|

रुकुम (पूर्व) : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका मेयर महेन्द्र केसीले पदभार ग्रहण गर्दै तीनवटा निर्णय गरेका छन्। निर्णयको पहिलो बुँदामा बन्द भएका विद्यालय खोल्ने उल्लेख छ।

अघिल्लो सरकारले विद्यार्थी संख्याको आधारमा केही विद्यालय मर्ज गरेको थियो। नवनिर्वाचित मेयरले ती विद्यालय पुरानै अवस्थामा सुचारु गर्ने निर्णयलाई पहिलो बुँदामा राखेका छन्। 

‘विविध कारणबाट बन्द रहन पुगेको अवस्थालाई वर्तमान अवस्थामा दृष्टिगत गर्दा आवश्यकता र औचित्यको आधारमा पर्याप्त आधार र कारणहरू सहित प्रचलित नियमानुसार सुचारु गर्ने निर्णय गरेको छु’ निर्णयमा भनिएको छ।

यस्तै जिल्लाका सरकारी स्वास्थ्य संस्थाबाट जिल्ला बाहिर रिफर गरिएका बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णयमा पनि मेयर केसीले हस्ताक्षर गरेका छन्। जिल्लाबाट दाङ, नेपालगञ्ज र सुर्खेतमा बिरामी लिनुपरेमा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर केसीले बताए। नगरपालिकाले दाहसंस्कारका लागि निःशुल्क दाउराको समेत व्यवस्था गर्ने भएको छ।

वडा नम्बर ३ को मुग्लुखोलामा अवस्थित घाटमा दाहसंस्कारका लागि नगरपालिकाले निःशुल्क रूपमा दाउरा उपलब्ध गराउने निर्णयमा पनि नवनिर्वाचित मेयर केसीले पदभार ग्रहण गरेलगत्तै हस्ताक्षर गरेका छन्। पदभार ग्रहण गरेपश्चात छोटो प्रतिक्रिया दिँदै मेयर केसीले नगरबासीका समस्यालाई हल गर्ने गरी आगामी दिनमा निर्णय गर्दै जाने बताए।

मेयर केसी नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एकीकृत समाजवादीबाट विमलकुमार पुन निर्वाचित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.