|

काठमाडौं : सुन्दरी प्रतियोगितामा यौन हिंसाको सिकार भएकी पीडित युवतीको भिडियोले यतिवेला सामाजिक सामाजिक सञ्जाल तातेको छ। १६ वर्षको उमेरदेखि को–को बाट कसरी यौन हिंसाको सिकार हुनुपर्यो, त्यसबाट निस्किन कति गाह्रो भइरहेको छ भन्ने पीडितले भिडियोमार्फत सार्वजनिक गरेकी छन्। 

पीडित युवतीले आफूमाथि हिंसा गर्नेहरूको नामसमेत सार्वजनिक गरेकी छन्। भिडियाे सार्वजनिक भएपछि आयोजक मनोज पाण्डे, फोटो पत्रकार श्रीधर पौडेल, पूर्व मिस नेपाल माल्भिका सुब्बा विवादमा तानिएका छन्। हिंसामा परेका वेला सुब्बासँग सहयोग मागेको तर आफूलाई बेवास्ता गरिएको कुरा उनले पीडितले बताएकी छन्। साथै उक्त सुन्दरी प्रतियोगिताको विजेता, उपविजेता (जो उनका मिल्ने साथी थिए) ले पनि वास्ता नगरेको बताएकी छिन्।

मोडल तथा हिरोइन बन्ने सपना देखेकी पीडित युवतीले यस क्षेत्रमा पटकपटक त्यस्ता हिंसा भोग्नु परेपछि यस क्षेत्रमा नआउने निर्णयमा पुगेको बताएकी छिन्। कला क्षेत्र बाहेक आफूले काम गर्ने अन्य कार्यालयमा र आफ्नै प्रेमीहरूबाट पनि हिंसा भएको पीडितले भिडियोमा बताएकी छन्। 

हिंसा भएको एक वर्षभित्रै उजुरी गर्नुपर्ने कानुनी व्यवस्थाको आलोचना गर्दै पीडित युवतीले बिहीबार भावविह्वल हुँदै अर्को भिडियो सार्वजनिक गरेकी छिन्।

यो घटना सार्वजनिक भएसँगै कला क्षेत्रमा भूकम्प गएको छ। पूर्व मिस नेपाल सुब्बाले  त्यो समय आफूले पीडितको कुरा नसुनेर गल्ती गरेको भन्दै माफी मागेकी छिन्। आफ्नो व्यक्तिगत नम्बर दिँदै पूर्व मिस नेपाल रुबी राणा जुनसुकै कानुनी लडाइँका लागि पनि आफू र आफ्नो परिवार साथमा रहने बताएकी छन्। त्यस्तै अभिनेत्री उषा रजकले पीडितको भिडियो हेरेर आफूलाई पनि ‘ट्रिगर’ भएको बताएकी छिन्। यसरी बोल्न सकेको देखेर कुनै दिन आफूले पनि भोगेका घटना बाहिर ल्याउने हिम्मत जुटेको जिकिर गरेकी छिन्। साथै यो लडाइँमा आफू पीडितको साथमा रहेको पनि उनले बताएकी छिन्। 

पूर्व मिस नेपाल शृंखला खतिवडाले पनि उक्त भिडियोमा प्रतिक्रिया दिएकी छन्। पीडित युवतीसँग माफी माग्दै यो समाजको रूपमा सबैको हार रहेको बताएकी छिन्। 

धेरै कलाकारले उनको पक्षमा उभिने कानुनी बाटोमा जान आफूहरूले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्। कानुनमा व्यवस्था नभए कानुन नै परिमार्जन गर्नुपर्ने माग पनि धेरैले राखेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.