|

बझाङ : बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत जालेबगर सडक पुनर्निर्माणमा ढिलाई भएकाे छ।

बेमौसमी बाढीले राजमार्ग बगाएपछि गत कात्तिक महिनाभर यातायात सम्पर्क विच्छेद भएको बझाङ जिल्लामा फेरि त्यही नियति दोहोरिने संकेत देखिएको छ।

ढिलासुस्तीले जिल्ला नै यातायात विहीन हुने खतरा बढेको हो। जालेबगर सडक खण्डमा सेती नदीको बाढीले करिब चार सय मिटर सडक पूर्णरुपमा बगाएको थियो। सडक बगाएपछि कात्तिक महिनाभर बझाङ सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिका, सुर्मा, तलकोट, मष्टा, साइपाल, खप्तडछान्ना र छबिसपाथिभेरा गाउँपालिका यातायात सम्पर्कबाट विच्छेद भएका थिए।

कात्तिक अन्तिमतिर सेती नदीको धार फर्काएर अस्थायी रुपमा सडक सञ्चालन गरिएको थियो। यद्यपि हिउँ पग्लिने मौसम सुरु भएपछि सेतीको सतह बढेर अस्थायी रुपमा बनाइएको सडक नजिक पुगिसकेको छ। हिउँ पग्लिने क्रम बढेको र वर्षा पनि सुरु भइसकेकाले केही दिनभित्रै अस्थायी सडक बाढीले बगाउने निश्चित भएको प्राविधिकहरूको भनाइ छ।

‘वैशाखभित्रै स्थायी सडकको काम सम्पन्न गर्न सकिएन भने आउने असोजसम्म बझाङ जिल्ला यातायात विहीन हुने निश्चित जस्तै भइसकेको छ।’ इन्जिनियर हरिशंकर जोशीले भने, ‘सेतीमा बाढी आउन थालिसकेको छ। नदीको सतह बढेपछि निर्माणको काम पनि बन्द हुन्छ। कात्तिकको भन्दा ठूलो समस्या अब हुन सक्छ।’ उनले वैशाखभित्र काम सम्पन्न हुन नसके सेतीको सतह बढ्दै जाने र जेठदेखि ५/६ महिनासम्म जिल्लाभर नै यातायात सम्पर्क विच्छेद हुन सक्ने बताए।

गत कात्तिकमा यही सडक बगाएपछि बझाङको यातायात सेवा महिना दिनसम्म ठप्प भएको थियो। यातायात अवरुद्ध हुँदा यहाँ औषधि, खाद्यान्न, ग्याँस, तेलजस्ता अत्यावश्यक सामग्रीको अभाव र अस्वभाविक मूल्यवृद्धि भएको थियो। जिल्ला बाहिर जाने यात्रुले सास्ती बेहोर्नुपरेको थियो।

अस्थायी रुपमा गाडी सञ्चालन गर्न हाल बनाइएको डाइभर्सनभन्दा करिब १ सय मिटर पश्चिम तिरको कडा चट्टान फोरेर स्थायी सडक निर्माणको काम पुस महिनामै सुरु भए पनि निर्माण कार्यमा ढिलासुस्ती हुँदा फेरि उस्तै समस्या दोहोरिने खतरा बढेको हो।

५ करोड ५० लाख रुपैयाँ लागतमा वैशाख मसान्तभित्रै सडकको पुनर्निर्माण सम्पन्न गर्ने गरी ड्रागन, जगदम्बा, सुर्मासरोवर जेभीसँग गत पुसमा ठेक्का सम्झौता भएको थियो।

सडक खण्डको ८० मिटर भाग कडा चट्टानी रहेको र उक्त खण्डमा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएको छ। रक्षा मन्त्रालयमार्फत उपलब्ध हुने विस्फोटक पदार्थ ल्याउन ढिलाइ गरेको भन्दै प्रमुख जिल्ला अधिकारी र निर्माण व्यवसायीले एक अर्कालाई आरोप लगाउन थालेका छन्।

ठेक्का सम्झौता अनुसारका आरसीसी पर्खाल, ग्याबिन जाली भर्ने काम र प्लम्बरको कामलगायत संरचना निर्माणको काम समयमै सम्पन्न हुने भए पनि विस्फोटक पदार्थ उपलब्ध नहुँदा सडक निर्माणमा ढिलाइ भइरहेको निर्माण व्यवसायीको भनाइ छ।

माघमै विस्फोट पदार्थ ल्याउन सहजीकरणका लागि जानकारी गराउँदा पनि प्रमुख जिल्ला अधिकारीले सहजीकरणमा तत्परता नदेखाएको ठेकेदार कम्पनीका प्रतिनिधी शेरबहादुर बोहराले आरोप लगाएका छन्। तर उनको आरोप निराधार रहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले निर्माण व्यवसायीकै कारण विस्फोटक पदार्थ आउन नसकेको बताए। आफूले सहजीकरण गर्ने मात्रै नभएर छिटो काम गर्नका लागि पटकपटक ताकेता गर्दा पनि ठेकेदारले वास्ता नगरेको उनको भनाइ छ।

‘हामीले ४/४ पटक निर्णय गरेर सिफारिस पठाइसकेका छौँ। सरकारी प्रक्रियामा कतै अवरोध भए मन्त्रालयमा म सहजीकरण गर्छु छिटो ल्याउनुस्, भन्दा मानेका छैनन्। पटक पटक ताकेता गर्दा मेरो कुरा नसुन्ने कता कता राजनीति गर्न जाने अहिले मलाई सिफारिस दिएन भनेर आरोप लगाउने?’ प्रमुख जिल्ला अधिकारी अर्यालले भन्ने, ‘बर्खा सुरु हुन लागिसक्यो भनेर ताकेता गरेको गर्‍यै छु। ठेकेदारले वास्ता गरेको छैन। अब १०/१५ दिनपछि काम सुरु गरे पनि समय छ। उताबाट पत्र आइसकेको छ। अब काम सुरु गर्ने काम ठेकेदारको हो।’

यता तटबन्ध निर्माण गरिदिने आश्वासन पाएर सेती नदीको धार परिवर्तन गर्न दिने आमबगरवासी पनि बर्खा सुरु हुँदासम्म पनि काम थालनी नहुँदा फेरि घरखेत बग्ने चिन्तामा परेका छन्।

गत कार्तिक २३ गते सर्वदलीय सर्वपक्षीय बैठक बसी कार्तिक २४ गते जालेबगरमा सडक खुलाउन आमबगर तर्फ सेती नदी डाइभर्सन गरिएको हो। सबै नदीको भार आमबगर तर्फ भएकाले पानी सतह बढ्दै जाँदा आमनगरवासीलाई चिन्ता छाएको स्थानीय विश्वप्रकाश जोशीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.