|

हेटौँडा : बहुदल स्थापनापछि मकवानपुरको अधिकांश क्षेत्रमा विजयी रहँदै आएकाे र गढ बनाउन सफल नेकपा एमालेको उपस्थिति जारी स्थानीय तहको निर्वाचनमा कमजोर देखिएको छ।

२० वर्षपछि गत २०७४ मा भएको स्थानीय तह निर्वाचनमा पनि एमालेले मकवानपुरको बहुमत पालिका जितेको थियो। अहिले पाँच वर्षपछि भएको निर्वाचनमा भने एमाले जिल्लाको दुईवटा पालिकामा मात्रै खुम्चिने भएको छ। जिल्लाका १० वटा पालिका मध्ये एमाले हालसम्म इन्द्रसरोवर र भीमफेदी गाउँपालिकाको नेतृत्वमा विजयी भएको छ।

जसमध्ये इन्द्रसरोवरको अध्यक्षमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा एमालेबाट विजयी भएका छन्। भीमफेदीको अध्यक्षमा मात्रै एमालेबाट हिदम लामा विजयी भए। उपाध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ निर्वाचित भए।

भीमफेदीमा गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको थियो। गएको निर्वाचनमा एमालेले जिल्लाको बहुमत पालिका अर्थात ६ वटा स्थानीय तहमा जीत हात पारेको थियो। उसले हेटौँडा, भीमफेदी, मकवानपुरगढी, कैलाश, इन्द्रसरोवर र मनहरी गाउँपालिकामा विजय हात पारेको थियो।

तीमध्ये ईन्द्रसरोवर र भीमफेदीको अध्यक्षबाहेक अन्य स्थानीय तह गुमाइसकेको एमाले हेटौँडामा पनि निकै कमजोर देखिएको छ। हेटौँडा उपमहानगरको जारी मतगणनामा प्रतिष्पर्धामा आउन नसकेको एमाले विजयी हुने सम्भावना पनि न्यून देखिन्छ।

मकवानपुरमा एमालेको उपस्थिति खुम्चिँदै जाँदा नेपाली कांग्रेसको उपस्थिति भने फराकिलो बन्दै गएको छ। मकवानपुरमा लामो समयदेखि राज गर्दै आएको एमालेको गढ भत्काउँदै कांग्रेस उदाएको छ। बहुदल प्राप्ति पछि २०४८ सालमा भएको आमनिर्वाचन, २०५१ सालको मध्यावधि निर्वाचनबाट मकवानपुरमा बामे सर्न सुरु गरेको कांग्रेस जारी स्थानीय तह निर्वाचनसम्म आइपुग्दा जिल्लामा पहिलो पार्टीको रुपमा उदाएको हो।

जारी स्थानीय तहको निर्वाचनमा कांग्रेसले १० वटा स्थानीय तहमध्ये पाँच वटामा प्रमुख र एउटा उपप्रमुखमा विजय हात पारेको छ। अघिल्लो निर्वाचनमा कांग्रेसले राक्सिराङ र बकैया गाउँपालिका मात्रै जितेको थियो। याे निर्वाचनमा मकवानपुरका कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए।

कांग्रेसले मकवानपुरका १० वटा स्थानीय तहमध्ये ५ वटामा गरेर बहुमत पालिका जितिसकेको छ। मकवानपुरगढी, बकैया, राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। निर्वाचन कार्यालयका अनुसार गठबन्धनबाट नेपाली कांग्रेसले ५ गाउँपालिका र माओवादीले १ नगर पालिकामा जित हासिल गरेको हो।

कांग्रेसले १ उपमेयर र माओवादीले ५ उपाध्यक्ष जित हाँसिल गरेको छ। मकवानपुरगढी, मनहरी एमालेको गढ मानिन्थ्यो। तर, हालै सम्पन्न निर्वाचनमा मकवानपुर गढीको अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङतान अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रकी मानकुमारी पाख्रीन विजयी भएका छन्। मनहरीको अध्यक्षमा कांग्रेसका रञ्जन कालाखेती र उपाध्यक्षमा माओवादीकी सीता पुलामी मगर विजयी भए।

राक्सिराङ र बकैयामा कांग्रेस आफ्नो सफलता दोहोर्‍याउन सफल भएको छ। कांग्रेसबाट राक्सिराङको अध्यक्षमा राजकुमार मल्ल र बकैयाको अध्यक्षमा धर्मराज लामिछानेले विजयी भएका छन्। माओवादीबाट राक्सिराङको उपाध्यक्षमा वनस्तम थिङ र भक्तबहादुर खत्री निर्वाचित भएका छन्।

कैलाश गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष उम्मेदवार लोक मोक्तान निर्वाचित भए। उपाध्यक्षमा माओवादीका बालकुमार मल्ल विजयी भए। मकवानपुरमा माओवादी केन्द्रले गत निर्वाचनमा थाहा नगरपालिका र बागमती गाउँपालिकमा जितेको थियो। जसमध्ये थाहा नगरपालिकामा माओवादीका विष्णु विष्ट मेयरमा विजयी भएका छन्।

उपमेयरमा कांग्रेसका भरत गोपाली निर्वाचित भए। समाचार तयार पर्दासम्म बागमती गाउँपालिकाको अध्यक्षमा माओवादीबाट सर्केश घलान र उपाध्यक्षमा कांग्रेसका फणिन्द्र तिमल्सिनाको अग्रता कायम छ। एमालेबाट अध्यक्षमा खेमराज जर्घा मगर र उपाध्यक्षमा धनमाया स्याङतानले पछ्याइरहेका छन्।

हेटौँडा उपमहानगरपालिकामा पनि गठबन्धनका मेयर र उपमेयर उम्मेदवार अगाडि छन्। मेयरकी उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मिनाकुमारी लामा र उपमेयरका उम्मेदवार कांग्रेसका राजेश बानियाँ अग्रता कायम राख्न सफल भएका छन्।

जिल्लामा १०२ वटा वडा छन्। कांग्रेसले हालसम्म मतगणना सम्पन्न भएको ८१ वडामध्ये ४१ वटामा जीत हात पारिसकेको छ। २०४९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले तत्कालीन ४३ वटा गाविसमध्ये १० वटामा विजयी भएको थियो।

२०५४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस एउटा मात्र गाविसमा विजयी भएको थियो। ०५४ सालमा मकवानपुरको राजनीतिमा कमल थापाको आगमनसँगै कांग्रेस कमजोर बन्न पुगेको थियो। मकवानपुरमा लामो समय राप्रपाका नेता थापा र रुपचन्द्र विष्टको प्रभाव रह्यो। माओवादी युद्ध पश्चात् जिल्लामा थापाको शक्ति कमजोर बन्न पुग्यो।

विष्टको प्रभाव घटेपछि जिल्लामा एमाले पहिलो शक्तिको रुपमा २०४९ सालदेखि मकवानपुरमा स्थापित भएको थियो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन मकवानपुर– १ बाट कांग्रेस नेता तथा हाल वाग्मती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँ विजयी भए।

उनको विजयसँगै मकवानपुरमा कांग्रेसको संरचना बलियो हुँदै गएको देखिन्छ। मकवानपुरमा कांग्रेसलाई बलियो बनाउन बानियाँको महत्वपूर्ण भूमिका रहेको समेत कांग्रेस कार्यकर्ता बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.