|

डडेल्धुरा : सातवटा स्थानीय तह रहेको जिल्लाका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ। यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। 

अघिल्लो निर्वाचनमा यहाँ नेकपा एमालेले २ र माओवादीले एक स्थानीय तह जितेका थिए। यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ। 

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

यस्तै भित्रिमधेसको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका विमला महता निर्वाचित भएका छन्। यो नगरपालिकाका वडामा पनि कांग्रेसको सहज जित भएको छ। 

कांग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि जितेको छ। यहाँका आलिताल र अजयमेरु गाउँपालिकामा माओवादी केन्द्र आएको छ। उता अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी वसन्ती पाल विजयी भएकी छिन्। 

जिल्लाका ५२ मध्ये २९ वडामा विजय प्राप्त गरेको छ भने माओवादी १४, एमालेले तीन, एकीकृत समाजवादी दुई, बीपी कांग्रेस दुई र स्वतन्त्रले दुई वडा जितेका छन्। अघिल्लो निर्वाचनमा कांग्रेसले यहाँका १६ वडा मात्र जितेको थियो। अघिल्लो चुनावमा एमालेले २० वडा जितेको थियो भने माओवादीले १६ वडा जितेको थियो। अघिल्लो चुनावमा कांग्रेस चार पालिकामा मात्र विजयी भएको थियो। 

अघिल्लो चुनावमा अमरगढी नगरपालिकामा ५ वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुख उपप्रमुखसहित १० वडामा विजय हात पारेको छ। अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुखसहित ६ वडाअध्यक्ष जितेको एमाले अहिले शून्यमा झरेको छ। 

त्यसैगरी अघिल्लो चुनावमा परशुराममा प्रमुख र उपप्रमुखसहित तीन वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुखसहित पाँच वडा जितेको छ। 

गन्यापधुरामा पनि पहिले कांग्रेसले तीन वडा र अध्यक्ष उपाध्यक्ष जितेको थियो तर अहिले एक वडा बाहेक पालिकाका सबै स्थानमा विजय हासिल गरेको छ। यो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरको पालिका हो। 

अघिल्लो निर्वाचनमा नवदुर्गा गाउँपालिमा अध्यक्ष, उपाध्यक्षसहित दुई वडा मात्रै जितेको कांग्रेसले अहिले अध्यक्ष उपाध्यक्षसहित थप दुई वडा जितेको छ र बाँकी तीन वडामा नेकपा एकीकृत समाजवादीले दुई र माओवादीले एक वडामा जित हासिल गरेको छ।

भागेश्वर गाउँपालिकामा अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष मात्रै जितेको कांग्रेसले अहिले पालिकासहित चार वडामा जित हासिल गरेको छ। त्यसैगरी यसअघि भागेश्वरमा एमालेले चार र माओवादीले एक वडा जितेकामा अहिले चार वडामा नै कांग्रेसले जित हासिल गरेको छ। अर्को एकमा स्वतन्त्र उम्मेदवार आएका छन्।

डडेल्धुरा कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहराले डडेल्धुराका जनताले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रतिको विश्वास यस पटकको स्थानीय तहको निर्वाचनमा प्रकट गरेको बताए। 

‘डडेल्धुरमा गठबन्धन थिएन बरु समझदारीमा सबै दलले आ–आफ्नो तवरबाट निर्वाचनमा उठेका थियौँ’, उनले भने,  ‘देशको विकास गर्ने र मुलुक आर्थिक तथा राजनीतिक संकटमा परेका बेला निकास दिनसक्ने पार्टी नेपाली कांग्रेस र नेता शेरबहादुर देउवा नै हुन् भन्ने विश्वासका साथ यहाँका जनताले स्थानीय तहमा मत दिएका हुन्।’   

नेपाली कांग्रेस डडेल्धुराका सभापति भीम साउदले यसअघिका अरु दलका जनप्रतिनिधिले कुरामात्र गरेका तर विकासका काम नगरेका कारण यसपालि यहाँका नागरिकले कांग्रेसलाई छानेको बताए। 

कांग्रेस डडेल्धुराकी महासमिति सदस्य सरस्वती खड्का नेतृ डा आरजु राणा देउवाले सुदूरपश्चिमका महिला र त्यसमा पनि डडेल्धुराका महिलामा गरेको लगानीको परिणाम भएको बताउँछिन्।  

‘डा देउवा यहाँका महिलाका घरेलु हिंसा तथा उनीहरुमा परेका अनेक समस्या बुझ्ने र तिनको समाधान गरी महिला सशक्तीकरणमा हरबखत आफैँ लाग्नु हुन्छ’, उनले भनिन्, ‘पछिल्लो समय उहाँ सुदूरपश्चिममा नै खट्नुभयो र डडेल्धुराका चुनावी सभालाई पनि सम्बोधन गर्नुभयो। यसका कारण पनि यहाँ हामीले राम्रो परिणाम हात पार्न सकेका हौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.