धरानमा खानेपानीको समस्या नयाँ मेयरले पूरा गर्ने अपेक्षा

|

शंकर खत्री

सुनसरी : ‘फेशनेबल’ शहर हो पूर्वी नेपालको धरान। पूर्वमा सबैभन्दा पहिले ‘फेशन’ भित्रिने ठाउँ धरान हो भन्नु अत्युक्ति नहोला। नयाँ–नयाँ ‘फेशन’ रुचाउने धरानले यो पटक स्थानीय चुनावमा समेत नयाँपन खोज्ने प्रयास गरे र सफलता पाए पनि।

उनीहरूले मेयरमा कुनै राजनीतिक दलका नभएर स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईलाई निर्वाचित गरे। तर यसरी साम्पाङ एकाएक धरानको मेयर कसरी निर्वाचित भए त? यो थाहा पाउन ‍भने अलिकति धरानमा खानेपानी समस्याको पृष्ठभूमिमा जानै पर्छ।

छिटो–छिटो ‘फेशन’ मा आफूलाई ‘अपग्रेड’ गर्ने धरानवासीले दशकौँदेखि एउटा कुरामा भने आफूलाई सधैँ पछाडि नै रहेको पाए। अर्को शब्दमा भन्ने हो भने धरानवासीले उपयोग गर्न नपाएको कुरा थियो- खानेपानी। धित मर्ने गरि पानी खानका लागि धरानवासीले स्थानीय तह/निकाय, प्रदेश र संघ सबै तहमा जनप्रतिनिधि छानेर पठाए।

तर ‘जति जोगी आए पनि कानै चिरेका’ भनेजस्तो कुनै पनि तहका जनप्रतिनिधिले आफ्ना अपेक्षा पूरा नगरेको उनीहरूले अनुभूति गरे। गाउँ पञ्चायतदेखि नगर हुँदै धरान उपमहानगर बनुन्जेलसम्म अर्थात् २०७४ सालसम्म धरानवासीले घरघरमा खानेपानी छताछुल्ल बनाइदेला भनेर लामो समय नेकपा एमालेमाथि भर परे।

२०७४ सालको स्थानीय निर्वाचनमा धरानको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी सुवेदी निर्वाचित भए। दुवै जना नेकपा एमालेबाट उम्मेदवार थिए। तर धरानवासीमा पानीको हाहाकार ज्यूँ का त्यूँ रह्यो। २०७५ साल असार १ गते धरानका तत्कालीन मेयर सुब्बाको निधन भयो।

२०७६ सालमा धरानमा उपचुनाव हुने भयो। धरानवासीले सुनौलो मौका पाए- समस्या समाधान गर्ने प्रतिनिधि छान्न। धरानवासीले फेरि पनि पछुताउनु नपरोस् भनेर २०७६ सालको उप-निर्वाचनमा नयाँ विकल्पका रुपमा ‘एमालेको गढ’ मा काँग्रेसका तिलक राईलाई मेयरमा जिताए। तर जनताले अपेक्षा गरेको खानेपानीको समस्या समाधानमा उनको पनि रुचि देखिएन।

बरु उनीविरुद्ध समय–समयमा एशियाली विकास बैंक (एडिबी)बाट आएको अर्बौँ रकम मिलेमतोमा अपचलन गरेको आरोप  सुन्नु पर्‍यो। काँग्रेसले पनि खानेपानी घर–घरमा पाउने धरानवासीको आशामा तुषारापात गरिदियो। 

अर्को विकल्प खोज्नतिर लागेका उनीहरूले यसपटक दलको साटो मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई अर्थात् हर्क साम्पाङलाई छानेका छन्। झण्डै एक दशकदेखि धरानका समस्या सामाजिक सञ्जाल र समाजमा देखाउँदै, पढाउँदै, सुनाउँदै र उठाउँदै आएका तिनै धराने अभियन्ता साम्पाङ मेयर धरानका मेयर चुनिएका छन्।

धरानका लागि साम्पाङ आशाका साथ हेरिएका पात्र भएकाले उनलाई जिताएको धरानवासी बताउँछन्। साम्पाङ नै हुन् जसले स्थानीय प्रतिपक्षी भएर धरानमा नगरवासीका समस्या उठाइरहे। उनको समाधान गर्नुपर्ने समस्याको सूचीको पहिलो नम्बरमा नै खानेपानी छ।

उनले बिपी स्वास्थ विज्ञान प्रतिष्ठानमा सुधार गर्नुपर्ने माग पनि बारम्बार उठाइरहे। कहिले प्रतिष्ठानको मूलद्वारमा त कहिले भानु चोकमा यसबारे उनी बोलिरहेका हुन्थे। यस बीच उनले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको धक्कासमेत दिए। उनी पक्राउसमेत परे।

तर हर्कले धरानवासीका पक्षमा र नगरमा सुधारका माग राख्न‚ बोल्न र सबैलाई बुझाउन छाडेनन्। उनको यही ‘अटेरीपना’ नै धरानवासीको मन जित्ने औजार बन्यो। उनी यी विषयमा मात्र नभएर धरानका हरेक समस्यासँग जुधिरहेका हुन्थे। 

‘यो हर्क साम्पाङलाई जिताउनुको कारण चाहिँ, धेरै पहिलादेखि कम्युनिष्ट र काँग्रेसलाई जिताउँदै आयौं तर यहाँको समस्या भने समाधान हुन सकेनन्’, स्थानीय जीवन राईले भने, ‘यहाँ सबैभन्दा ठूलो समस्या भनेको खानेपानीको छ। त्यसपछि सहकारीले स्थानीयलाई लुटेर खाइरहेका छन् तर स्थानीय सरकारले कारबाहीको दायरामा ल्याएको छैन। अर्को चाहिँ धरानमा पार्टीले मनोमानी गरेकाले हामीले उहाँलाई भोट दिएका हौँ। अब यसरी हुँदैन है‚ हाम्रो लागि पार्टी सर्वैसर्वा होइन है भन्ने ठानेर उहाँलाई हामीले विकल्प ठान्यौं।’

साम्पाङलाई मेयर बनाउन मत दिने पंक्तिमा राजनीतिक पार्टीमा आबद्ध नभएका धरानवासीमात्र होइनन्। कम्युनिष्टका संगठित सदस्य र काँग्रेसका क्रियाशील सदस्यले पनि उनलाई मत दिएका छन्। पार्टीले कारबाही गर्ने डरले खुलेर भन्दैनन् उनीहरू। साम्पाङलाई पनि यस्तै लाग्छ। ‘पार्टीका मानिसहरूले पनि मलाई भोट दिएका छन्। नभए मैले कसरी जित्थेँ र’, उनको प्रतिक्रिया छ। 

राजनीतिक दलहरूलाई पाठ पढाउन पनि यो पटक हर्कलाई रोजेको बताउँछन् कतिपय धरानवासी। धरानका अधिकांश जनताको एउटै स्वर छ, ‘दलहरूले ज्यादै मनोमानी गरे त्यही भएर हामीले हर्क साम्पाङलाई भोट दिएको हो।’

हुन त साम्पाङ यो निर्वाचनमा मात्रै होइन, उम्मेदवार बनेका। २०७६ को उप-निर्वाचनमा पनि उनले उम्मेदवारी दिएका थिए। मेयरमा उम्मेदवारी दिएका २३ जनामध्ये उनी पाँचौँ स्थानमा रहेका थिए‚ त्यो उप-निर्वाचनमा।

त्यो उनका लागि एउटा सुखद अनुभव भयो। त्यस चुनावमा ४ सयको हाराहारीमा मत पाएका साम्पाङलाई त्यो वेला नै ‘धरानका जनता विकल्पको’ खोजीमा छन् भन्ने लागेको थियो। त्यसैले एक दशकदेखि सामाजिक सञ्जाल र सडकमा उठाउँदै आएको धरानका समस्यासम्बन्धी आवाज चर्को बनाउँदै लगे। यसले उनलाई धरानका जनतासँग परिचित मात्र गराएन‚ लोकप्रिय पनि बनायो। उनले त्यो वेला अर्को विश्वास पनि धरानवासीमा जगाए, ‘हारे पनि हर्कले धरानको समस्या बोल्न नछाड्ने रहेछ।’ यही विश्वासले पनि कतिपय धरानवासीले यस पटक लौरोमा नै मत हाले। 

‘हाम्रो धरानमा पार्टीहरूले खै पानी ल्याए त?’, स्थानीय तारा मगरले सोधिन्, ‘त्यसकारण धराने जनताका लागि हर्क साम्पाङ एकदम जरुरी छ। हर्क साम्पाङ पहिलादेखि नै लागि पर्नु भएको हो। पहिलेको चुनावमा पनि उहाँ उठ्नुभएको हो तर हार्नु भयो। हारे पनि उहाँले पहिलेदेखि गरेको काम छोड्नु भएन। अब झन् मेयर भएपछि पूरा गर्नुहुन्छ भन्ने हामीलाई लागेर भोट हाल्यौँ।’

जोसुकै धरानवासीकव प्रतिक्रिया लिए पनि उनीहरूको पहिलो वाक्यांशमा नै साम्पाङप्रति ऐक्यबद्धता रहेको र राजनीतिक दलप्रति वितृष्णा जाग्न थालेको सजिलै बुझ्न सकिन्छ। उनीहरूले जसरी भने पनि त्यसको तात्पर्य र सन्देश एउटै छ, ‘हामीलाई राजनीतिक दलप्रति वितृष्णा जाग्न थालेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.