले पछि पारे। रिमालले ८५२ मत ल्याउँदा सापकोटाले ६६३ मत पाएका छन्। सापकोटा ठुलीपोखरीमा चर्चित अनुहार हुन्। सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष समेत भइसकेका सापकोटा गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालका स्वकीय सचिव समेत हुन्।

बहुदलपछि २०४९ सालमा भएको पहिलो स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार तुलसी सुवेदीले ठुलीपोखरीमा चुनाव जिते। त्यसको ५ वर्षपछि ०५४ मा भएको निर्वाचनमा पनि सुवेदी नै विजयी भए। त्यसको २० वर्षसम्म स्थानीय तहको निर्वाचन नै भएन। दुई दशकपछि ०७४ मा भएको निर्वाचनमा पनि एमालेकै उम्मेदवारले चुनाव जिते। ०७४ मा एमालेका राजेन्द्र पौडेलले कांग्रेसका हेमराज सापकोटालाई ८८ मतको अन्तरले हराउँदै चुनाव जितेका थिए।

यस पटकको निर्वाचनमा पनि आफ्नो विरासतलाई कायमै राख्ने एमालेको प्रयास उनै रिमालका कारण विफल भएको छ। २० वर्ष नेपाल प्रहरीमा सेवा गरेपछि २०७१ सालमा प्रहरी नायव निरीक्षकबाट अवकाश लिएका रिमाल त्यसयता गाउँमै बसेर गाउँलेसँगै सहकार्य गरिरहेका छन्। रिमालले २०७२ सालको भूकम्पको बेला होस वा कोभिड सन्त्रास नै किन नहोस् सबै बेलामा आफूले पाउने पेन्सन सुविधाको रकम दुःख परेकाहरूको सेवामा खर्चिए। आफू जनताको माझमै बसेर काम गरिरहेका कारण उनीहरूले नै निर्वाचनमा उम्मेदवारी दिन सुझाएपछि त्यसैको आधारमा आफूले उम्मेदवारी दिएको झलकको भनाई छ।

‘बिना स्वार्थ काम गर्दै आइरहेको छु। गाउँलेहरूले नै मलाई निर्वाचनमा होमिनको लागि सुझाव दिनुभयो। जसले मत दिने हो उहाँहरूले नै चुनाव उठ्न भनेपछि म त ढुक्क भएँ’, उनी भन्छन्, ‘स्थानीय नागरिकको सेवाका लागि बन्ने स्थानीय सरकार दलबाट भन्दा पनि स्वतन्त्र गाउँलेबाट हुनुपर्छ भन्ने लाग्छ। दलबाट टिकट लिएर लडेको भए सायद मेरो जित हुँदैनथ्यो होला।' निर्वाचित भएपछि अब जनताको काम गर्न अझै हौसला मिलेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.